कास्की-२ उपनिर्वाचनमा ६३.४० प्रतिशत मत खस्यो,पुरुष भन्दा महिला बढी सहभागी

दीननाथ बराल,  पोखरा न्यूज – १४, मंसिर । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आज भएको निर्वाचनमा ६३.४० प्रतिशत मत खसेको छ ।

कास्की-२ मा ७१ हजार ८ सय ७१ मतदाता सङख्या मध्य शनिबारको उपनिर्वाचनमा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५ सय ६३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

निर्वाचनमा पुरुष भन्दा ८.७६ प्रतिशत अर्थात ४ हजार ३५ जना बढी महिला सहभागिता भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । कास्की उपनिर्वाचनमा ३८ हजार ७ सय ६४ महिला मतदाता सङख्या रहेको छ भने ३३ हजार १ सय ६ पुरुष मतदाता सङख्या रहेको छ ।

महिला मतदाता पुरुषको तुलनामा ७.८६ अर्थात ५ हजार ६ सय ५८ जनाले बढी रहेका छन्। उनका अनुसार महिला ५४.३८ प्रतिशत अर्थात २४ हजार ७ सय ७९ र पुरुष ४५.६१ प्रतिशत अर्थात २० हजार ७ सय ८४ मतदानमा सहभागि भएका हुन्।

सम्पूर्ण मतपेटिका मुख्य निर्वाचन कार्यालयमा आएसंगै आज साझ सर्वपक्षिय र सर्वदलिय बैठक बसेर आजैबाट मतगणना समेत शुरु गर्ने तरखरमा आफुहरु रहेको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बताए ।

जिल्ला समन्वय समितिमा पहिलो चरणमा दुई ठाउँबाट मत गणना शुरु गर्ने भएकोे सहायक निर्वाचन अधिकृत उपाध्यायले बताए । उनका अनुसार आइतबार बेलुकासम्ममा सबैको साथ र सहयोग भएमा मत परिणाम आउने छ ।

बिहान ७ः०० बजेदेखि शुरु भएको मतदान आज साँझ ५ बजे सम्पन्न भएको हो । पोखरा महानगर भित्रका ११ वटै वडामा ३२ मतदान स्थल मध्ये  ८२ मतदान केन्द्रमा छिटपुट घटना बाहेक सौहार्द पूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्र सुवेदीले बताए । कास्की- २ मा १० स्वतन्त्र सहित २१ जना उम्मेदवार रहेकाछन्।

२०७४ सालको चुनावमा वाम गठबन्धनका रवीन्द्र अधिकारीले जित हासिल गरेका थिए । उनले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ मत पाएकोमा चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । सो बेलाको चुनावमा ७० हजार ६ सय ५१ मतदातामध्ये ४९ हजार ९ सय मत खसेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button