पर्वतमा जिल्लाकै ठूलो खानेपानी आयोजनाको परीक्षण शुरु

लक्ष्मीप्रसाद सापकोटा- १२, मंसिर । उत्तरी पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा निर्माण भएको जिल्लाकै ठूलो ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको परीक्षण शुरु भएको छ ।

आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षणका लागि पानी वितरण शुरु गरेको उपभोक्ता समितिले जनाएको छ । पानी तान्ने पम्पको परीक्षण सफल भएको समितिका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिए । “कालीगण्डकी किनारबाट रिजर्भ ट्याङ्कीसम्म पानी तान्ने उपकरणको परीक्षण सफल भयो”, उनले भने, “मङ्गलबारदेखि वितरण र शाखा पाइपलाइनको परीक्षण शुरु गरेका छौँ”, बगरफाँट क्षेत्रको मुख्य र वितरण पाइपलाइनको परीक्षण सकिएको छ ।

पानी थिग्राउने पोखरी, वरीबेनी र लामाखेतको वितरण लाइन परीक्षण सफल भएपछि नियमित खानेपानी वितरण शुरु गरिनेछ । कालीगण्डकी किनारको जुगेधारामा प्रतिसेकेण्ड १२ लिटर पानी तान्ने क्षमताको समसिवल वयल पम्प जडान गरिएको छ । जुगेधाराको पानी १ सय ५० मिटर उचाइमा रहेको ट्याङ्कीमा विद्युतीय उपकरण प्रयोग गरेर पुर्याइएको छ । मुहानदेखि ट्याङ्कीसम्मको दूरी ७ सय ५० मिटर छ । मुहानमा पानी तान्ने सम्पवयल पम्प, पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण भएको छ ।

चार लाख लिटर क्षमताको फेरो ट्याङ्की, दुई वटा पानी छान्ने र थिग्राउने पोखरी, कार्यालय भवन, मुख्य पाइपलाइन निर्माण गरिएको छ । १५ किलोमिटर मुख्य पाइप लाइन निर्माण भएको छ । पम्प, ट्याङ्की, भवन, पोखरी र मुख्य पाइप लाइन निर्माणका लागि चन्द्र एण्ड वसन्त एएम जेभीले रु १० करोड ३० लाखमा ठेक्का लिएको थियो । उपभोक्ता समितिसँग वितरण पाइप लाइनसहितको पूर्वाधार बनाउन रु दुई करोड १२ लाखमा सम्झौता भएको थियो ।

सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत लगानीमा विसं २०७४ कात्तिकदेखि खानेपानी डिभिजन कार्यालयले आयोजना निर्माण शुरु गरेको थियो । आयोजनाबाट जलजला गाउँपालिकाको २, ३ र ४ नं वडामा पर्ने बगरफाँट, वारीबेनी र लामाखेतका ९ सय ५५ घरधुरी लाभान्वित हुने अध्यक्ष रेग्मीले बताए । प्रत्येक घरमा मिटरसहितको निजी धारा निर्माण भएको छ । घर–घरमा निजी धारामार्फत खानेपानी वितरण गर्ने व्यवस्था मिलाएको कोषाध्यक्ष बरुवालले बताए । सङ्घीय सरकारमार्फत सञ्चालित यो आयोजना धवलागिरि क्षेत्रकै ठूलो हो ।

खानेपानी तथा ढल निकास विभागको शहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत आयोजना निर्माण भएको हो । उपभोक्ताले पहिलो चरणमा प्रतिघर रु १५ हजारका दरले नगद सङ्कलन गरेका थिए । अहिले बढाएर प्रतिघर रु २० हजार कायम गरिएको छ । जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट र लामाखेतमा तीव्ररूपमा बस्ती विस्तार भएको छ । बस्तीमाथि खानेपानीको स्रोत नभएकाले लिफ्ट प्रविधि अपनाइएको हो । सो क्षेत्रमा खानेपानीको हाहाकार थियो ।

उक्त क्षेत्रका बासिन्दाले अहिलेसम्म मुहानमा व्यक्तिगत लगानीमा पाइप जोडेर घरमा पानी ल्याउने गरेका थिए । थोरै पानीको स्रोत तर माग धेरै भएपछि समस्या भएको थियो । आलोपालो लगाएर पानी आपूर्ति गराउँदै आएका थिए । पानीका कारण विवाद र सामाजिक द्वन्द्व हुने अवस्था अब अन्त्य भएको जलजला वडा नं ३ का अध्यक्ष रवि भण्डारीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button