पोखरामा शुक्रवार २२.२ मिलिमिटर वर्षा, शनिवार पनि बर्षा हुने !

दीननाथ बराल, पोखरा न्यूज -२७, मंसिर । पोखरामा आज अत्याधिक वर्षा भएको छ । हिउँद शुरु भएसंगै शुक्रबार पोखरामा अत्याधिक वर्षा भएको जल तथा मौसम विज्ञान विभाग शाखा पोखरा कार्यालयले जनाएको छ ।

पोखरामा शुक्रबार २२.२ मिलिमिटर वर्षा भएको मौसमविद् सोनी गुरुङले बताइन्। शुक्रबार बिहानदेखि दिनभरी वर्षा भयो भने शनिबार समेत हल्का वर्षाको  सम्भावना रहेको उनले जनाइन्। पोखरामा पानी परेसंगै चिसो बढेको छ । चिसो  बढेसंगै बजारमा चहलपहल पनि निकै कम भएको छ । पोखरामा शुक्रबारको तापक्रम न्यूनतम  १२ डिग्रि सेल्सीएस र अधिकतम  १३.७ डिग्रि सेल्सीएस रहेको मौसमविद् गुरुङले जनाइन्।

हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको कारण आइतबारसम्म वर्षा हुने  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको अधिकाशं भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केहि भू-भागमा वर्षा भैरहेको छ भने उच्च पहाडी र हिमाली भू-भागमा हिमपात समेत भएको छ ।

शुक्रवार राती देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेको कार्यालयले जनाएको छ ।

शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना रहेको छ । उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावनाको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ । शनिवार राति देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना रहेको उल्लेख गरिएको छ भने उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ ।

आइतबार दिउँसो देशको पश्चिमी भु-भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वका पहाडी भू-भागमा हल्का वर्षा हुने संभावना रहेको कार्यालयले जनाएको छ । हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button