नेकपा सरकारका कारण लोकतन्त्र नै धरापमा : श्रेष्ठ

पोखरा न्यूज -१, मंसिर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपसभापति गोपालमान् श्रेष्ठले दुई तिहाइको कम्युनिष्ट सरकारका कारण लोकतन्त्र नै धरापमा पर्न लागेको बताएका छन् । अघिल्लो चुनाव काँग्रेसले हार्दा मुलुकले हारेको भन्दै उनले नेकपा सरकारका कारण लोकतन्त्र नै धरापमा परेको आरोप लगाएका हुन् ।

कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–८ मा आयोजित घरदैलोका क्रममा नेता श्रेष्ठले यो सरकारका पछिल्ला गतिविधि हेर्दा मुलुक हारेको र लोकतन्त्र धरापमा परेको प्रमाणित हुँदै गएको उनले जिकिर गरे ।  निकै ठूलो बलिदानी गरेर ल्याएको लोकतन्त्र रक्षा गर्नकै लागि भएपनि यो उपनिर्वाचन जित्न जरुरी रहेको उनले बताए । ‘सरकारले प्रेस, मानवअधिकार तथा न्यायालयमा निरन्तर आक्रमण गरिएको छ’, उनले भने, ‘सरकार निरङ्कुसतर्फ लम्किन खोजेको छ । त्यसलाई ठोगान लगाउन पनि काँग्रेस ले जित्न जरुरी छ ।’

सरकारले ल्याएको प्रेस विरोधी विधेयकको काँग्रेसले कडा रुपमा विरोध गरेपछि सुधार भएको भन्दै नेता श्रेष्ठले पत्रकारलाई नडराउन पनि आग्रह गरे । यो चुनावमा सवैलाई सक्रिय भएर लाग्न आग्रह गर्दै कांग्रेस एकजुट भएमा चुनाव सहजै जित्न सकिने श्रेष्ठले बताए ।  ‘अघिल्लो चुनावमा हामी हारेर निराश बनेका छैनौं’, श्रेष्ठले भने, ‘हामी अझै उत्साहका साथ संगठन मजबुद बनाउन लागिपरेका छौं ।’ विगतमा भएका कमी कमजोरीलाई मनन गर्दै काँग्रेस एक जुट भएर लाग्न जरुरी रहेको नेता श्रेष्ठले बताए ।

पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटले यो मुलुकको रक्षा काँग्रेसबाहेक अरुले गर्न नसक्ने जिकिर गरे । पोखरा–८ का चुनावी कमाण्डरसमेत रहेको रानाभाटले सरकारको गलत रवैयाले जनता वाक्क दिक्क भएको बताए । उनले भने, ‘घरदैलोका क्रममा जनता निकै निराश भएको पायौं । सरकारका कारण राजनीतिक दलहरूप्रचि जनताको वितृष्णा पैदा भएको छ ।’ घरदैलो अभियान पार्टीका इकाइ सभापति सुवास सिग्देलको नेतृत्वमा भएको थियो । आइतबार पोखरा–८ का सृजनाचोक, सिमलचौर, आलुमाइलाचोकमा घरदैलो अभियान भएको थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अधिनायकवादी शक्तिलाई परास्त गर्न कांग्रेस तयार रहेको बताएका छन् । कास्की क्षेत्र नं. २ को चुनावी अभियानका लागि आइतबार पोखरा आएका नेता पौडेलले नेपालमा कम्युनिष्ट तानाशाहा बढ्ने खतरा रहेको भन्दै त्यसबाट सतर्क हुनुपर्नेमा जोड दिए ।

‘कम्युनिष्ट सरकार एकदलीय तनाशाह र अधिनायकवादतर्फ उन्मुख भइरहेका छन् । लोकतान्त्रिक संविधान खतम गर्ने, न्यायालय ध्वस्त पार्ने, प्रेसमाथि धावा बोल्नेतर्फ यो सरकार उन्मुख छ’, उनले भने । नेता पौडेलले भने, ‘जनताको विश्वास, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रको चाहना पनि काँग्रेसले चुनाव जितोस् भन्ने छ । त्यसैले पनि यो चुनाव जितेर कम्युनिष्ट अधिनायकवाद विरुद्ध लड्नुपर्छ ।’ वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेकोले त्यसका विरुद्ध यो चुनाव भएको बताए । ‘यो चुनाव जनमत संग्रह हो । कम्युनिष्ट शासन र सरकारले गरेका गतिविधि ठीक छैन भन्ने सन्देश दिनका लागि पनि काँग्रेसले यो चुनाव जित्न जरुरी छ’, उनले भने ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button