लमजुङको गिलुङमा होमस्टे प्रवर्द्धन गर्न महोत्सव हुने

दीननाथ बराल, पोखरा न्यूज – १० , असोज । लमजुङको क्ब्होंलासोथर गाउँपालिका वडा नं ९ मा घरबास कार्यक्रम (होमस्टे) प्रवर्द्धन गर्न गिलुङमा पर्यटन महोत्सव २०७६ हुने भएको छ ।

२०६४ सालमा पहिलो पटक भएको महोत्सव स्थानियको बसाई सराई समस्याले निरन्तरता पाउन नसकेको अवस्थामा हालै होमस्टे समेत संचालन भएकाले होमस्टे प्रवर्द्धनको लागि कार्तिक २९ र ३० गरी दुई दिन महोत्सव हुने भएको गिलुङ समाज पोखराका अध्यक्ष दुधमान गुरुङ (आशिष) ले बताए ।

स्थानिय गुरुङ समुदायमा हाल १५ घरबाट होमस्टे संचालन भएकाले सो क्षेत्रको पर्यटन प्रवर्द्धन समेत गर्न महोत्सव कोसे ढुंगा साबित हुने अध्यक्ष गुरुङले जनाए । एकै रातमा ६० भन्दा बढी पर्यटकहरु होमस्टेमा व्यवस्थापन गर्न सकिने भएको छ । ७ सय ५० मा आवासिय सहितको एक रातको शुल्क निर्धारण गरिएको अध्यक्ष गुरुङले जनाए ।

लम्जुङ जिल्लाको उत्तर पश्चिममा अवस्थित उत्तरतर्फ फर्केको क्ब्होंलासोथर गाउँपालिका वडानं ९ मा अवस्थित गिलुङ गाउँ नेपालकै सुन्दर गाउँ मध्ये एक रहेको र गिलुङ गाउँ समुद्र सतह बाट १ हजार ४ सय ५० मीटरको उचाईमा रहेको उनले जनाए । त्यहाँबाट ३ सय ६० डिग्रिमा सबै तर्फको दृश्यावलोकन गर्न सकिन, सो क्षेत्रबाट हिमश्रृखलाहरु समेत प्रश्ट देख्न सकिने भएको अध्यक्ष गुरुङले जनाए ।

गुरुङ्हरुको बाहुल्यता रहेको उक्त गाउँको हावापानी बाह्रै महिना चिसो हुने उनले जनाए । करिब ४ सय घरधुरी भएको यो गाउँमा यातायातको राम्रो सुविधा छ । गिलुङलाई गुरुङ भाषामा क्लीनु भनिन्छ । महोत्सवले गुरुङ संस्कार, कला संस्कृति र परम्परालाई संरक्षण एवं संवर्द्धन हुने अपेक्षा गरिएको समाजले जनाएको छ ।

गिलुङ गाउँ, गिलुङ समाज पोखरा, गिलुङ समाज यूके, गिलुङ समाज हङकङ र क्ब्होंलासोथर गाउँपाकिलाको संयुक्त आयोजनामा पर्यटन महोत्सव हुन लागेको हो । महोत्सव सफल पार्न स्थानिय मिलन युवा क्लबका अध्यक्ष सन्तोष गुरुङको संयोजकत्वमा १ सय १ मुल आयोजक समिति गठन भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको वडा समेत भएकाले सो क्षेत्र पर्यटनको धेरै सम्भावना भएको वडाध्यक्ष नन्दजंग गुरुङले बताए । गिलुङमा उक्त महोत्सवले गाउँ पर्यटनको प्रवर्द्धन संगै सो क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने समाजसेवी मुछेद्र गुरुङले बताए । उक्त महोत्सव सम्पन्न गर्न १९ लाख ५० हजार खर्च लाग्ने र महोत्सवबाट ५ लाख बचत गरी सामाजिक कार्य गरिने लक्ष्य राखिएको समाजले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button