मुस्ताङबाट भेडा च्याङग्रा बाहिरिदै, केहि दिनमा पोखरा आइपुग्ने

दीननाथ बराल, पोखरा न्यूज – ०७, असोज । यस बर्षको दशैं पर्वलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङ क्षेत्रबाट  भेडा च्याङग्रा बाहिरिने क्रम  शुरु भएको छ । केही दिन देखि मुस्ताङ क्षेत्रबाट भेडा च्याङग्रा बाहिरिन थालेको पशु चिकित्सक लक्ष्मण बहादुर ढकालले बताए ।

उनका अनुसार विगत तीन दिनदेखि मुस्ताङबाट भेडा च्याङग्रा बाहिरिन थालेका हुन्। हालसम्म करिब १ हजार ८ सयको हाराहारीमा भेडा च्याङग्रा मुस्ताङबाट बाहिरिएको नेपाल लाइफ स्टक सेक्टर इनोभेसन प्रोजेक्ट पोखराका प्रमुख समेत रहेका पशु चिकित्सक ढकालले पोखरा न्यूजलाई  बताए । मुस्ताङमा हाल पशु चिकित्सक नहुदा उनी दशैं पर्वको अवसरमा भेडा च्याङग्राको स्वास्थ्य परिक्षणको लागि मुस्ताङको खाद्य कार्यालयमा खटिएका हुन्।

मुस्ताङका भेडा च्याङग्राको सामान्य स्वास्थ्य परिक्षण गरी मुस्ताङ बाहिर पठाउने गरिएको बताएका उनले कुनै रोग लागेको खण्डमा भेडा च्याङग्रा बाहिर नपठाउने गरेको पशु चिकित्सक ढकालले जनाए । उनले भने “ हामीले भेडा च्याङग्राको सामान्य स्वास्थ्य अवस्था हेर्छौ, भेडा च्याङग्रामा पि.पि.आर.(बाख्राको महामारी ) नफैलियोस भन्ने उद्धेश्यले स्वास्थ्य परिक्षण गरिएको हो । ” घाइते भएका तथा रोग लागेका जनावार सहित रोग नफैलियोस भन्दै आफुहरुले भेडा च्याङग्राको स्वास्थ्य परिक्षण गर्न कृषकहरुको गोठमा समेत पुगेको पशु चिकित्सक ढकालले बताए ।

नेपाल खाद्य संस्थानले यस बर्ष करिब दुई हजार भेड च्याङग्रा काठमाण्डौं लैजाने तयारी गरेको छ । संस्थानले मुस्ताङमा जिउँदो भेडा च्याङग्रा प्रति केजी ६ सय ६० मा खरिद गर्ने भएको छ । संस्थानले काठमाण्डौंमा भने प्रति केजी ८ सय २५ रुपैया बिक्रि गर्ने भएको छ । हिमालपारी जिल्लामा जडिवुटि खाएर हुर्कीएका भेडा च्याङग्रा खादा स्वास्थ्यका दृष्टिले पनि फाईदा जनक हुने जन विश्वासका आधारमा दशैंमा भेडा च्याङग्रा खाने गरेको पाइन्छ ।  यस बर्ष मुस्ताङका धेरै ठाँउमा भेडा च्याङग्रालाई रोग नलागेको काराणले गर्दा पनि गत बर्ष तुलनामा उत्पादन भएको बताइन्छ । कास्की, पर्वत, बाग्लुङ, स्याङजा, तनहुँ, लमजुङ लगायतका जिल्लाका विभिन्न ठाउँमा दशैंमा बढी भेडा च्याङ्ग्रा खपत हुने गरेको छ ।

सिन्धुपाल्चोकका अम्मर ठकुरी दशैं पर्वको लागि पोखरा काठमाण्डौंमा भेडा च्याङग्रा बिक्रि गर्नको लागि यति वेला मुस्ताङ पुगेका छन्। विगत ५ बर्ष देखि भेडा च्याङग्राको सिजनमा व्यापार गर्दै आएका ठकुरीले यस बर्ष २ सय ७० वटा च्याङग्रा समेत खरिद गरेको बताए । गत बर्ष भन्दा यस बर्ष केही महङगोमा च्याङग्रा खरिद गर्नु परेको उनले जनाए । यस बर्ष मुस्ताङको तेताङमै प्रति च्याङग्राको मुल्य २२ हजार ५ सय रुपैया पर्न गएको ठकुरीले जनाए ।

गत बर्ष उनले २१ हजारमा प्रति च्याङग्रा खरिद गरेका थिए । हाल अधिकाशं भेडा च्याङग्रा व्यवसायीहरुले प्रति च्याङग्राको मुल्य २० हजार देखि २५ हजारसम्म मुस्ताङका विभिन्न ठाउँमै भन्ने गरेकाछन भने पोखरा तथा काठमाण्डौं पुर्याउदा उक्त भेडा च्याङग्राको मुल्य २५ देखि २९ हजार सम्म भन्ने भएका छन्। चिनको नाका दशैंको अवसरमा यस बर्ष नखुलेकाले गर्दा पनि भेडा च्याङग्रा महङगीन पुगेको स्थानयीयले बताए ।

विश्व बैंकको सहयोगमा मनाङ र मुस्ताङका भेडा च्याङग्रा पालनमा सहयोग पुराउने उद्धेश्यले भेडा च्याङग्राको औषधि, चरण क्षेत्र, ठाउँ ठाउँमा सोलार लाइटको व्यवस्था गरिने, गोठसुधार लगायतको कार्यक्रम भएको पशुचिकित्सक ढकालले बताए । मनाङ मुस्ताङका केही घर परिवारको मुख्य आयश्रोत नै भेडा च्याङग्रा भएकोले उनीहरुको व्यवसाय राम्रो गर्न पनि विश्व बैंकले हाल लगानी गर्न लागेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button