भारतमा विवादास्पद नागरिकता संशोधन विधेयक विरुद्धको प्रदर्शनमा २ को मृत्यु

पोखरा न्यूज – २७, मंसिर । भारतमा कडा विरोधबीच पारित भएको नागरिकता संशोधन विधेयकविरुद्ध गरिएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ ।

भारतको उत्तरपुर्वी राज्य आसाम र त्रिपुरामा उक्त विधेयक पारित भएसँगै शुरु भएको प्रदर्शनमा २६ जना घाइते भएका छन् भने २ हजार भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यहाँ कर्फ्यु लगाइए पनि हजारौंले कर्फ्युलाई अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

सडकमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने इन्टरनेट तथा सञ्चारसेवासमेत बन्द गरिएको छ । विरोध प्रदर्शनलाई विपक्षी काँग्रेस पार्टीले समर्थन गरेपछि आउने दिनमा आन्दोलन अझै चर्किने विश्वास गरिएको छ ।

के छ नागरिकता संशोधन विधेयकमा ?

हाल संशोधित नागरिकता विधेयकमा अफगानिस्तान, बङ्गलादेश र पाकिस्तानबाट आएका हिन्दु, शिख, बुद्धिस्ट, जैन, फार्सी र क्रिश्चियन समुदायका अल्पसंख्यक जातिका नागरिकलाई फास्ट ट्र्याकमार्फत नागरिकता दिलाउने प्रावधान राखिएको छ ।

अहिलेको कानुन अनुसार भारतको नागरिकता लिन भारतमा ११ वर्ष बसोबास गरेको हुनुपर्नेछ तर यस विधेयक पास भएसँगै यी समुदायका नागरिक ६ वर्ष मै नागरिकता पाउन योग्य हुनेछन् ।

सरकार उक्त प्रावधानलाई अल्पसंख्यक समुदायका मानिसलाई जातीय उत्पीडनबाट बचाउन ल्याइएको जनाएको छ । तर मुस्लिम समुदायका नागरिक भने यसमा आफुलाई समावेश नगरिएको र मुस्लिम समुदायलाई एक्लाउन खोजिएको भन्दै आन्दोलित छ । धर्मनिरपेक्ष देश भारतमा धर्मकै आधारमा नागरिकता दिन खोजिएको भन्दै विपक्षीले आन्दोलनलाई नेतृत्व गरेको छ ।

त्यस्तै आसाममा केही समय अघि सार्वजनिक गरिएको राष्ट्रिय नागरिक रजिस्ट्रारबाट असन्तुष्ट पक्षहरु पनि आन्दोलनमा सरिक भएका छन् । भाजपाको सरकारले सार्वजनिक गरेको उक्त रजिस्ट्रारमा कैयौं बङ्गाली भाषी हिन्दुहरु नै नअटाएपछि उनीहरु पनि आन्दोलनमा सरिक भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button