पोखरामा अन्तर्राष्ट्रिय मान्यताप्राप्त कफी एकेडेमी सञ्चालनमा

पोखरा न्यूज – २६, मंसिर ।  कफी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र कफी व्यवसायलाई प्रवर्द्धन  गर्ने उद्देश्यका साथ पोखरामा अन्तर्राष्ट्रिय मान्यताप्राप्त वैज्ञानिक प्रविधियुक्त कफी एकेडेमी अफ एक्सलेन्स नेपाल सञ्चालनमा आएको छ ।

एकेडेमीको उद्घाटन कार्यक्रममा आज राष्ट्रिय चिया तथा कफी बोर्ड केन्द्रीय कार्यालयका निमित्त कार्यकारी प्रमुख दीपक खनालले नेपालमा कफीको निकै राम्रो सम्भावना भए पनि यो क्षेत्र व्यापकरूपमा विस्तार हुन नसकेको बताए ।

कफीमा आत्मनिर्र्भर भएर विदेश निर्यात गर्नसक्ने सम्भावना प्रशस्त भए पनि यस क्षेत्रप्रति सरोकारवालाको चासो बढ्न नसकेको उनको भनाइ थियो । कफीको व्यावसायिकता र कफीका लागि दक्ष जनशक्ति उत्पादन गर्न एकेडेमीले भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला कफी व्यवसायी सङ्घका अध्यक्ष एवं कफी कृषक विश्वबन्धु पोखरेलले पछिल्लो समय कफीप्रति धेरै किसानको रुचि बढ्दै गएको भन्दै व्यावसायिकतातर्फ उन्मुख भएको धारणा राखे । उनले सम्भावना प्रशस्त भएकाले युवालाई समेत कफी कृषितिर आकर्षण गर्नुपर्ने बताए  ।

एकेडेमीका सञ्चालक एवं कफी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य सरोज श्रेष्ठले समयको मागअनुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तर सेवा प्रदान गर्ने र कृषि पर्यटन प्रवर्द्धन   गर्ने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याएको जानकारी दिए ।

कफी विज्ञ एवं प्राविधिक सल्लाहकार भोलाकुमार श्रेष्ठले नेपालमा उत्पादित कफी अन्तर्राष्ट्रियरूपमा उच्चस्तरको पाइए पनि नेपालमा कफी उत्पादन बढ्न नसकेको बताए । उनले भने, “माग बढी छ तर उत्पादन बढ्न सकेको छैन । हामीले उत्पादन वृद्धि गरेर गुणस्तर कायम गर्न सक्यौँ भने कफीबाटै आत्मनिर्भर बन्छौँ ।”

कार्यक्रममा कफी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरे नेपालमा पछिल्लो समय कफी संस्कृतिको विकास हुँदै गएको बताए  । अन्तर्राष्ट्रिय परीक्षणले नेपालको कफी विश्व बजारमा समेत उच्चस्तरको मानिएसँगै नेपाली कफीको माग दिन प्रतिदिन बढेको उनको भनाइ थियो ।

कफी विज्ञ टोड आर्नेटले नेपाल कफीको उर्वर भूमि भएको बताउनुभयो । सरोकारवालासँग सहकार्य र समन्वयबाट कफी उत्पादन बढाउन सके छिट्टै कफी आयात घट्ने सक्ने उनको विश्वास थियो । पछिल्लो तथ्याङ्कअनुसार नेपाली बजारमा वार्षिक एक हजार २६१ मेट्रिक टन कफी आयात भएको छ भने उत्पादन ५ सय १३ मेट्रिक टन मात्रै छ । निर्यात भने झण्डै १ सय  मेट्रिक टन मात्रै रहेको देखिन्छ ।

महासङ्घका सचिव एवं एकेडेमीका अध्यक्ष सन्तोष पोखरेलले नेपाली बजारमा कफीको माग बढ्दै गएकाले यसलाई व्यावसायिकरूपबाट गति दिन एकेडेमी सञ्चालनमा ल्याएको जानकारी दिए । उनले नेपालमा कफी संस्कृतिको विकास भएकाले अब कफीको जैविक स्वादलाई सहजरूपमा बिकाउन सकिने धारणा राखे ।

उनले भने , “हामी अन्तर्राष्ट्रिय जगत्भन्दा पहिला आफ्नै देशमा कफीको स्वादलाई बिकाउन चाहन्छौँ । नेपालमा जुन मात्रामा कफी आयात भएको छ, यसलाई विस्थापन गर्न जैविक कफीको उत्पादन बढाएर जानुपर्छ ।” अमेरिकाको विलियम्सबर्ग एकेडेमीसँगको सम्बन्धन र सहकार्यमा एकेडेमी सञ्चालनमा आएको उनले बताए  ।

उनले कफीको मूल्य शृङ्खलाअनुरूप विभिन्न चरणमा आवश्यक पर्ने नर्सरी, बोटबिरुवा, बगैँचा व्यवस्थापन, उत्पादन, प्रशोधन, बजारीकरण र गुणस्तर प्रमाणीकरण जस्ता कार्यमा आवश्यक पर्ने कार्यलाई सहज र सुलभ ढङ्गले व्यवस्थापन गर्दै तालिम एवं परामर्श एकेडेमीबाट हुने जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button