४ वटा वडाको मतगणना सकिँदा भट्टराई दोब्बर मतले अगाडि

दीननाथ बराल, पोखरा न्यूज – १५, मंसिर । नेकपाकी उम्मेदवार विद्या भट्टराईले पोखरा महानगरपालिकाका ४ वटा वडाको मतपरिणाम आएसँगै आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई दोब्बर भन्दा पनि बढी मत अन्तर पछाडि छोडेकी छिन् ।

वडा नम्बर ३३, २१, २० र १७ को मत परिणाम सार्वजनिक भएसँगै भट्टराईले मत अन्तर दोब्बर भन्दा बढी फराकिलो पार्न सफल भएकी हुन् । ४ वटा वडाको मतपरिणाम सार्वजनिक हुँदा काँग्रेसका उम्मेदवार पौडेललाई भट्टराईले ५ हजार ८ सय ३७ मतले पछाडि छोडेकी हुन् । अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार भट्टराईले ११ हजार ७ सय ३० मत ल्याउदा काँग्रेस उम्मेदवार पौडेलले ५ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् ।

कास्की क्षेत्र-२ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि शनिबार भएको निर्वाचन पश्चात आज बिहान १ः४० बजे देखि मतगणना सुरु भएको हो । अहिले पोखरा १६ को मत गणना जारी रहेको छ । २१ जना चुनावी मैदानमा उत्रिए पनि मुख्य प्रतिस्पर्धा नेकपाकी उम्मेदवार भट्टराई र काँग्रेसका उम्मेदवार पौडल बीच देखिएको छ ।

समाजबादी पार्टीका धर्मराज गुरुङले ४ वटा वडाको मतपरिणाम अनुसार ४ सय ८, साझा पार्टीकी रजनी केसीले २ सय ८२ ,रापप्राका रोमबहादुर भण्डारीले २ सय ४१, राप्रपा संयुक्तकी गंगा मल्लले ७३, मंगोल नेश्नल अर्गनाइजेशनका रियाज गुरुङले ७३ मत, स्वतन्त्र उम्मेदवार कमलजंंग कुंवरले २८ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारले २५ मतसम्म प्राप्त गरे भने स्वतन्त्रका दुई जना उम्मेदवारले अहिलेसम्म खाता खोल्न सकेका छैनन्।

त्यसै गरी नेकपा मालेका टेकनाथ भण्डारीले १६, देशभक्त्त समाजबाट वीरबहादुर विश्वकर्माले ३, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्ण बहादुर रानाले १२, नेपाली कागेंस (बि.पी) बाट चन्द्रबहादुर रानाभाटले १२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार दीपक रेग्मीले ४, जमुना शर्माले २५, नवराज बाँस्तोलाले ४, सुनिल भुषालले ३, लक्ष्मी कुमारी भुजेलले १, रण बहादुर दमैले ३ मत प्राप्त गर्दा यज्ञ प्रसाद पंगेनी र उमनाथ गौतमले एक मत पनि प्राप्त गर्न सकेका छैनन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button