चीनको बेल्ट रोडलाई चुनौती दिन जापान-इयुको आफ्नै सिल्क रोड सम्झौता

पोखरा न्यूज- १८, असोज । चीनको वान बेल्ट वान रोड (ओबोर) पनि भनिने बेल्ट एन्ड रोड इनिसिएटिभलाई चुनौती दिन जापान र युरोपियन युनियनले व्यापक पुर्वाधार विकास रणनीति सहितको कनेक्टिभिटी सम्झौता गरेका छन् ।

जापान र इयुले यातायात, उर्जा र डिजिटल प्रविधिको पुर्वाधारमा व्यापक विकास गरेर युरोप र एसियाको कनेक्टिभिटीमा सुधार गर्ने लक्ष्यसहित उक्त सम्झौता गरिएको जनाइएको छ । सम्झौता दुई क्षेत्रको आर्थिक र सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने युरोपको रणनीति अन्तर्गत भएको पनि बताइएको छ । पुर्वाधार निर्माणका ६० बिलियन युरोको इयु ग्यारेन्टी कोष खडा गरिनेछ जसले निजी लगानीकर्ता र विकास बैंकहरुलाई लगानीका निम्ति आकर्षित गर्ने विश्वास गरिएको छ ।

युरोप र एसिया वार्षिक १६ खर्ब युरो बराबरको व्यापार गर्ने मुख्य व्यापारिक साझेदार हुन् । त्यस्तै विश्वको कुल आर्थिक उत्पादनमा यिनै दुई ब्लकको ६० प्रतिशत योगदान रहेको छ । यस सम्झौता मार्फत युरोपले एसियाली राष्ट्रसँग सम्बन्ध मजबुत बनाउन र आफ्नो उत्पादनलाई विश्वको कुल जनसंख्याको ६० प्रतिशतसम्म पुर्याउन खोजेको बुझ्न सकिन्छ ।

एसियालाई पनि अहिलेको आर्थिक विकास दर कायम राख्न पुर्वाधार विकासको लागि मात्रै १३ खर्ब युरो चाहिने देखिन्छ । एसियाले यस्तो विशाल कोष जम्मा गर्न तथा खर्च गर्न युरोपको अनुभव र सहयोगको अपेक्षा गरेको छ । यसरी निजी आवश्यकतालाई साझा मञ्च दिएर दुवैको लक्ष्य हासिल गर्ने अपेक्षा सम्झौतामार्फत गरिएको छ ।

चीनले सिल्क रोडमार्फत एसिया र युरोपमात्र नभई अफ्रिकालाई समेत जोड्ने रणनीति लिएपछि जापानले पनि आफ्नो स्वतन्त्र र खुला इन्डो प्रशान्त रणनीतिलाई बलियो ढङ्गले अघि बढाउन युरोपसँग सम्झौता गरेको बुझ्न सकिन्छ । यसरी सम्झौतालाई एसियामा चीनको बढ्दो दबदबालाई नियन्त्रणमा राख्ने जापानको काइदाको रुपमा पनि हेर्न सकिन्छ ।

सम्झौताको बारेमा बोल्दै जापानको प्रधानमन्त्री सिन्जो आबे र इयुका प्रेसिडेन्ट जिन क्लाउडी जन्करले दिगो, वातावरण अनुकुल, नियमबद्ध कनेक्टिभिटीसहितको, खुला अर्थव्यापारलाई प्रवर्धन गर्ने दुवैपक्षलाई फाइदाजनक सम्झौताको आवश्यकता रहेको बताएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button