दुलेगौडा–हर्कपुर मोटरमार्गमा कालोपत्रे शुरु

पोखरा न्यूज – २४, मंसिर । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ स्थित वनकेवाबाट शुरु हुने दुलेगौडा–हर्कपुर मार्गमा कालोपत्र शुरु गरिएको छ । ट्र्याक खुलेको २४ वर्षपछि उक्त मार्गमा सोमबारदेखि कालोपत्र शुरु गरिएको हो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २५ करोडको लागतमा उक्त मार्गमा कालोपत्र शुरु भएको हो । भौतिक पूर्वाधार विकासमन्त्री एवं गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले उक्त मार्गमा कालोपत्रको कामको शिलान्यास गर्दै तोकिएकै समयमा गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए । प्रदेश सरकारले भौतिक पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राखेको बताउँदै विकास निर्माणमा ढिलासुस्ती र बहानाबाजी नचल्ने बताए ।

प्रदेशसभा सदस्य आशा कोइरालाले सो सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताए । उनले दुलेगौडा–हर्कपुर मार्गमा कालोपत्र गर्ने वर्षौँदेखिको चाहना अब पूरा हुने क्रममा रहेको बताए । पूर्वाधार विकास कार्यालय नवलपुरले सडक कालोपत्रका लागि शङ्कर माली कन्स्ट्रक्शन प्रालिसँग सम्झौता गरेको छ । रु २५ करोड १० लाख ६० हजारको लागतमा १० किमी मोटरमार्ग कालोपत्र हुन लागेको कार्यालयका दमौली एकाइ प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए ।

विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको उक्त मार्गमा विसं २०७८ माघ १० गतेसम्म कालोपत्र सम्पन्न गर्ने म्याद छ । शुक्लागण्डकी नगरपालिका–म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त सडकको दूरी २३ किमी छ । पहिलो चरणमा १० किमी सडक कालोपत्र हुनेछ । सडकको ८ देखि ९  मिटर चौडाइमा साढे ५ मिटरको कालोपत्र हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button