तनहुँमा अनुदानमा आलुको बीउ वितरण

पोखरा न्यूज -०४,मंसिर । तनहुँ जिल्लाको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले पचास प्रतिशत अनुदानमा कृषकलाई आलुको बीउ वितरण गरेको हो ।

नगरपालिकाका १४ वटै वडाका करीब ३ सय  कृषकलाई १६ हजार ५ सय  केजी आलुको बीउ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिए । कृषि शाखाले जनकदेव र एमएस जातको आलुको बीउ वितरण गरेको छ ।

प्रतिकिलो रु ५८ पर्ने जनकदेव आलुलाई रु २९ मा र प्रतिकिलो ६० पर्ने एमएस आलुलाई रु ३० मा वितरण गरिएको वाग्लेले जानकारी दिए  । “अनुदानमा आलुको बीउ वितरणका लागि सूचना निकालेका थियौँ”, उनले भने , “कृषकको मागबमोजिम अनुदानमा बीउ बाँडेका हौँ ।” नगरपालिकाले काभ्रेबाट आलुको बीउ खरीद गरी ल्याएको हो ।

नगरपालिकाले वितरण गरेको आलुको बीउ करीब १८३ रोपनी क्षेत्रफललाई पुग्छ । नगरपालिकाको करीब पाँच÷छ सय रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको अनुमान छ । बीज भण्डारबाट पनि कृषकले आलुको बीउ खरीद गरेर लैजाने हुनाले कति क्षेत्रफलमा आलुखेती हुन्छ भन्ने आधिकारिक तथ्याङ्क भने नगरपालिकासँग नरहेको प्रमुख वाग्लेले बताए । “आलुखेतीमा कृषकलाई आकर्षित गर्न र आलुमा आत्मनिर्भर बनाउन अनुदानमा आलुको बीउ वितरण गरिएको हो”, उनले भने ।

यसैगरी कृषि शाखाले च्याउ, हाते ट्र्याक्टर, साना सिँचाइ, मौरीगोला तथा घार, तरकारीखेतीका लागि प्लाष्टिक टनेललगायत पनि अनुदानमा वितरण गर्ने तयारी गरेको छ ।

व्यास नगरपालिका–८ जलेश्वर टोल विकास संस्थाका अध्यक्ष धर्मराज मिश्रले ६ सय  केजी आलुको बीउ माग गरेकोमा ३०० केजी मात्रै पाएको बताउनुभयो । टोल विकास संस्थामार्फत ६० कृषकले आलुको बीउ खरीद गरेका छन् । समूहमार्फत आलुको बीउ खरीद गरे पनि यहाँका कृषकले भने छुट्टाछुट्टै रुपमा आलुखेती गर्दै आएको मिश्रले जानकारी दिए  ।

व्यास नगरपालिका–१० खहरेस्थित मादीगङ्गा महिला बहुउद्देश्यीय सहकारीअन्तर्गत महिला समूहले ९०० केजी आलुको बीउ खरीद गरेको समूहका अध्यक्ष चिजा सापकोटाले जानकारी दिए  । समूहले दुई वर्षदेखि १५ रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती गर्दै आएको छ ।

गत वर्ष छ बोरा बीउ लगाएकोमा २४ बोरा आलु उत्पादन भएको समूहका सदस्य सान्नानी बगालेले जानकारी दिए  । गत वर्ष उत्पादित आलु समूहका ६० सदस्यलाई नै वितरण गरिएको थियो । “अब यो वर्षदेखि उत्पादित आलु बिक्री वितरण गर्ने सोच बनाएका छौं ”, अध्यक्ष सापकोटाले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button