स्वर्ण विजेता नेपालका कमल जारी सागमा कास्यमा सीमित

पोखरा न्यूज – २०, मंसिर । साग भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एकमात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारी जारी १३औँ संस्करणको भारोत्तोलन प्रतियोगितामा कास्यमा सीमित भएका छन् ।

पोखरामा आज भएको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कूल २५२ केजी तौलमात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लिन एन्ड जर्कतर्फ १४० तौल गरी कूल २५२ तौल भार बहन गरेका हुन् । पाकिस्तानी र श्रीलङ्काका खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लिन एन्ड जर्कमा दबाबमा परेका थिए ।

प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १ सय ४० र क्लिन एन्ड जर्कमा १ सय ५२ गरी कूल २ सय ९२ तौल उठाउँदै स्वर्ण जिते । यस्तै श्रीलङ्काका जेएसी लाक्मलले स्न्याचमा १ सय १९ र क्लिन एन्ड जर्कमा १ सय ४४ गरी कूल २ सय ६३ तौल उठाउँदै रजत जितेका छन् । प्रतियोगितामा पहिलो सहभागिता जनाएको भूटानका तर्फबाट वीरबहादुर लिम्बू चौथो भए ।

शुक्रबार नै पुरुष ७३ केजी तौल समूहमा नेपालले अर्को कास्य जित्न सफल भएको छ । नेपालका तर्फबाट प्रकाश केसी कास्य जित्न सफल भएका हुन् । प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जितेका छन् । भारतीय खेलाडीले स्न्याचमा १ सय ३५ र क्लिन एन्ड जर्कमा १ सय ६५ गरी कूल ३ सय  केजी तौल उठाउँदै स्वर्ण जितेका हुन् ।

यस्तै पाकिस्तानी खेलाडीले स्न्याचमा १ सय २८ र क्लिन एन्ड जर्कमा १ सय ५१ गरी कूल २ सय ७९ तौल उठाउँदै रजत र नेपालका प्रकाश केसीले स्न्याचतर्फ १ सय १५ र क्लिन एन्ड जर्क विधामा १ सय ५० गरी कूल २ सय ६५ तौल उठाएका हुन् । यसअघि उद्घाटनको दिन नेपालले एक स्वर्ण र दुई कास्य पदक भित्र्याइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button