वाशिंगटन डिसि र गण्डकी प्रदेशबीच भगिनी सम्बन्ध गाँस्न निम्तो

दीननाथ बराल, पोखरा न्यूज -०३,मंसिर । गण्डकी प्रदेश र अमेरिकाको वाशिंगटन डिसि राज्यबीच भगिनी सम्बन्ध गाँस्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निम्तो दिएका छन् । हालै संयुक्त राज्य अमेरिकाको एक साता लामो भ्रमण सकेर स्वदेश फिर्ता भएका मुख्यमन्त्री गुरुङले सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अमेरिकाको भ्रमण निकै फलदायी भएको बताउदै वाशिंगटन डिसि राज्यलाई गण्डकी प्रदेशले भगिनी सम्बन्ध गाँस्नको लागि निम्तो दिएको बताएका हुन् ।

वाशिंगटन डिसिको गर्भनरसँगको भेटवार्तामा गण्डकी प्रदेश र वाशिंगटन डिसिबीच भगिनी सम्बन्ध गाँस्ने बिषयमा सकरात्मक छलफल भएकोले सम्बन्ध गाँस्न निम्तो दिएको मुख्यमन्त्री गुरुङले बताए । उनले भने “हाम्रो प्रदेश र वाशिंगटन डिसि राज्यबीच धेरै समानता भएको हामीले पायौं, त्यहाँ लालीगुरास, लेक फोरेस पार्क लगायतका वस्तु हाम्रै प्रदेशमा भएका जस्तै देखिनुले हामी निकै उत्साहित भयौं, यसरी दुई राज्यबीचको भगिनी सम्बन्ध भएमा हाम्रो व्यवसाय, उद्योग र पर्यटन प्रवर्धन हुने हामीले विश्वास लिएका छौं ।” नेपाल र गण्डकी प्रदेशलाई विश्व सामु चिनाउन दुई राज्यबीचको भगिनी सम्बन्ध स्थापना हुनाले धेरै सहज हुने मुख्यमन्त्री गुरुङले जनाए ।

अमेरिकाको फिनिक्समा नेपाली मुलका डाक्टरहरुले स्थापना गरेको अमेरिका नेपाल मेडिकल फाउण्डेसनका अध्यक्षसहितको टोलीसँगसमेत आफ्नो भेटघाट भएको उनले जनाए । उनीसँग आँपपिपल र जोमसोमको जिल्ला अस्पतालको स्तरोन्नती गर्न केही प्रविधिहरु उपलब्ध गराउने भद्र सहमति भएको मुख्यमन्त्री गुरुङले जनाए । प्रदेशका ११ वटा जिल्लामा रहेका जिल्ला अस्पतालको स्तरोन्नती र आधुनिक प्रविधि भित्राउन समेत फाउण्डेसनले सहयोग गर्ने भएको उनले जनाए । प्रदेशका सवै अस्पताल डिजिटलाइज्ड गरिने पनि मुख्यमन्त्री गुरुङले बताए ।

आधुनिक शिक्षा अन्तर्गत आइटी शिक्षा कास्कीको भद्रकालीबाट सुरु गरिने भएको उनले जनाए । साथै विना इन्टरनेट, सोलार तथा ब्याट्रिबाट समेत संचालन हुने एक प्रकारको सफ्टवेरबाट अध्ययन गर्न मिल्ने नयाँ सिस्टम भित्राउने योजना रहेको मुख्यमन्त्री गुरुङले जनाए । भ्रमणको क्रममा संघीय शासन प्रणाली, संघीय प्रहरीको समन्वय के कस्तो भएको छ लगायतका बिषयमा जानकारी लिएको मुख्यमन्त्री गुरुङले जनाए । एफ.बि.आई., स्टेट, सिटि र कन्ट्री पुलिसले के कसरी समन्वय गरी काम गर्नेरैछ त्यसको बारेमा जानकारी लिएको उनले बताए ।

विभिन्न निकायका प्रहरीमा होरिजेण्टल र भर्टिकल चेन अफ कमाण्ड कसरी स्थापित गर्ने भन्ने विषयमा जानकारी समेत लिएको मुख्यमन्त्री गुरुङले बताए । नेपालको तुलनामा अमेरिकाले आपराधिक घटनालाई न्यूनिकरण गर्न अबौं लगानी गरेको उनले जनाए । ४० लाख जनसङख्या भएको लस एन्जलसमा आपराधिक घटनालाई न्यूनिकरण गर्न २ खर्ब ३० अर्बको बजेट विनियोजन भएको मुख्यमन्त्री गुरुङले उल्लेख गरे । उच्च प्रविधिमा पनि अमेरिकाले ठुलो लगानी गर्ने गरेको उनले बताए ।

अमेरिकी डिपार्टमेण्ट अफ जस्टिसको निमन्त्रणामा मुख्यमन्त्री गुरुङ सहित आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, मुख्य न्यायाधिवक्ता डाक्टर राजेन्द्र घिमिरे र प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे अमेरिका भ्रमणमा गएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button