नवरात्रको छैटौँ दिन: देशभरका देवी मन्दिरमा भक्तजनको भीड

 पोखरा न्यूज- १७, असोज ।  दुर्गा पक्षको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिएको छ ।

यो पक्षको नौ दिनसम्म दुर्गा देवीका नौ रुपको विशेष पूजा आराधना गर्ने शास्त्रीय परम्परा छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विशेष पूजा आराधना हुने गर्छ ।

यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट जमरा र रातो टीका लगाइन्छ ।

दशैँको महत्वपूर्ण दिन विजया दशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका लगाउँछन् ।

दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको भीड बढ्न थालेको छ । राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनीलगायत मन्दिरमा भक्तजनको भीड छ ।

उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, राजदेवीमाई, गढीमाई, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड लागेको छ ।

यसैगरी दशैँका अवसरमा किनमेल गर्नेको भीड पनि बजारमा बढ्न थालेको छ । मुख्य बजारमा सामान किनमेल गर्नेको लर्को छ । कति मानिस भने आ–आफ्नो थातथलो फर्केका छन् । कतिले जाने तयारी गर्न थालेका छन् । यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button