पोखरा न्यूज – १४, असोज । संयुक्त अरब इमिरेट्सको दुबईमा माइक्रोबस सडकमा रोकिराखेको लरीमा ठोक्किँदा ६ नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।
१४ यात्रु बोकेर शारजाँह तर्फ जाँदै गरेको माइक्रोबस सेख मोहम्मद विन जाएद सडक ई३११अन्तर्गतको मिर्डिफ सिटी सेन्टर अगाडि दुर्घटनाग्रस्त भएको थियो । सोमबार बिहान ४:५४ बजे भएको घटनामा ६ नेपालीसहित एक भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
त्यस्तै घाइते हुनेमा पाँच भारतीय र एक बङ्गलादेशी रहेको पनि जनाइएको छ । गम्भीर घाइते ४ र सामान्य घाइते भएका २ जनाको राशिद अस्पतालमा उपचार भइरहेको दुबई ट्राफिक प्रहरीका निर्देशक ब्रिगेडियर सेफ मुहर अल माज्रोईले जानकारी दिएका छन् ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको पनि दुबई प्रहरीले बताएको छ ।