४० करोड लगानीको विशाल महादेव मूर्ति निर्माणस्थलको एक चौथाइ काम सकियो

दीननाथ बराल, पोखरा न्यूज – १३, कार्तिक । पोखरा २२ को पुम्दीकोटमा विशाल महादेवको मूर्ति सहितको भौतिक संरचना निर्माण कार्य हालसम्म करिब २५ प्रतिशत सम्पन्न भएको छ । पुम्दीकोटलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न हाल निर्माण हुँदै गरेको विशाल महादेवको मूर्तिसहितको अन्य संरचनाको निर्माण कार्य २५ प्रतिशत भन्दा बढी सम्पन्न भएको विशाल महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

४० करोडको उक्त योजनामा हालसम्म करिब १० करोड रुपैया खर्च भएको अध्यक्ष बरालले बताए । उनका अनुसार करिब ५ करोडको लागतमा १८ वटा एट्याच वाथरुम सहितका सटरहरु निर्माण भएका छन्। त्यसैगरी बाँकी ५ करोड विशाल महादेवको मूर्ति राख्ने पद्मा आशनको फाउण्डेसन सहितको अन्य भौतिक संरचना निर्माणमा लगानी भएको उनले जनाए । समितिले केही बर्ष अघि आयोजना गरेको महायज्ञबाट संकलित रकम मध्ये ६ करोड उक्त योजनामा हालसम्म खर्चिएको अध्यक्ष बरालले जनाए ।

त्यसैगरी उक्त योजनालाई सफल पार्न पोखरा महानगरपालिकाले एक करोड ५० लाख रुपैया आर्थिक सहयोग गरेको र केन्द्रिय सरकारबाट पनि ४० लाख रुपैया लगानी भएको समितिले जनाएको छ । समितिले ८० लाख रुपैया सहकारीबाट कर्जा लिएको छ भने एक करोड ऋणमा काम गरेको अध्यक्ष बरालले जनाए । हाल निर्माण हुदै गरेको विशाल महादेवको मूर्ति राख्ने पदम आसन सहितको ध्यान केन्द्र सहितको अन्य संरचनाको अन्तिम चरणको फिनिसिङमा मात्र करिब २ करोड भन्दा बढी खर्च लाग्ने समितिले जनाएको छ ।

उनका अनुसार समितिको काधमा आगामी ३ बर्ष भित्र बाँकी ३० करोडको काम पुरा गर्नुपर्ने ठुलो चुनौती रहेको छ । प्रोजेक्टमा ५० फिट अग्लो विशाल महादेवको मुर्ति, त्यस वरिपरि निर्माण हुने १ सय ८ शिवलिङ्ग र डाई मार्फत गणेशले परिक्रमा गरिरहने मूर्तिसहित ध्यान केन्द्र, पार्किङलगाएत निर्माण गरिने योजना रहेको अध्यक्ष बरालले बताए ।

पुम्दीकोट टावरसहितको अन्य दृश्यावलोकन गर्न हाल दैनिक जसो पुम्दीकोटमा ५० देखि १ सय जना जाने गरेको समितिले जनाएको छ । उक्त प्रोजेक्टको निर्माण कार्य २०७३ भदौंबाट सुरु गरिएको थियो । आगामी फागुन महिना भित्र मूर्ति राख्नेगरी निर्माण कार्यलाई तीव्रता दिइएको अध्यक्ष बरालले जनाए । निर्माणस्थलमा  हाल दैनिक ३०-३५ जनाले काम गर्दै आएको उनले बताए ।

२२ रोपनी क्षेत्रफलमा रहेको उक्त जग्गा समितिले ३० बर्षको लागि नेपाल सरकारसँग भाडामा लिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button