सडकले उपल्लो मुस्ताङको प्राकृतिक सुन्दरतामा अतिक्रमण!

धु्रवसागर शर्मा,पोखरा न्यूज -२४, असोज। नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।

विगत केही वर्षयता विदेशी मात्र होइन, नेपालीमा पनि बिदा र विशेष अवसरमा देश दर्शन गर्न विभिन्न ठाउँमा भ्रमण गर्ने चलन बढ्दै गएको छ ।

गत वर्ष सन् २०१८ मा कूल ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयको तथ्याङ्कअनुसार चालू वर्ष सन् २०१९ को जनवरीदेखि जुनसम्मको छ महीनाको अवधिमा कूल ५ लाख ८५ हजार ५३१ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो वर्षको पर्यटक आगमन १३ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । अघिल्लो वर्षको यही अवधिमा कूल ५ लाख २० हजार १४ जना पर्यटकले भ्रमण गरेको मन्त्रालयको तथ्याङ्क छ ।

नेपाल भित्रने विदेशी पर्यटकमध्ये धेरैको रोजाइ विविधताले युक्त नेपालको भूगोल छिचोल्दै रोमाञ्चक पदयात्रा गर्दै विभिन्न ठाउँमा पुग्ने र पदयात्राको अनुभव हासिल गर्ने नै हुन्छ । नेपाल बसाईं र खर्चका हिसाबले पनि पदयात्रामार्फत नेपाल भ्रमण गर्ने पर्यटक नेपालका लागि बढी फाइदाजनक हुन्छन् । सबैभन्दा बढी खर्च गरेर नेपाल भ्रमण गर्नेमा यही वर्गका पर्यटक पर्दछन् । साहसिक यात्रा गर्ने उनीहरू प्राकृतिक परिवेशमा जोखिमयुक्त पैदलयात्रा गर्न रुचाउँछन् । विकासका पूर्वाधारका रूपमा निर्माण हुने सडक र त्यसमा गुड्ने सवारीसाधन यस वर्गका पर्यटकलाई निरुत्साहित गर्ने पक्ष हुन् ।

यसरी पदयात्रा गर्न इच्छुक विदेशी पर्यटकको रोजाइमा सगरमाथा, अन्नपूर्ण हिमाल, उपल्लो मुस्ताङ, मनाङ, डोल्पा जस्ता क्षेत्र पर्ने गर्दछन् । दिनभर कोशौँको निर्जन क्षेत्र पार गर्दै गन्तव्यमा पुग्न दैनिक सयौँ अमेरिकी डलर तिर्न उनीहरू तयार हुन्छन् । तर उनीहरूले हिँड्ने पदमार्गमा सडक तथा सवारीसाधनका गतिविधि नहुन् भन्ने उनीहरू चाहन्छन् । आफ्ना देशका सडक तथा सवारीमा बिताइने दिनचर्याभन्दा फरक अनुभव लिन आपूmहरू यस्ता ठाउँ खोज्दै आएको उनीहरूको प्रतिक्रिया रहने गरेको छ ।

उपल्लो मुस्ताङ विदेशी पर्यटकका लागि रोमाञ्चक पदयात्राको अवर्णित अनुभूति गराउने महत्वपूर्ण ठाउँ हो । यहाँ आउने पर्यटक मोटर चढेर होइन, पदयात्राको रोमाञ्चक अनुभूति गर्दै यहाँको भूगोलमा रमाउन चाहन्छन् । तर उनीहरुको यो चाहना जोमसोम–कोरला (११० किमी) सडकका कारण तुसारापात हुँदै गएको उनीहरुको भनाइ छ ।

यहाँ आउने पर्यटकलाई धेरै ठाउँमा मोटर बाटो र त्यसकै आसपास हुँदै हिँड्नुपर्ने बाध्यता छ । सरकारले आफ्नो रणनीतिक महत्वका साथ बेनी–जोमसोम हुँदै उपल्लो मुस्ताङ पार गरी चीनको कोरला जोड्ने सडक निर्माण गरिरहेको छ । ग्राभेलिङ मात्रै गर्ने योजना रहेको यो सडकका कारण उपल्लो मुस्ताङको भ्रमणमा आउने विदेशी पर्यटक असन्तुष्ट हुँदै गएका छन् । निर्माणाधीन सडक तथा त्यहाँ गुड्ने गाडीले उडाउने कुइरिमण्डल धुलोले उनीहरू झनै बढी आजित छन् । यस्ता पर्यटकले जतिसक्दो चाँडो सडकभन्दा परबाट पदयात्राका लागि वैकल्पिक मार्ग खोल्नुपर्ने सल्लाह दिँदै आएका छन् । उनीहरु भन्छन् : ‘सडक बनाऊ तर पदमार्ग पनि नमास ।’

