साग महिला भलिबलमा नेपाल रजतमा सीमित, भारतले स्वर्ण जित्यो

पोखरा न्यूज – १७, मंसिर ।   १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलमा इतिहास रच्ने सुन्दर मौका खेर फाल्दै नेपाली टोली भारतसँग पराजित भएको छ । आज भएको फाइनल खेलमा नेपाललाई ३-२ को सेटमा पराजित गर्दै भारतले स्वर्ण पदक पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको फाइनल खेल निकै रोचक रह्यो । पहिलो सेटमा खासै राम्रो नखेलेको नेपालले सेट २५-१७ ले गुमाउन पुग्यो । खेलको सुरुआत राम्रो गरेपनि सेट अघि बढ्दै गर्दा भारतले खेलमा पकड जमाउँदा नेपालले पहिलो सेट हार्न पुग्यो । दोस्रो सेटमा भने नेपालले दमदार पुनरागमन गर्यो । निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट पेन्डुलुम झै दुई टोलीतिर पालैपालो ढल्केको थियो । तर अन्तिम समयमा टिम कम्पोजर कायम राख्दै नेपालले दोस्रो सेट २५-२३ ले आफ्नो बनायो ।

दोस्रो सेट जितेर उच्च मनोबल बनाएको नेपाली टोलीको सकारात्मक सोच खेलमा झल्किन पुग्दा नेपालले तेस्रो सेट पनि २५-२१ ले आफ्नो पक्षमा पार्यो । निकै सुन्दर खेल पस्किएको नेपालले यस अघि समूह चरणमा भारतसँग बेहोरेको सोझो सेटको हारमा देखिएका गल्तीहरु सच्याउँदै भारतको सटहरु रोकेर राम्रा स्पाइकका अवसरहरु सिर्जना गर्यो ।

चौथो सेट भने भारतको नाम रह्यो । नेपाली टोलीलाई सम्हालिने कुनै मौका नदिई भारतले तेस्रो सेट २५-२० ले जित्यो । सेटको मध्यसम्म १६-१४ को स्थितिमा रहेको भारतले नेपाली टोलीले लय गुमाएको फाइदा उठाउँदै सेटको अन्त्यमा ५ अङ्कको दुरी कायम गर्यो ।

निर्णायक सेटमा पनि नेपालले दोस्रो र तेस्रो सेट जस्तो खेल खेल्न सकेन र अनन्त सेट १५-६ ले गुमाउँदै स्वर्ण पदक जित्ने सुनौलो मौका पनि गुमायो । अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले घरेलु भुमिमा घरेलु दर्शक सामु ऐतिहासिक स्वर्ण जित्ने मौका गुमायो । यस अघि बङ्गलादेशमा भएको एसियन सेन्ट्रल जोन प्रतियोगिता जितेको नेपाली टोलीले छोटो समय मै दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने अवसर यसै हारसँगै गुमाएको छ । महिला भलिबलको काँस्य भने श्रीलंकाले जितेको थियो ।

नेपाली टोलीमा कप्तान अरुणा शाहीसहित जानकी भण्डारी, प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, सलिना श्रेष्ठ, निरुता ठगुन्ना, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन र पुनम चन्द रहेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button