एकै ठाउँमा रु १ करोडको सुन्तला उत्पादन

पोखरा न्यूज – २१, मंसिर । तनहुँको म्याग्दे गाउँपालिका – २ खानीगाउँका कृषकले यस वर्ष रु १ करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । उक्त ठाउँका शुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी र रामबहादुर थापाले रु १ करोड २० लाख बराबरको सुन्तला बिक्री गरेका हुन् ।

यस वर्ष शुकनारायणले रु ५० लाख, विश्वबहादुरले रु ४० लाख, निर्मलले रु १८ लाख र रामबहादुरले रु १२ लाखको सुन्तला बिक्री गरेका छन् । चालीस रोपनी क्षेत्रफलमा ८०० सुन्तलाको बोट रहेकामा ७०० सुन्तलाको बोटले उत्पादन दिएको स्थानीयवासी शुकनारायणले जानकारी दिए । श्रेष्ठले गत वर्ष रु ३१ लाख बराबरको सुन्तला बिक्री गरेका थिए ।

अर्का किसान विश्वबहादुरले ६०० बोट र रामबहादुरले ३५० बोटबाट आम्दानी गरेका छन्। कृषि ज्ञान केन्द्र तनहुका प्रमुख कुलप्रसाद तिवारीले यस वर्ष खानीगाउँमा राम्रो सुन्तला उत्पादन भएको बताए । ‘‘जिल्लाका केही ठाउँमा विभिन्न रोगका कारण सुन्तलाको बोट नष्ट हुने समस्या देखिए पनि म्याग्दे गाउँपालिकामा भने कुनै समस्या भएन’’, तिवारीले भने ।

सुन्तला उत्पादक कृषक विश्वबहादुरले रोगका कारण मात्रै नभई व्यवस्थापन कमजोर हुँदा पनि सोचे जति उत्पादन हुन नसक्ने बताए । अधिकारीले सुन्तला व्यवस्थापनका लागि मात्रै वार्षिक रु ५ लाखभन्दा बढी लगानी गर्ने गरेको बताए ।

तनहुँमा कूल १ हजार ६०० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको व्यास नगरपालिका– ११ तनहुँसुर, वडा नं १३ बेनीकोट, देवघाट गाउँपालिका – २, ३ र ४, आँबुखैरेनी गाउँपालिका – २ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भिमाद नगरपालिका–९ भानुमतीलगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।

जिल्लामा गत वर्ष रु २७ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यस वर्ष पनि सोही अनुपातमा सुन्तला उत्पादन हुने अनुमान छ । यहाँ उत्पादित सुन्तला पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँमा निर्यात हुँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button