उत्तर कोरियाको चेतावनी : अमेरिका क्रिसमस उपहारका लागि तयार रहोस्

पोखरा न्यूज – १८ मंसिर । उत्तर कोरियाले अमेरिकालाई क्रिसमस उपहारका लागि तयार रहन चेतावनी दिएको छ । उपहार कस्तो हुने भन्ने चाहिँ वाशिंगटन र प्योङयाङबीच जारी वार्ताले निर्धारण गर्ने उत्तर कोरियाका एक उच्च अधिकारीले बताएका हुन् ।

ट्रम्प प्रशासनसँग एक वर्षका लागि गरिएको आणविक सम्झौता सकिनै लाग्दा आएको यस चेतावनीको अर्थ उत्तर कोरिया छिटै लामो दुरीका आणविक अस्त्र निर्माणमा फर्किन सक्ने हुन सक्ने बताइएको छ । पछिल्लो समय दुई देशबीचको छलफल निष्कर्षविहीन बन्दा उत्तर कोरियाले थुप्रै सानो दुरीका मिसाइल परीक्षण गरिसकेको छ ।

उत्तर कोरियाका उपविदेश मन्त्री रि थाइ सोङ्गद्वारा जारी वक्तव्यमा अमेरिकाले वार्ताको बहानामा उत्तर कोरियालाई झुलाउन खोजेको र अमेरिकी चुनाव र राजनीतिक अवस्थालाई प्रभावित पार्न चाहेको आरोप लागाइएको छ । रिले थपेका छन् क्रिसमस उपहार अमेरिकी छनोटको हुनेछ ।

सन् २०१७ मा अमेरिकालाई फोर्थ अफ जुलाईको उपहार भन्दै उत्तर कोरियाले पहिलो अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । अमेरिकाले भने उत्तर कोरियासँगको सम्बन्धमा कुनै खराबी नआएको बताएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनलाई केही दिन अघि फेरि माउण्ट पक्तुमा घोडा सवारी गरिरहेको तस्वीरहरुमा देखिएको थियो । यस सवारीलाई उनको ठुला निर्णय अघिको संकेतका रुपमा बुझ्ने गरिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button