‘नभड्काऊ पर्यटक : विकल्प रोजौँ’

विगत ४० वर्षदेखि मुस्ताङको पर्यटन क्षेत्रमा लागिरहेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले सडकका कारण उपल्लो मुस्ताङ भ्रमणमा जाने विदेशी पर्यटकलाई निकै सास्ती भएको बताए ।

“सडकले उपल्लो मुस्ताङको प्राकृतिक सुन्दरतामा अतिक्रमण गरेको छ”, अध्यक्ष तुलाचनले भने, “सडककै कारण यहाँ आउने विदेशी पर्यटकलाई भड्काउनु हुँदैन, हामीले विकल्प खोज्नैपर्ने भएको छ ।” अध्यक्ष तुलाचनका अनुसार सडकरुपी खुकुरीले उपल्लो मुस्ताङको प्राकृतिक सुन्दरतालाई छिनाली दिएको छ । सडकको विस्तार हुनुपूर्व उपल्लो मुस्ताङमा देखिने खच्चड, घोडा, पैदलयात्री, काठेपुल सबै चिज एकै ठाउँमा देखिने र ती सबैको गज्जबको दृश्य अहिले लोप भएकोमा मुस्ताङीले नमज्जा मानेको अध्यक्ष तुलाचनले बताए ।

पूर्वाधारको अभावले विकासमा पछाडि परेको उपल्लो मुस्ताङमा सडक तथा यातायात पूर्वाधार विकास गर्नु पहिलो आवश्यकता हो । यसबाट यहाँको अर्थतन्त्रमा सुधार आउनुका साथै दूरदराजका बासिन्दा र त्यहाँका उत्पादन तथा सम्पदाले स्थान पाउँछन् । साथै पूर्वाधारकै कारण बढ्ने आन्तरिक पर्यटनले राज्य र नागरिक दुवैलाई लाभ पु¥याउँछ ।

सडककै कारण बाह्य पर्यटक घट्ने अवस्था भने आउन दिनुहुँदैन । बाह्य पर्यटनले विदेशी मुद्रा आर्जनमा देशलाई ठूलो योगदान पु¥याउने हुँदा यसलाई पनि जोगाउनु तथा बढाउनु उत्तिकै आवश्यक छ । त्यसका लागि पर्यटक अनुकूलको वैकल्पिक पदमार्गको व्यवस्था हुनुपर्ने अध्यक्ष तुलाचनको भनाइ छ ।

विदेशी पर्यटकको खर्च ५० प्रतिशतले बढी

उपल्लो मुस्ताङमा नेपाली पर्यटकको तुलनामा विदेशी पर्यटकले ५० प्रतिशतले बढी खर्च गर्ने गरेका छन् । त्यहाँ रहेका होटल तथा लजले पनि नेपाली र बाह्य पर्यटकलाई अलगअलग दरमा खाने र बस्ने रकम लिने गरेका छन् ।

नेपालीलाई रु ३ सयमा शाकाहारी खाना खुवाउने उपल्लो मुस्ताङका होटलमा विदेशी पर्यटकका लागि त्यही खाना मूल्य रु ४ सय ५० रहेको छ । यस्तै फरक अन्य खानाका साथै कोठाको शुल्कमा पनि छ । नेपाली पर्यटकका तुलनामा विदेशी पर्यटकले महङ्गा चिनो लैजाने लोमान्थाङका व्यवसायी रामबहादुर गुरुङले बताए । “नेपाली पर्यटकले खासगरी चिनियाँ सामान किनेर लैजान्छन्”, उनले भने, “विदेशीले महङ्गा नेपाली चिनो लैजान्छन् ।” खाने, बस्ने तथा खरीद गर्नेसमेत गरी समग्रमा आन्तरिक पर्यटकले भन्दा विदेशी पर्यटकले ५० प्रतिशत बढी खर्च गर्ने उनको भनाइ छ ।

देश दर्शन गर्ने अवसर

विदेशी पर्यटकले गुनासो गरिरहेका सडक तथा त्यहाँ गुड्ने सवारीसाधन नै उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पु¥याउने माध्यम बनेका छन् । बेनी–जोमसोम–कोरला सडकको द्रुतमार्ग खुलेसँगै नेपाली कार, मोटरसाइकलका साथै स्थानीयरूपमा चल्ने सवारी साधनबाट उपल्लो मुस्ताङको लोमान्थाङसम्म पुग्न थालेका छन् । यसले नेपालीलाई देश दर्शनको अवसर मिलेको छ भने देशलाई आन्तरिक पर्यटनको लाभ पनि भएको छ । गाडी पुगेपछि सबैभन्दा बढी आन्तरिक पर्यटक उपल्लो मुस्ताङमा गएका पर्यटन व्यवसायी गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button