स्याङ्जामा सहकारीबाट ठगिँदै सेवाग्राही!

पोखरा न्यूज-३०, असोज । स-सानो पूँजी जम्मा गरेर सहकार्यका माध्यामबाट आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका सहकारीबाटै तिनका सदस्य ठगिएको पाइएको छ ।

स्याङ्जाको वालिङस्थित गतिशील महिला बहुउद्देश्यीय सहकारीले आफूसँग बढी पैसा लिएर ठगी गरेको भन्दै एक महिलाले वालिङ नगरपालिकामा निवेदन दिएपछि सहकारीले सेवाग्राहीसँग बढी रकम लिएको तथ्य बाहिर आएको हो । उक्त नगरपालिका– १० की सरिता उपाध्यायले सो सहकारीबाट एक वर्ष पहिले रु ६० लाख ऋण लिएकोमा अहिले उक्त रकमको साँवा र ब्याज बुझाएर खाता बन्द गर्न खोज्दा रु ८४ हजार ५ सय लिएको उनको गुनासो थियोे ।

उपाध्यायले भनिन, “मैले सहकारीबाट निकालेको रकमको साँवाब्याज सबै बुझाएर खाता बन्द गर्छुभन्दा पनि सुख पाइन । मैले अन्य बैंकबाट सस्तो ब्याजदरमा पैसा पाएपछि साँवा, ब्याज र सेवा शुल्कसमेतको रकम तिरिसकेपछि सहकारीले आफूसँग बढी रकम लिएको छ ।”

सरिताले घर निर्माणका साथै अन्य कारोवारका लागि जग्गा सहकारीमा राखेर ऋण माग्दा संस्थाकी अध्यक्ष कविता गैह्रेले एउटै व्यक्तिका नाममा रु ६० लाख दिन नमिल्ने बताएकीले आफूले आफ्नो, बुहारी र देउरानीका नाममा रु ३० हजारका दरले रु ९० हजारको तीन वटा शेयर राखेर रु ६० लाख लिएको र शुरुको तीन/चार महीना मासिक १८ प्रतिशतका दरले ब्याज बुझाएकी थिएँ ।

ऋण लिएपछि पहिला १७ प्रतिशत र अन्तिममा १६ प्रतिशतका दरले ब्याज बुझाउँदै आएकामा सहकारीले तीनैजना शेयर सदस्यको र घरकोसमेत बीमा गर्नुपर्ने भन्दै बीमाबापतको रु ३२ हजारसमेत लिएकाले आफू अन्यायमा परेको भन्दै गुनासो गर्दा कतै पनि सुनुवाइ नभएको उनको गुनासो थियो ।

जिल्ला सहकारी सङ्घका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीले ब्याज र नवीकरण शुल्कबाहेक अन्य कुनै पनि शुल्क लिन नमिल्ने र यो भन्दा अन्य शीर्षकमा रकम लिनु भनेको ठगी गर्नु हो भने । यसबारे संस्थाकी अध्यक्ष गैह्रेसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । वालिङ नगरपालिका सहकारी शाखा प्रमुख खुमाकान्त अर्यालले सो विषयमा नगरपालिकाको न्यायिक समितिमा निवेदन परेको र संस्था तथा शेयर सदस्यबीचको आन्तरिक कुरा भएकाले एकापसमा बसेर विवाद मिलाउन भनिएको बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button