ट्रकले बालिकालाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त, डिएसपीसहित कैयौं घाइते

पोखरा न्यूज – २२, मंसिर । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो । दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ट्रकमा आगो लगाइदिएका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिरहेको छ । स्थिति नियन्त्रणमा लिन गएका प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा डिएसपीसहित कैयौं घाइतेसमेत भएका छन् ।। आक्रोशित विद्यार्थीहरुले सडकमा रहेका गाडीमा समेत ढुङ्गा प्रहार गरेका छन् । कोहलपुरबाट नेपालगञ्ज आउँदै गरेको मालवाहक ट्रकले विद्यालयमा अध्ययनरत विद्यार्थी चन्दलाई ठक्कर दिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको ट्रक ना२ख ९४५९ नंको ट्रकको ठक्करबाट प्रकृतिको अवस्था यकिन भएको छैन । आफ्ना बुबासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो । जेब्राक्रसिङ नजिकबाट सडक पार गर्ने क्रममा सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा प्रकृतिलाई केही परसम्म घिसारेर लगेको थियो । “ट्रकले कुल्चँदा प्रकृतिको एउटा खुट्टा शरीरबाट अलग भएको छ । खुट्टाको हड्डी सडकमा छरपस्ट छ”, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिँदै भने ।

दुर्घटनामा प्रकृतिको बुबासमेत घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रकृति र उनको बुबालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ । विद्यालय प्राङ्गण नजिक भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थी तथा स्थानीयवासीले ट्रक नियन्त्रणमा लिएर तोडफोड तथा आगजनी गरेका थिए ।

लगत्तै आक्रोशित भएको भीडलाई मत्थर पार्न आएको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीमाथि समेत विद्यार्थी ढुङ्गा, इँट्टा प्रहार गर्दै आन्दोलित बनेका छन् । ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि आक्रोशित बनेका विद्यार्थीले अन्य सवारी साधनमाथि समेत प्रहार गरेका थिए । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ ।

आक्रोशित विद्यार्थीले नेपालगञ्ज–कोहलपुर रुटमा चलेका दर्जन गाडीमा तोडफोड गरिदिएका छन् । दुर्घटनापछि कोहलपुरमा धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । विद्यार्थीलाई प्रहरीले लाठी प्रहार गरेपछि आक्रोशित स्थानीय बासिन्दा र अभिभावक पनि भीडमा मिसिएका छन् ।

प्रहरीले भीडलाई हटाउन हवाई फायरसमेत गरेको छ । आक्रोशित विद्यार्थीले सडक ठप्प पारिदिएका छन् भने कोहलपुर बजार बन्द भएको छ । प्रहरीले थप टोली मगाएर भीडलाई नियन्त्रण गर्ने प्रयास गरेको छ । झडपमा केही प्रहरी र विद्यार्थी घाइते भएका छन् । स्थिति थप नियन्त्रण बाहिर जान नदिन प्रशासनले कर्फ्यु लगाउने तयारी गरिएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button