पर्यटकीय गन्तब्य बन्दै बागलुङ गाईघाटको झरना

पोखरा न्यूज -०२,मंसिर। यसपालि दशैँ–तिहारमा ७ हजार बढी आन्तरिक पर्यटकले गाईघाट झरना घुमे । चाडबाड र बिदाका बेला झरनामा बढी चहलपहल हुन्छ । गत आर्थिक वर्षमा झण्डै २० हजारले झरनाको अवलोकन गरेका थिए ।

बागलुङको ताराखोला गाउँपालिका–१ स्थित झरनामा वर्षको शुरुदेखि नै पर्यटक बढेका छन् । साउनयता १५ हजार बढीले झरना घुमेको व्यवस्थापनले जनाएको छ । पूर्वाधार र प्रचारप्रसारले झरना पर्यटकको रोजाइमा परेको हो । झरनाको रेखदेख र व्यवस्थापन गाउँपालिकाले गर्दै आएको छ ।

बोलपत्र प्रतिस्पर्धामार्फत स्थानीय नरेश केसीले टिकटको जिम्मा पाएका छन् । वार्षिक रु ५० हजारमा ठेक्का दिइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले बताए। अघिल्लो आवमा ठेक्काको रकम रु ३५ हजारमात्र थियो ।

“पर्यटक बढेपछि ठेक्काको दर बढेको हो”, गाउँपालिका अध्यक्ष घर्तीमगरले भने, “टिकटको रकम पर्यटन रोयल्टीको रुपमा प्रदेश र गाउँपालिकामा बाँडफाट हुन्छ ।” झरनामा गत आवदेखि टिकट प्रणाली भएको थियो । गाउँपालिकाले झरना घुम्न प्रतिव्यक्ति रु ३० शुल्क तोकेको छ ।

विद्यार्थीलाई आधा छुट र १० वर्षमुनिको बच्चालाई निःशुल्क गरिएको टिकट बिक्रेता अम्मरबहादुर नाइसाले बताए । उमले गर्त वर्षको तुलनामा दोब्बर बढीले पर्यटक बढेको उल्लेख गरे । “दशैँ, तिहारको बेलामा त दिनमै ३ सय सम्म आए”, उनले भने, “अरु दिनमा पनि पर्यटक आइरहन्छन् ।”

छिमेकी जिल्लाबाटसमेत पर्यटक झरना घुम्न आउँछन् । शैक्षिक भ्रमण, वनभोजस्थलका रुपमा समेत गाईघाट परिचित छ । गीतको छायाङ्कन गर्नेहरु पनि बेलाबखत गाईघाट पुग्छन् । आन्तरिक पर्यटक बढ्दै जान थालेपछि गाउँपालिकाले झरना प्रवद्र्धनको योजना ल्याएको छ ।

पूर्वाधार निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको छ । निजी क्षेत्रको लगानी भित्र्याउने योजनासमेत गाउँपालिकासँग छ । पौडी पोखरी, बगैँचा, मन्दिर, विश्रामस्थल, रेष्टुराँलगायत पर्यटनमैत्री पूर्वाधार निर्माण गर्ने तयारी छ । गाईघाट, मोतीमारे हुँदै घोडाबाँधे जोड्ने पदमार्ग निर्माणको काम पनि भइरहेको छ ।

वर्षौंसम्म ओझेलमा परेको गाईघाट झरना अहिले पर्यटकीय गन्तव्यस्थलमा रुपमा विकास भइरहेको स्थानीय मनबहादुर लामिछानेले बताए । उनले स्थानीय क्षेत्रको समृद्धिमा टेवा पुग्ने गरी गाईघाटको विकास योजना बनाउनुपर्ने धारणा राखे ।

५ वर्षअघि गलकोट घुम्टे पर्यटन विकास केन्द्रको पहलमा झरनाको संरक्षण र विकासको काम अघि बढेको थियो । सरकारी सहयोग र जनश्रमदानबाट केही पूर्वाधार बनिसकेका छन् । स्थानीय तह बनेपछि गाउँपालिकाले झरनाको विकास र प्रवर्द्धनका लागि पहल गरेको छ ।

प्राकृतिक सुन्दरयुक्त गाईघाट झरनालाई गण्डकी प्रदेश सरकारले पर्यटकीय गन्तव्यका रुपमा सूचीकृतसमेत गरेको छ । ५० मिटर अग्लो झरनाको भित्रपट्टि रहेको गुफाले पनि पर्यटकलाई लोभ्याउँछ । गुफामा पूजाआजासमेत हुन्छ । झरनादेखि नजिकै रहेको भूताह गल्छी पनि त्यहाँको अर्को आकर्षण हो ।

झरनामा छाँगावरोहण ‘क्यानोनिङ’ को पनि राम्रो सम्भावना रहेको छ । गर्मी याममा झरना अवलोकनसँगै छाँगावरोहण र प्राकृतिक तलाउमा पौडी खेल्ने गरी पूर्वाधार विकास गर्ने योजना बनाइएको छ । कहिल्यै पनि धमिलो पानी नखस्ने हुँदा झरनाको सौन्दर्य हरेक याममा उस्तै देखिन्छ । झरनालाई ताराखोला गाउँपालिका छिर्ने प्रवेशद्वारको रुपमा समेत लिइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button