पोखराको फेवा किनारमा साहित्य महोत्सव शुरु

आर.आर. पौडेल, पोखरा न्यूज – २७, मंसिर । पोखरा फेवातालको किनारमा आइएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करण शुरु भएको छ ।  तालबाराही चोक, लेकसाइड पोखरामा शुक्रबार एक भव्य समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सव उद्घाटन गरे ।

कार्यक्रममा गुरुङले नेपाल मात्र नभई एसियाकै महत्वपूर्ण एवम् भव्य महोत्सव आयोजना हुनु गण्डकी प्रदेशका लागि गौरवको विषय भएको बताए । साथै महोत्सवकै अवसरमा डिएससी जस्तो गरिमामय पुरस्कार वितरण हुनु झनै खुसीको विषय भएको उनको भनाइ छ । आफू साहित्यको विद्यार्थी नभए पनि यसको उत्थान, विकास र समृद्धिका लागि तत्पर रहेको उनले प्रतिबद्धता जनाए । सरकारले गर्नुपर्ने काम बुकवर्म फाउन्डेसनले गरेको र यो अति सराहनीय रहेको उनको भनाइ थियो ।

यसैगरी कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले लेखक, पत्रकार, समीक्षक आदिको भव्य सहभागिता रहने महोत्सव प्रायोजन गर्न पाएकोमा आफूहरुलाई खुसी लागेको धारणा राखे । मानिसले साहित्य, कला, संगीत आदिबारे चासो राख्ने र त्यही सर्वसाधारणको चासो सम्बोधन गर्ने काममा आइएमई लागिपरेको उनको भनाई छ । त्यसका लागि यस्ता महोत्सवमा सहयोग पुर्याएको उनले बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले महोत्सवले आउँदै गरेको नेपाल भ्रमण वर्ष २०२० मा पनि सहयोग पुर्याएउने बताए । यस्ता महोत्सव अन्य स्थानमा पनि आयोजना हुन सके त्यसले देशकै पर्यटकीय विकास हुने उनको भनाइ थियो ।

सुन्दास दिदीबहिनीको वेदवाचनसँगै शुरु भएको महोत्सवको सुरुवातमा पूर्वअर्थमन्त्री एवम् नागरिक अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचन रह्यो । उनले ‘लोकतन्त्रको विकास र सार्वजनिक दायित्व’ शीर्षकमा प्रवचन दिए । उनले विशेषगरी लोकतन्त्रको सुरुवात, नेपालमा यसको अवस्थासँगै यसको महत्वबारे आफ्ना धारणा राखे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button