२० वर्षदेखि कोठामा थुनिएका युवाको उद्धार, उपचारका लागि पोखरा ल्याइयो

पोखरा न्यूज – ०४, कार्तिक । दुई दशकदेखि कोठामा थुनिएका एक युवाको आइतबार  उद्धार गरिएको छ । मानवसेवा आश्रम लमजुङको पहलमा सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित हाडेटारका ३४ वर्षीय राजु विकको उद्धार गरिएको हो । उनलाई उपचारका लागि पोखरा ल्याइएको  छ ।

उद्धारमा आश्रमका संयोजक अनिता अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाही, प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङ, नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष कृष्णबहादुर आलेलगायत खटिएका  थिए   । विककी आमा लुरीमायाले उद्धारपछि सहज भएको बताइन । महेन्द्र मन्दिर माविमा कक्षा ४ मा पढ्दैदेखि विकमा मानसिक समस्या देखिएको हो । त्यसपछि उनलाई घरमा कोठामा थुनेर राखिएको थियो ।

सुन्दरबजार नगरपालिका–२ हाँडेटारका ३४ वर्षीय राजु विकको मानसिक सन्तुलन गुमेपछि २ दशकदेखि कोठामै बन्दी अवस्थामा रहँदै आएका हुन् ।

उनको मानसिक सन्तुलन गुमेपछि जसलाई जतिबेला पनि हातपात र आक्रमण गर्ने भएकाले परिवारले घर नजिकै छुट्टै कोठा बनाएर राख्दै आएको थियो  । राजुलाई झण्डै १४ वर्षको उमेरबाट कोठामा राख्दै आएको परिवारले जनाएको छ । उनको स्वभाव निकै आक्रमक भएकाले बाहिर छाडेपछि जो कसैलाई आक्रमण गरिहाल्ने समस्याले परिवारजन थप मर्कामा परेका थिए ।

राजुको मानसिक सन्तुलन मात्रै गुमेको छैन, छारे रोगसमेत रहेको परिवारले जनाएको छ । छोराको उपचारका लागि वडा कार्यालयदेखि जिल्ला समन्वय समिति लगायतमा पहिले  कुरा राखे पनि समस्याको समाधन  हुन नसकेको बुबा विकको भनाइ छ । गाउँकै महेन्द्र मन्दिर माविमा ४ कक्षामा पढ्दै गर्दादेखि उसको मानसिक सन्तुलन बिग्रँदै गएको आमाको भनाइ छ ।

लुरीमायाको ४ छोरा र २ छोरी छन् । मानसिक सन्तुलन ठिक नभएको राजु माइलो छोरो हुन् । राजु बाहेक सबैजनाले विवाह गरेर कोही कतै कोही कतै पुगेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button