सहारा क्लब पोखराको देउसी भैलो कार्यक्रमबाट ७ लाख ६९ हजार संकलन

दीननाथ बराल, पोखरा न्यूज – १४, कार्तिक । सहारा क्लब पोखराले यस बर्षको तिहार पर्वको अवसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट ७ लाख ६९ हजार ४ सय ११ रुपैया संकलन गरेको छ । क्लबद्वारा संचालित सहारा एकेडेमीको सहयोगार्थ आयोजित ५ दिन खेलिएको देउसी भैलो कार्यक्रमबाट उक्त रकम संकलन भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए ।

उनका अनुसार यस बर्ष पोखरा ६, ७, ८, ९, १५, १७ लगायतका वडामा खेलिएको देउसी भैलो कार्यक्रमबाट गत बर्ष भन्दा यस बर्ष करिब साढे दुई लाख बढी संकलन भएको छ । क्लबले एकेडेमीको लागि हरेक बर्ष जसो तिहारमा देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष थापाले जनाए । संकलित रकम सहारा एकेडेमीमा आश्रित कठिन परिस्थितीका १३ जिल्लाका २५ जना बालकहरुको भरणपोषण र शिक्षाका लागि खर्च गरिने अध्यक्ष थापाले बताए । क्लबको स्थापनाकाल देखिनै यसरी नै भैलो खेल्दै संकलित रकमबाट पोखराको सामाजिक र खेलकुद क्षेत्रमा खर्च गर्दै आएको उनले जनाए ।

सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता र देउसी भैलो कार्यक्रमबाट बचत भएको रकम एकेडेमीमा खर्चिदै आएका क्लबका महासचिब रामजी अधिकारीले बताए । देउसी भैलोको अन्तिम दिन कार्तिक १३ गते २ लाख ४० हजार ८ सय ५ रुपैया संकलन भएको क्लबले जनाएको छ । देउसी भैलोको पहिलो दिन कार्तिक ९ गते ७६ हजार २ सय २५ रुपैया संकलन भएको क्वलका बरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरिराम गुरुङले बताए ।

नेपाली कला संस्कृतिको संरक्षण गर्ने अभियान अन्तर्गत पनि क्लबले विभिन्न कला संस्कृतिको आधारमा आधारित गीत तथा नृत्य प्रस्तुत गर्दै आएको सांस्कृतिक संयोजक विनुृ राना मगरले बताइन् । स्वयम सेवक परिचालन समितिको संयोजकमा सुनिल राना मगर रहेको क्लबका पूर्व अध्यक्ष वीरभद्र आचार्यले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button