दिक्तेल-हलेसी सडक ४६ करोड ८९ लाख लागतमा कालोपत्र सम्पन्न

पोखरा न्यूज -१, मंसिर ।  मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न भएको छ । एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित रत्नपार्कदेखि त्रिधार्मिकस्थल हलेसीसम्मको ३६ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो ।

एडिबीको रु ४६ करोड ८९ लाख ९२ हजारको लगानीमा साढे छ मिटर फराकिलो पारिएको सो दिक्तेल–हलेसी सडकमा साढे पाँच मिटर चौडाइ कालोपत्र गरिएको आयोजना प्रमुख विजयकुमार थापाले बताए । थापाका अनुसार तीन भागमा विभाजन गरेर कालोपत्र गरिएको हो ।

तीन वर्षभित्र सम्पन्न गर्ने गरी विसं २०७१ जेठ १६ गते ठेकेदार कम्पनीसँग सम्झौता भए पनि दुई वर्ष ढिलो गरेर पाँच वर्षमा मात्रै कालोपत्र सम्पन्न भएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्प तथा भारतीय नाकाबन्दीलगायतका कारण तोकिएको मितिमा काम सम्पन्न गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ ।

राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला आवतजावत गर्न तथा दैनिक उपभोग्यवस्तु ढुवानीका लागि प्रयोग गरिने दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न भएपछि जिल्लावासीसमेत हर्षित भएका छन् । विसं २०६४ बाट कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सो दिक्तेल–हलेसी सडक हिउँदभर सञ्चालन हुने र वर्षा लाग्नासाथ करीब छ महिना बन्द हुने गरेको थियो ।

हिउँदमा धुलो र बर्खायाममा हिलोका कारण कष्टप्रद यात्रा गर्ने पैदलयात्रीलाई समेत सडक कालोपत्र भएपछि यात्रा गर्न सहज भएको छ । कच्ची अवस्थामा सञ्चालन भएको लामो समयपछि दिक्तेल–हलेसी सडक कालोपत्र भएसँगै जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्यसमेत केही मात्रामा घटेको उपभोक्ताहरूले बताएका छन् ।

छिमेकी जिल्ला भोजपुर हुँदै किमाथाङ्का जोड्ने सो सडक समयमा सम्पन्न गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत अनुगमनका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिलाई भेला गरेर चाँडो सम्पन्न गर्न निर्देशन दिएका थिए ।

यद्यपि, जिल्लाको प्रमुख मार्गमा दिक्तेल–हलेसी सडक कालोपत्रको काम भने गुणस्तरीय नभएको सर्वत्र गुनासो छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा/ढुङ्गा कमसल प्रयोग गरिएका कारण गुणस्तरहीन भएको प्रत्यक्षदर्शीले आरोप लगाएका छन् ।

प्रहरी प्रशासनकै आँखा अगाडि दिक्तेल–हलेसी सडक कालोपत्र गुणस्तरहीन बनेकोप्रति अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीयवासीले बताएका छन् । ठेकेदार कम्पनीले भने मापदण्डअनुसारको निर्माण सामग्री प्रयोग गरेको दाबी गरेका छन् ।

कालोपत्र गर्नुअघि सडकको बीचबाट दायाँबायाँ साढे सात/साढे सात मिटर जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण गरिएको थियो । आयोजना प्रमुख थापाका अनुसार सडक आसपासमा रहेका १०८ घरपरिवारलाई मुआब्जा दिएर हटाउनुका साथै ९ सय ७ जग्गाधनीलाई मुआब्जा दिइएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button