भारोत्तोलनमा नेपाललाई पहिलो रजत पदक

पोखरा न्यूज – २१, मंसिर । १३ औं साग भारोत्तोलनअन्तर्गत नेपालले पहिलो रजत पदक जित्न सफल भएको छ ।  पोखरामा शनिबार भएको पुरुष ९६ केजी तौल समूहमा विशालसिंह विष्टले रजत पदक दिलाउन सफल भएका हुन् । योसँगै जारी संस्करणको भारोत्तोलनतर्फ नेपालले २ स्वर्ण, १ रजत र ९ कास्य जित्न सफल भएको छ ।

पुरुष ९६ केजी तौल समूहमा बंगलादेशका खेलाडी जाइरुल इस्लामले स्वर्ण जिते । उनले स्न्याचतर्फ १ सय २० र क्लीन एण्ड जर्कमा १ सय ४२ गरी कुल २ सय ६२ भार उठाउँदै स्वर्ण पदक जितेका हुन् ।

रजत दिलाउने नेपाली खेलाडी विष्टले स्न्याचमा १ सय ७ र क्लीन एण्ड जर्कमा १ सय ४० गरी कुल २ सय ४७ भार बहन गरे । १९ वर्षे विष्ट कञ्चनपुरका हुन् । चार वर्षदेखि भारोत्तोलन खेल्दै आएको बताउने उनले रजत दिलाउन सकेकोमा खुसी लागेको प्रतिक्रिया दिए ।

यस्तै, भारोत्तोलनमा पहिलो सहभागिता जनाएको भुटानले सो इभेन्टमा पहिलो कास्य जित्न सफल भयो । उसका लागि किन्ले ग्याल्सेनले कास्य पदक जितेका हुन् । उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ९० सहित कुल १ सय ७० भार उठाउन सके ।

उता, पुरुष १ सय २ केजी तौल समूहमा नेपालका तर्फबाट सन्देश गुरुङले कास्य जिते । प्रतियोगितामा पाकिस्तानी खेलाडी उस्मान अम्जाद राठोरले स्वर्ण र बंगलादेशले रजत पदक जित्यो ।  पाकिस्तानी खेलाडीले स्न्याचमा १ सय ५० र क्लीन एण्ड जर्कमा १ सय ८० गरी कुल ३ सय ३० तौल उठाउँदै स्वर्ण जितेका हुन् ।

यस्तै बंगलादेशका इस्लामले स्न्याचमा १ सय ८ र क्लीन एण्ड जर्कमा १ सय ४२ गरी कुल २ सय ५० भार बहन गरी रजत र नेपालका सन्देशले स्न्याचमा १ सय र क्लीन एण्ड जर्कमा १ सय ३५ सहित कुल २ सय ३५ उठाउँदै कास्य पदक दिलाएका हुन् ।

चितवन निवासी सन्देश नेपाल प्रहरीमा आबद्ध छन् । उनी आठौं राष्टिय खेलकुद प्रतियोगिताका स्वर्णधारी हुन् । यसअघि शनिबारकै खेलबाट नेपालले महिलातर्फ २ कास्य पदक जितिसकेको छ । नेपालको तर्फबाट तारादेवी पुन र लक्ष्मी वनले कास्य पदक जितेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button