शिक्षक हुँदै प्रदेशसभाको यात्रा

पोखरा न्यूज – १६, मंसिर । साँढे दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा काँग्रेसका तारानाथ पौडेलसँग गाउँपालिका अध्यक्ष पदमा ७ सय  मतले पराजित राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य खिमविक्रम शाही प्रदेशसभा निर्वाचनमा भने विजयी भएका छन  ।

शाही प्रदेशसभाका लागि वाम गठबन्धनको उम्मेदवार थिए । बागलुङ क्षेत्र नं. २ (ख) मा तत्कालीन आम निर्वाचनमा प्रदेशसभामा निर्वाचित टेकबहादुर घर्तीको कलेजोसम्बन्धी रोगले निधन भएपछि एक वर्षदेखि पद रिक्त थियो । शनिबार भएको निर्वाचनमा शाहीले काँग्रेसका जितबहादुर शेरचनलाई पराजित गरेका हुन् ।

शाहीले ११ हजार २ सय ३५ र शेरचनले नौ हजार १ सय ३८ मत पाए ।  राष्ट्रिय जनमोर्चाका सचिवालय सदस्य रहनुभएका शाही विद्यालय तहमा पढ्दापढ्दै २०४० सालमा अखिल छैटौँको राजनीतिमा लागे । त्यसपछि उनी विद्यार्थी सङ्गठन हुँदै युवक सङ्गठनमा पनि सक्रिय भएर काम गरे ।

विसं २०५२ मा राजमोको जिल्ला कमिटी सदस्यमा नियुक्त हुनुभएका शाही तीन कार्यकालसम्म जिल्ला सदस्यमै रहे । गत अधिवेशनमा सचिवालय सदस्यमा पुगेका शाही प्रदेशसभा निर्वाचनमा विजयी भए ।

स्थानीय तहमा पराजित भए पनि निरन्तर सङ्गठनमा लागेको र जनतासँगै एकाकार भएकाले विजयको माला पहिरिन सफल भएको उनको प्रतिक्रिया छ । उसो त उनी प्रभा माध्यमिक विद्यालयमा शिक्षक हुँदाको सम्बन्धले पनि गण्डकी प्रदेशसभामा पुग्नलाई बाटो खुलेको बताउछन  ।

निर्वाचनमा शाहीले कृषिको विकास र आधुनिकीकरणमा भूमिका खेल्ने योजना बनाएका थिए । पश्चिम बागलुङमा उनको यही योजना बिकेको छ । पश्चिम बागलुङको पुरानो खेती तथा कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने, त्यस क्षेत्रमा शिक्षा र सञ्चारको पहुँच पुर्याउनेलगायतका काम गर्ने उनका चुनावी नारा थिए ।

सङ्घीयताविरोधी राजमो र सङ्घीयता पक्षधर नेकपाबीचको तालमेलबाट निर्वाचित भएकाले यसपछिको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ भन्ने चाहीँ हेर्न बाँकी रहेको पश्चिम बागलुङका मतदाताको भनाइ छ । लामो समय सर्वसाधारणको तहमा भिज्नुभएका शाहीबाट पश्चिम बागलुङले धेरै आशा गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button