धान खरिद गर्न खाद्यलाई भ्याईनभ्याई

काशीराम शर्मा-१४, मंसिर । सरकारले यस वर्ष समयमै धानको मूल्य निर्धारण गरेपछि नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान खरिद गर्न भ्याईनभ्याई भएको छ । धान बिक्री गर्ने किसानको पनि उत्तिकै घुइँचो छ ।

दैनिक धान बिक्रीका लागि आउने किसानले पालो पर्खिनुपर्ने अवस्था आएको छ भने निश्चित कोटा तोकेर खरिद खुला गरेको खाद्यमा किसानले ल्याएको धान व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ । खाद्यले मोटो र मध्यम किसिमको धान खरिद गरिरहेको छ ।

खाद्यले ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेर गत कात्तिक २७ गतेदेखि खरिद शुरु गरेको थियो । हालसम्म १० हजार क्विन्टल धान खरिद गरिएको खाद्यले जनाएको छ । यस वर्ष मोटो धानको रु दुई हजार ५ सय ३२/८० पैसा र मध्यम धानको रु दुई हजार ६ सय ७३/१६ पैसा प्रतिक्विन्टल तोकिएको छ ।

यस वर्ष तोकिएको धानको मूल्य गत वर्षको भन्दा रु २ सय  ले बढी हो । धान बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड पुगेका किसान तीर्थराम कलवार सरकारले किसानको भावना बुझेर मूल्य निर्धारण गरेकाले आफूले उत्पादन गरेको धान खाद्यमा बिक्रीका लागि ल्याएको बताए  ।

उनीसँगै भेटिएका अर्का किसान शालिकराम कोरीले बाह्य व्यापारीको तुलनामा खाद्यले खरिद गर्ने धानको मूल्य किसानको हितमा भएकाले आफू बिक्रीका लागि आएको बताए  । चारवटा काँटाबाट तौल गरेर रातदिन खट्ने गरे पनि किसानले भने धान बिक्रीका लागि केही समय कुर्नैपर्ने बाध्यता देखिएको छ ।

व्यापारीले भन्दा सरकारले धानको मूल्य बढी निर्धारण गरेपछि धान बिक्री गर्ने किसानको घुइँचो लागेको छ । धान बिक्रीका लागि किसान राति १ः०० बजेदेखि संस्थान अगाडि लाइन लाग्ने गरेका छन् । डुडुवा गाउँपालिका–५ कम्दीका रामसेवक यादवले धान बिक्रीका लागि राति १ः०० बजेदेखि लाइनमा बसेको बताए । उनले पालो छिटो पाइने आशामा बिहानैदेखि ट्र्याक्टरलाई लाइनमा बसालेको बताए  । ट्र्याक्टरमा धान ल्याएका किसानले दुई–तीन दिनपछि मात्र पालो पाउने गरेका छन् ।

संस्थानले मूल्य बढी दिएपछि गाउँमा धानको खरिद–बिक्री कम भएको छ । गाउँमा फाटफुटरुपमा खरिद–बिक्री भए पनि किसानले सिधै खाद्यमा ल्याएर धान बिक्री गरेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका रामगोपाल चौधरीले बताउनुभयो । उहाँले अघिल्लो वर्षजस्तो यस वर्ष गाउँमा धानको खरिद–बिक्री नभएको बताए ।

खाद्य व्यवस्था तथा व्यापार लिमिटेडका प्रमुख भरतराज खनियाले खरिद खुला गरेपछि धान बिक्री गर्ने किसानको चाप बढ्दै गएको बताए । उनले दैनिक २५ जति ट्र्याक्टर र त्यही अनुपातमा लडियामा धान राखेर किसान आउने गरेका बताए  । खाद्यले धान खरिदका लागि तोकिएको कोटा पूरा गर्न दुई महिना लाग्ने अनुमान गरेको छ ।

यस वर्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको खाद्यले गत वर्ष पहिलो चरणमा २५ हजार र पछि थप १० हजार गरी ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य सरकारबाट पाएकामा ३३ हजार क्विन्टल धान खरिद गरेको थियो । यस वर्ष सरकारले बजार मूल्यभन्दा बढी मूल्य दिएकाले खाद्य संस्थानलाई धान खरिद गर्न सहज भएको प्रमुख खनियाले बताए ।

उनले गत वर्षभन्दा यस वर्ष छिट्टै लक्ष्य पूरा हुने बताउँदै भने , “गत वर्ष माघसम्म खरिद गर्नुपरेको थियो, यस वर्ष पुससम्म पूरा हुने अनुमान छ, गत वर्षभन्दा मूल्य बढेको छ नै यस वर्ष बजार मूल्यभन्दा सरकारले बढी मूल्य निर्धारण गरेको छ ।” दैनिक सरदर छ देखि आठ क्विन्टल धान तौल गर्न सकेको प्रमुख खनियाको भनाइ छ ।

उनले चार ठाउँमा तौल गर्ने व्यवस्था मिलाए पनि प्रतिदिन एक ठाउँबाट २ सय ५० क्विन्टल मात्र तौल गर्न सकिएको बताए । उनले तौल गर्ने ठाउँ नहुँदा सर्वसाधारण किसानलाई मर्का परेको पनि स्वीकार गरे  । मजदूर र तौल गर्ने ठाउँ अभाव भएको उनको भनाइ छ ।

एउटा काँटाले दैनिक ४ सय  क्विन्टल तौल गर्नुपर्ने भए पनि कम तौल भइरहेको बताउँदै उनले लडियामा ल्याएका किसानलाई पहिलो प्राथमिकता दिने गरिएको बताए  । “लडिया तान्ने गोरु र राँगा भोकाउने भएकाले लडियामा ल्याएको धान सकभर सोही दिन तौल गरेर पठाउँछौँ”, प्रमुख खनियाले भने , “ट्र्याक्टरको पालो कम्तीमा दुई दिनपछि आउँछ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button