पोखरामा ३ श्रष्टा एकैसाथ सम्मानित

आर.आर. पौडेल, पोखरा न्यूज – २१, मंसिर । पोखरामा शनिबार तीनजना श्रष्टा एकसाथ सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा भएको त्रिवेणी साङ्गीतिक साँझ कार्यक्रममा आयोजक त्रिवेणी सङ्गीतालयले सङ्गीतकार बी. बी. अनुरागी, गायक खिमकुमार गुरुङ र गीतकार आरजु विष्ट ‘सल्यानी’लाई एक साथ सम्मान गरेको हो ।

उनीहरुलाई नगद १० हजार रुपैयाँसहितको त्रिवेणी सङ्गीत सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । उनीहरुलाई जनसाँस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष खगेन्द्र राईले सम्मान गरेका हुन् ।  सम्मानित भएका अनुरागी २ दशकभन्दा लामो समयदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील छन् । बागलुङको भकुण्डेमा जन्मेका गायक, सङ्गीतकार, एरेन्जर र गीतकारको छवि बनाएका अनुरागीले पोखराबाटै आफ्नो साङ्गीतक यात्रा सुरु गरेका थिए ।

सोही पुरस्कारबाट सम्मानित भएका अर्का प्रतिभा खिमकुमारले ५० भन्दा बढी लोकगीत, भजन र गाउँका गीत गाएका छन् । उनको एउटा एकल एल्बम बजारमा आइसकेको छ भने एउटा एल्बम आउने तयारीमा छ । कास्कीकै सिक्लेसका गुरुङ सानैदेखि गायनमा लागे पनि औपचारिक रुपमा भने २०६२ देखि साङ्गीतिक क्षेत्रमा क्रियाशील छन् ।

दीपक भट्टराई स्मृति सङ्गीत पुरस्कारबाट सम्मानित भएका आरजु विष्ट ‘सल्यानी’ गीतकार तथा रेडियो अन्नपुर्णका समाचार संयोजक हुन् । झ्याम्म झ्याम्म…लगायत दर्जनौँ गीत र गजलका स्रष्टा सल्यानी २ दशकभन्दा लामो समयदेखि साहित्य, सङ्गीत र सञ्चारकर्ममा क्रियाशील छन् । सङ्गीतकार दीपक भट्टराईको परिवारद्वारा स्थापित सो पुरस्कारको राशि पनि १० हजार नगदसहित सम्मान पत्र र दोसल्ला रहेको थियो ।

कार्यक्रममा पोखरा र काठमाडौँका विभिन्न कलाकारहरुको साङ्गीतिक प्रस्तुति मुख्य आर्कषणको रुपमा रहेको थियो । डेढ दशकदेखि पोखराको न्युरोडमा सङ्गीत प्रशिक्षण सञ्चालन गरिरहेको त्रिवेणी सङ्गीतालयले हरेका वर्ष त्रिवेणी साङ्गीतिक साँझ सञ्चालन गर्दै आएको सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button