सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झना गर्दै ‘विश्व सम्झना दिवस’

पोखरा न्यूज -२, मंसिर । दमौली जिल्लाका सदरमुकाम धुलिखेल र नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीमा सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा आइतबार ‘विश्व सम्झना दिवस’ मनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, सुरक्षित र दिगो यात्रा नेपाल, भकुण्डे जेसिस र नेपाल अटोमोबाइल एशोसिएशनको संयुक्त आयोजनामा धुलिखेल नगरपालिकास्थित सरस्वती बजार र नमोबुद्ध नगरपालिकाको भकुण्डेबँेसीमा विविध कार्यक्रम आयोजना गरेर सो दिवस मनाइएको हो । धुलिखेलको सरस्वती बजारमा भएको कार्यक्रममा सडक सुरक्षासँग सम्बन्धित श्रव्यदृष्य सामग्री प्रस्तुत गर्नुका साथै गत आर्थिक बर्षमा सडक दुर्घटनामा परी ज्यान गुमाएका २ हजार ७ सय ८९ को सम्झनाका साथै दुर्घटनामा घाइते र अङ्गभङ्ग भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको थियो ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नेपालमा प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा सवारी दुर्घटना हुने गरेको र जसमा वर्षेनी करिब ३ हजार मानिसले ज्यान गुमाउने गरेको उल्लेख गर्दै त्यस प्रकारका दुर्घटनाको मुख्य कारण सवारी नियमको उल्लङ्घन गरी चलाउने गरेकाले हो भन्दै सडक प्रयोगकर्ता बढी सजग र सचेत हुनुपर्नेमा जोड दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले ट्राफिक व्यवस्थापन गर्न सरोकारवाला निकाय गम्भीर नबनेसम्म प्रहरीको पहलबाट मात्र विकराल समस्या समाधान गर्न सम्भव नहुने बताए । सो क्रममा सापकोटाले ट्राफिक नियमको पालना गर्दै आफ्नो गन्तव्य तय गर्न समस्त सडक प्रयोगकर्तामा आग्रह गरे ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार अव्यवस्थित सडक र ट्राफिक व्यवस्थापनको अभावमा सडक दुर्घटनाबाट गत आर्थिक वर्षमा  २  हजार ७ सय ८९ ले ज्यान गुमाएको उल्लेख छ । सो क्रममा १४ हजार बढी घाइते र अर्बौंको भौतिक क्षति भएको उल्लेख छ । नेपालभर ट्राफिक नियम उल्लङ्घन तथा सडकको दूरावस्थाकै कारण भएका सवारीसाधन दुर्घटनामा दैनिक सरदर ८ भन्दा बढीले ज्यान गुमाउँदै आएको प्रहरीले जनाएको छ ।

त्यसको लागि स्थानीय विकास, भौतिक योजना तथा निर्माण र श्रम तथा यातायात व्यवस्था मन्त्रालय गम्भीर बन्नुपर्नेतर्फ जोड दिइएको थियो । भौतिक पूर्वाधारको अभाव, वैज्ञानिक उपकरण कमी, सवारी चालक र सडक प्रयोगकर्ताको मिचाहा प्रवृत्ति तथा जनशक्तिको अभावले ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएको सो क्रममा सरोकारवालाले आवाज उठाएका थिए ।

उता भकुण्डेमा भएको कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद तिमल्सिना र भकुण्डे प्रहरीचौकीका प्रतिनिधिका साथै विभिन्न सङ्घ/संस्थामा आबद्ध व्यक्तिको उपस्थितिमा सो दिवस सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button