म्याग्दीको गलेश्वरमा अहिलेसम्मकै बढी भक्तजन!

कमल खत्री , पोखरा न्यूज -०९ मंसिर । म्याग्दीको पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा हालसम्मकै बढी भक्तजनहरुले दर्शन  गरेका छन् ।

बालाचतुर्दशी पर्वको अवसरमा  गलेश्वर शिवालयमा अहिलेसम्मकै बढी भक्तजनहरुले दर्शन तथा पूजापाठ गरेको गलेश्वर शिवालय क्षेत्रविकास कोषले जनाएको छ  ।

बेनी नगरपालिका–९ गलेश्वर स्थित कालिगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधामको दिनभरमा ५० हजारको हाराहारीमा भक्तजनहरुले दर्शन गरेको गलेश्वर शिवालय क्षेत्रविकास कोषका सदस्य सचिब माधवप्रसाद रेग्मीले जानकारी दिए ।

सोमबारका दिन बालाचतुदर्शी पर्व परेकाले पनि भक्तजनको भिड अन्य समयको तुलनामा बढेको कोषले जनाएको छ । कोषका अनुसार  विहान ५ बजेदेखि दिउँसो ३ बजेसम्म हजारौँ  भक्तजनहरुले लाईनमा बसेर पुजा आराधाना तथा सतबिज छरेका थिए ।

‘‘ गलेश्वरको महिमाको प्रचार प्रसारले भक्तजनहरुको आगमन बढेको हो, अनुमान गरेभन्दा बढी भक्तजन आएपनि लाईनमा बसेर शान्त रुपमा पुजा गर्ने प्रवन्ध मिलायौँ, यस कार्यमा स्वयमसेवक र शुरक्षाकर्मीको भुमिका महत्वपूर्ण रह्यो ’–क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले भने ।

बालाचतुर्दशी पर्वमा पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ । गलेश्वरमा आएका भक्तजनहरुले कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो, केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो लगायतका बीउ छरेका थिए ।

सतविज छर्न म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, काठमाण्डौ, , चितवन, नवलपरासी लगायतका ठाउँबाट समेत ठुलो संख्यामा भक्तजनहरु गलेश्वरमा आएका थिए ।

गलेश्वरमा द्वापरयुगमा सतिदेवीको गला पतन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button