इराकमा प्रदर्शनकारीले इरानी वाणिज्य दूतावास जलाए

पोखरा न्यूज- १२, मंसिर । इराकमा सरकार विरोधी प्रदर्शनकारीहरुले इरानको वाणिज्य दूतावास जलाएका छन् भने बुधबार मात्रै प्रहरीले चलाएको गोलीबाट ६ प्रदर्शनकारीको मृत्यु भएको छ ।

नजाफ सहरमा भएको प्रदर्शनमा आन्दोलनकारीहरुले दूतावासमा आगलागी गरेका हुन् । प्रदर्शनकारीहरु आगलागी पछि दूतावासमा प्रवेश गर्न प्रहरीसँग झडप गरेका थिए जहाँ एक प्रदर्शनकारीको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले दूतावासमा इरानको झन्डा हटाएर इराकको झन्डासमेत राखेका थिए । घटनामा दूतावासका अधिकारीहरुलाई भने कुनै हानी पुगेको छैन । दूतावासका अधिकारीहरु पछिल्लो ढोकाबाट भागेर बचेको बताइएको छ । दूतावासमा आगलागी भएपछि नजाफ सहरमा कर्फ्यु जारी गरिएको छ ।

पछिल्लो दुई महिना देखि जारी हिंसामा इराकमा ३ सय ५० भन्दा बढी प्रदर्शनकारीहरु मारिइसकेका छन् । प्रदर्शनहरु देशमा व्याप्त भ्रष्टाचार, खराब सार्वजनिक सेवा र बढ्दो बेरोजगारीतर्फ लक्षित छन् । त्यस्तै आन्दोलनकारीहरुले देशको राजनीतिमा इरानको बढ्दो प्रभावको पनि विरोध गरेका छन् ।

आन्दोलनकारीहरुले बग्दादको केन्द्रमा रहेका तीन पुलहरु जुम्हुरिया, एह्रार र सिनारलाई कब्जामा लिएर प्रहरीसँग झडप गर्दै आएका छन् भने त्यहाँको प्रहरीले आन्दोलनमा चर्को दमन गर्दै आन्दोलनकारी माथि गोली, अश्रुग्यास तथा स्मोक बमहरु प्रहार गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button