बंगलादेशका राष्ट्रपतिको पोखरा भ्रमणले पर्यटन प्रवर्द्धन हुने विश्वास

दीननाथ बराल, पोखरा न्यूज – २७, कार्तिक ।  बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखरा भ्रमण गरेका छन्। नेपाल भ्रमणको क्रममा आज (बिहिबार) पोखरा आइपुगेका बंगलादेशका राष्ट्रपति हमिदले पोखराको फेवातालसहित कास्कीको रुपाकोट क्षेत्रको अवलोकन गरेका हुन् ।

काठमाडौंबाट हेलिकोप्टर मार्फत पोखरा आएका बंगलादेशका राष्ट्रपति हमिदले फेवातालमा डुंगा सयर देखि पोखरा हुदै कास्कीको रुपाकोट गाउँपालिकाको समेत अवलोकन गरेर बिहिबार नै काठमाण्डौं प्रस्थान गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ लगायतले भव्य स्वागत गरेका थिए भने रुपाकोट रिसोर्टबाट गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, सरकारका प्रवक्ता बस्नेतसहितको टोलीले बिदाई गरेको हो । पोखरा विमानस्थलमा उनलाई पन्चेबाजा सहित फूलमालाले स्वागत गरिएको थियो ।

बंगलादेशका राष्ट्रपति हमिदले पोखराको फेवातालमा ढुंगा सयर समेत गरेका थिए । पोखराबाट माछापुच्छ्रे हिमश्रृखला समेत देखे पछि उनी निकै प्रसन्न मुद्रामा देखिए । ढुंगा सयर गरे पश्चात फिस्टेल लजमा खाना खाएर केही समय आराम गरे पछि उनी रुपाकोट गाउँपालिकामा पर्ने रुपाकोट रिसोर्टमा पुगेका थिए । उक्त रिसोर्टमा उनले चिया पिएका थिए । उनको साथमा आएका करिब ५८ जनाको टोलीमा सहभागी अधिकांशले रुपाकोट रिसोर्टमा खाना खाएका थिए भने बंगलादेशका राष्ट्रपति हमिद सहित ५-६ जनाको  टोलीले फिस्टेल लजमा खाना खाएका हुन् ।

बंगलादेशका राष्ट्रपति हमिदको पोखरा भ्रमणको क्रममा सुरक्षा व्यवस्था मजबुत पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । राष्ट्रपति हमिदको पोखरा भ्रमण अनौपचारिक रुपमा सम्पन्न भएको प्र.जि.अ. केसीले जानकारी दिए । बंगलादेशका राष्ट्रपति हमिदलाई पोखरामा स्वागत गर्न विभिन्न ठाउँहरुमा फूलसहितको घडाले स्वागत गरिएको थियो । पोखराको सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो ।

बंगलादेशका राष्ट्रपति हमिदको पोखरा भ्रमणले आफुहरु निकै आशाबादी भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । उनले भने “हाम्रो देश र हाम्रो प्रदेशमा बंगलादेशका राष्ट्रपति जस्तो व्यक्तिको भ्रमणले हाम्रो क्षेत्रको पर्यटन प्रवर्धनमा धेरै टेवा पुग्ने हामीले विश्वास लिएका छौं ।” प्रदेशको समृद्धिको खाकालाई सफल पार्न विदेशका उच्चपदस्थ व्यत्तिहरुको भ्रमणले टेवा पुग्ने उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button