सहरी उत्थानशीलता परियोजना सञ्चालन गर्न बेलायत र पोखराबीच सम्झौता

पोखरा न्यूज – २४, मंसिर । पोखरा महानगरपालिका र बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआइडी) बीच नेपाल सहरी उत्थानशीलता परियोजना (एनयूआरपी) सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पोखरा महानगरपालिकाको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र बेलायतको डिएफआइडीको तर्फबाट उत्थानशीलता तथा समावेशीता टोली प्रमुख साइमन लुकासले हस्ताक्षर गरेका हुन् । यो परियोजनाको मुख्य उद्देश्य आर्थिक वृद्धि र अवसरहरुलाई समन्यायिक वितरणमा सहयोग पुर्याउने रहेको छ । सक्षम संस्था र दीगो विकासको माध्यमबाट भविश्यमा आइपर्ने चुनौतीहरुलाई सहजतापूर्वक व्यवस्थापन गर्न परियोजनाले सघाउन पुर्याउने विश्वास महानगरले लिएको छ ।

विशेष गरी आर्थिक रुपमा पोखरालाई समृद्ध, सुसंस्कृत र आधुनिक सहर निर्माणमा यो परियोजनाले प्राविधिक रुपमा सहयोग गर्ने सम्झौता पत्रमामा लेखिएको छ । सम्झौता भएको मितिले ४ वर्ष ६ महिना सम्म महानगरपालिकाको नेतृत्व र स्वामित्वमा सञ्चालन हुुने कार्यक्रममा प्राविधिक सहयोग डिएफआइडीले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

कार्यक्रममा परियोजनाका राजीतिक सल्लाहकार तथा नेपाल सरकारका पूर्व सचिव कृष्ण ज्ञवालीले यो परियोजनाले विशेष गरी आर्थिक अवसरको विविधिकरण, लगानीको आवश्यकता, वातावरण मैत्री लगानी, सहरी सुशासन, स्थानीय सरकारको संस्थागत क्षमता बढाउनका परियोजनाले प्राविधिक सहयोग उपलब्ध गराउने उनले बताए । उनका अनुसार दीगो सहरी विकास, लगानी सहजीकरणका निम्ति संस्थागत प्रभावकारितालाई पनि परियोजनाले ध्यानमा राखेर काम गर्ने बताए ।

दीगो विकासको लागि एउटा वडामा संवेदनशील भूउपयोग नमुना योजना कार्यान्वयन, भवन निर्माणको नियम पालनामा सुधार, पूर्वाधार विकास परियोजनाहरुको तयारी तथा वाह्य लगानी भित्र्याउने वातावरण बनाउन पनि परियोजनाले सघाउने ज्ञवालीको भनाइ छ ।नगरपालिकाको विकासको दीर्घकालीन सोंच तथा रणनीतिमा सहयोग, सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुधार कार्य सञ्चालन, राजश्व सुधारको योजना, लैंगिक समानता तथा समाजिक समावेशीकरणलाई प्रवद्र्धन गर्न महानगरले बनाएका योजनामा यो परियोजनाले प्राविधिक रुपमा सघाउने ज्ञवालीले बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले बेलायतसँग पैसा भन्दा पनि पोखराको दीगो विकासको योजनामा डिएफआइडीसँग प्राविधिक सहयोग लिन सम्झौता गरेको बताए । उनले पोखरालाई कार्बन फ्री सिटी बनाउन सकिने सम्भावना रहेकोले परियोजनासँग मिलेर नगरपालिकाले काम गर्ने बताए । ‘तत्कालै सम्भव नभएपनि अहिले नै काम सुरु गरियो भने केही वर्षमा पोखरालाई कार्बन फ्री सिटी बनाउन सकिन्छ,’ जिसीले भने,‘ विशेष गरी वातावरण मैत्री दीगो विकास र आर्थिक समृद्धमा परियोजनाले सघाउने विश्वास लिएको छु ।’

पोखराले दीर्घकालीन योजनासहित वातावरण मैत्री विकासका जोड दिएकाले परियोजनाले त्यसमा सहयोग पुर्याउने भनाइ जिसीको छ । कार्यक्रममा पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले दीगो विकाससँगै सुरक्षित र सुसंस्कृत सहर बनाउन परियोजनाले सघाउने बताइन् । पोखरालाई स्मार्ट सिटी बनाउन चाहिने आवश्यक पूर्वाधारमा परियोजनाले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

डिएफआइडीका उत्थानशीलता तथा समावेशीता टोलीका प्रमुख साइमन लुकासले पोखराले कृषि र पर्यटनको क्षेत्रलाई अझ उजागर गर्नुपर्ने बताए । उनले पोखरार्ला समृद्ध र समुन्नत सहर बनाउने योजनामा परियोजनाले प्राविधिक सहयोग गर्ने बताए । व्यक्तिले आफ्नो कामबाट अवकास लिएपछि आनन्दसँग बस्ने ठाउँका रुपमा पोखरालाई विकास गर्न सकिने भनाइ उनको छ ।

पोखरालाई समृद्ध र आधुनिक सहर बनाउन सके कामबाट अवकास लिएका विश्वका धेरै व्यक्तिहरु बस्नका लागि यहाँ आउने उनले विश्वास व्यक्त गरे । परियोजनाका सदस्य एलिनाले पोखरालाई समृद्ध र सुदृढ सहर बनाउन बेलायतले पनि सहयोग गर्ने बताइन् । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी भरतराज पौडेलले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button