न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा पाँचको मृत्यु

पोखरा न्यूज – २३, मंसिर।  न्युजिल्यान्डको ह्वाइट टापुमा रहेको ज्वालामुखी विस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ भने कैयौं टापुमा फसेको अनुमान गरिएको छ । टापुमा अझै खतरा भएकाले उद्धार कार्य शुरु भइसकेको छैन ।

ज्वालामुखी विस्फोट भएको बेला टापुमा ५० जना जति पर्यटक रहेको बताइएको छ । ५० मध्ये २३ जनालाई टापुबाट निकालिएको र ती मध्ये ५ को मृत्यु भएको जनाइएको छ । टापुमा बेपत्ता भएकाहरुसँग कुनै सम्पर्क स्थापित गर्न नसकिएको त्यहाँका प्रहरी कमिस्नर जोन टिम्सले बताएका छन् ।

मृत्यु हुनेमा न्युजिल्यान्डका नागरिक र विदेशी नागरिक दुबै रहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका १८ जनामध्ये पनि केही सामान्य देखि गम्भीर घाइते भएका छन् । ज्वालामुखीको धुवाँ आकाशमा १२ हजार फिट माथिसम्म पुगेको थियो ।

घटनापछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विस्फोटमा आफ्नो देशका नागरिक पनि परेको पुष्टि गरेका छन् । त्यस्तै न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले पनि घटनामा विदेशी नागरिक परेको जनाएकी थिइन् ।

विस्फोट भएको उक्त ज्वालामुखी न्युजिल्यान्डकै सबैभन्दा सक्रिय ज्वालामुखी हो । उक्त वाकारी ज्वालामुखी १५० हजार वर्षको ज्वालामुखी गतिविधिबाट निर्माण भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button