नेपाल आयरल्यान्डसँग १३ रनले पराजित

पोखरा न्यूज – २२, असोज । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी प्रतियोगितामा नेपाललाई आयरल्यान्डले १३ रनले पराजित गरेको छ ।

आज भएको खेलमा आयरल्यान्डले टस जित्दै ब्याटिङको निर्णय गर्यो । स्टार ओपनर केभिन ओ ब्रायनलाई दोस्रो ओभरमै गुमाए पनि आयरल्यान्डले शानदार ब्याटिङ गर्दै ११ औं ओभरमै ९५ रन जोड्यो । उसका लागि अर्का ओपनर पल स्टर्लिङ र एन्डी बाल्बर्नीले ८८ रनको बलियो साझेदारी गरे ।

त्यसपछि भने एन्डी बाल्बर्नीलाई ललित राजवंशीले विकेट्विपर विनोद भण्डारीको हातबाट स्टम्पिङ आउट गराएसँगै खेलमा नेपालले पुनरागमन गर्यो । नेपालका बलरले कसिलो बलिङ र छरितो फिल्डिङ प्रदर्शन गरेपछि बाकिँ ९ ओभरमा आयरल्यान्डले ५० रन मात्र जोड्दै १४५ रनमा सीमित भयो । आयरल्यान्डका लागि पल स्टर्लिङले अर्धशतकीय ५९(४७) योगदान दिए । नेपालको बलिङ तर्फ भने ललित राजवंशी र करन केसीले समान २-२ विकेट लिए ।

प्रतिउत्तरमा १४६ रनको लक्ष्य लिएर उत्रेको नेपालले कप्तान पारस खड्काको तेज सुरुआतसँगै ४ ओभरमै ३५ रन जोड्यो । पाचौं ओभरको पहिलो बलमै पारस २५(१४) आउट भएपछि नेपालको पारी इशान पाण्डे र आरिफ सेखले सम्हाले । दोस्रो विकेटको लागि ३८ रनको साझेदारी भएपछि भने नेपालले आफ्नो लय गुमाउन पुग्यो ।

केही अनावश्यक सट र रनआउट पछि नेपाललाई अन्तिम तीन ओभरमा ३३ रनको खाँचो पर्यो । पछिल्लो खेलमा हारको मुखबाट जीत दिलाएका करन केसीले यस पटक भने नेपाललाई जीततर्फ दोहोर्याउन सकेनन् र अन्त्यमा नेपाल १३ रनले पराजित हुन पुग्यो । अन्तिम ओभरको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरेका करन तेस्रो बलमा भने व्यक्तिगत १६(९) रनमा आउट हुन पुगे । नेपालका लागि आरिफ सेखको २६ रन सर्वाधिक रह्यो । आयरल्यान्डका लागि मार्क एडेयरले ३ विकेट लिए ।

यसअघि हङकङ र नेदरल्यान्डलाई पराजित गरेको नेपालले भोलि आफ्नो अन्तिम खेलमा आयोजक ओमानको सामना गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button