“थोपा थोपा इन्धन बचाऔं” नारासहित पोखरामा टुर दि पोखरा हुने

दीननाथ बराल, पोखरा न्यूज – ८, मंसिर । हरेक बर्ष इन्धनको प्रयोग बढीरहेका वेला इन्धन बचाऔं भन्ने अभियान सहित पोखरामा यस बर्ष पाँचौं संस्करणको टुर दि पोखरा हुने भएको छ । साइकल सिटी पोखराको आयोजनामा आउँदो पुष १२ गते “थोपा थोपा इन्धन बचाऔं” भन्ने मुल नारासहित टुर दि पोखरा हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

कार्यक्रममा पोखरा सहित, काठमाण्डौं, धरान, नेपालगन्ज, स्याङजा, तनहुँ लगायतका ठाउँबाट करिब एक हजार भन्दा बढी सहभागि हुने भएको कार्यक्रम संयोजक राजन गोङग्जुले बताए । नेपाल आयल निगमको मुख्य प्रायोजनमा हुने उक्त कार्यक्रमलाई सफल पार्न विभिन्न गतिविधि समेत हुने भएको उनले बताए । कार्यक्रमलाई सफल पार्न पुष ९ गते रक्तदान कार्यक्रम हुने भएको छ । पुष ११ गते जिल्ला स्तरिय खुल्ला साइकल दौड प्रतियोगिता हुने भएको छ । कास्की जिल्लाको उत्कृष्ट साइक्लिस्ट पहिचानको लागि पनि प्रतियोगिता गर्न लागिएको संयोजक गोङग्जुले जनाए ।

प्रतियोगितामा कास्की जिल्लाका साइकलिस्टहरुले  सहभागि हुन पाउने भएकाछन्। १८  किलोमिटर दुरीको  प्रतियोगितामा विजेतालाई ७ हजार, उपविजेतालाई ५ हजार र तेश्रो हुनेलाई ३ हजार प्रदान गरिने भएको छ । । प्रतियोगितामा खेलाडीहरुले दर्ता शुल्क वापत ५ सय रुपैया शुल्क तिनुपर्ने छ भने सो रकमबाट खेलाडीहरुको अनिवार्य रुपमा बिमाको व्यबस्था गरिने भएको छ ।

साइकलिस्ट शारीरिक अपाङग (देब्रे हात गुमाएका) विकास गर्बुजालाई उक्त कार्यक्रमको सद्भावना दुतको रुपमा आफुहरुले घोषणा गरेको अध्यक्ष महेन्द्रराज कोइरालाले बताए । वातावरण मैत्री तथा बिना इन्धनको साधन, धुलो धुवा रहित, स्वास्थ्य र मनोरन्जनको समेत साधन साइकललाई पोखरामा बढी मात्रमा प्रयोग हुने वातावरण सृजना गर्न विभिन्न कार्यक्रम गर्दै आएको उनले जनाए । पुष १२ गते दिउँसो ३ बजेपछि भने काहुँडाँडामा साइक्लिङ गर्दै एक रात बसाई हुने भएको छ ।

नेपाल आयल निगम गगनगौडाँ पोखराका प्रमुख विनि श्रेष्ठले पोखरामा बार्षिक रुपमा १२ देखि १५ प्रतिशत पेट्रोलिय पदार्थको खपत हुदै आएको दाबी गरिन्। उनका अनुसार पोखरामा बार्षिक रुपमा करिब १६ अर्बको इन्धनको खपत हुन्छ । उक्त कार्यक्रमको नारालाई सार्थक पार्दा पोखरामा एक व्यक्तिले एक लिटर इन्धन बचाएमा महिनामा २ लाख लिटर इन्धन बचाउन सकिने प्रमुख श्रेष्ठले जनाइन्। इन्धनको खपत कम गर्न सके नेपालको व्यापार घाटा समेत विस्तारै घटाउन सकिने उनले जनाइन । उनका अनुसार पोखरामा खपत हुने इन्धन मध्य करिब ७० प्रतिशत जसो डिजेल र ३० प्रतिशत जसो पेट्रोल हो । नेपालमा बार्षिक २ खर्बको इन्धनको खपत हुने बताइएको छ ।

साइकल सिटी पोखराका बरिष्ठ सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरामा अन्य सवारी साधनको तुलनामा साइकलको प्रयोग बढाउन सुझाव दिदै पोखरामा केही ठाउँमा बनेको साइकल स्ट्याण्डमा जथभावी अन्य सवारी साधनहरुले पार्किङ गरेको गुनासो गरे । पोखरामा पर्यटकहरुको बसाइँ लम्ब्याउने पनि साइकल लेनको आवश्यक भएको उनको भनाई थियो ।

टुर दि पोखरामा करिब ३२ किलोमिटर दुरीको टुर निर्धारण गरिएको संयोजक गोङग्जुले बताए । पोखरा प्रदर्शनी केन्द्रबाट शुरु हुने टुर, पृथ्बीचोक, पोखरा बसपार्क, बुद्धचोक, रामबजार, अमरसिंहचोक, हस्पिटलचोक, रानीपौवा, महेन्द्रपुल, सिद्धार्थचोक, भैरवटोल, बगर, पुरानो टुडिखेल, हरिचोक, हेमजा मिलनचोक हुदै हेम्जाकोटमा पुगेर समापन हुने भएको छ ।

उक्त कार्यक्रम सम्पन्न गर्न करिब १९ लाख ३५ हजार खर्च लाग्ने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button