बागलुङ, म्याग्दी र मुस्ताङमा विपन्नका २ सय ५२ घर बने

पोखरा न्यूज -२८ मंसिर। साविकको धौलागिरि अञ्चलका ३ जिल्लामा विपन्न दलित तथा सीमान्तकृत समुदायका २ सय ५२ घर निर्माण गरिएका छन् । सरकारले सञ्चालन गरेको ‘जनता आवास’ कार्यक्रमअन्तर्गत नयाँ घर निर्माण गरिएको हो ।

बागलुङ, म्याग्दी र मुस्ताङमा आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्म उक्त सङ्ख्यामा घर निर्माण गरिएका हुन् । भवन डिभिजन कार्यालय बागलुङका अनुसार बागलुङमा १ सय ५३, म्याग्दीमा १ सय १४ र मुस्ताङमा ३ घरको निर्माण कार्य सकिएर अन्तिम किस्ता भुक्तानी गरिएको छ ।

घर निर्माणको अन्तिम किस्ता पाउन घर तथा शौचालय निर्माण गर्नुपर्ने छ । बागलुङ र म्याग्दीमा २०७३ सालदेखि जनता आवास कार्यक्रम सञ्चालन भए पनि मुस्ताङमा भने आव २०७४ देखि शुरु भएको भवन डिभिजन कार्यालयले जनाएको छ ।

बागलुङमा आव ०७४/०७५ मा १ सय ९ घर छनोट भएका थिए । सोमध्ये १ सय ३ परिवारले सम्झौता गरेका थिए । म्याग्दीमा १ सय घर छनोट भएकामा ९४ ले निर्माणको लागि सम्झौता गरेका थिए । बागलुङमा ३२, म्याग्दीमा ५४ र मुस्ताङमा ४२ घर निर्माणाधीन अवस्थामा रहेका कार्यालयको तथ्याङ्क छ ।

हालसम्म बागलुङमा रु ३ करोड १७ लाख ४५ हजार ७ सय ७८, म्याग्दीमा रु २ करोड ६६ लाख २३ हजार २ सय ४० र मुस्ताङमा रु ८४ लाख ३३ हजार ३ सय ६ निकासा गरिएको छ । गत आवमा जनता आवास कार्यक्रमका लागि सरकारले रकम उपलब्ध नगराउँदा प्रभावित भए पनि यस वर्ष सरकारले रु १४ करोड २१ लाख प्रदान गरेको  छ ।

सरकारले बागलुङ र म्याग्दीमा २/२ सय र मुस्ताङमा ५० घर निर्माण गर्ने लक्ष्य लिएको छ । आव २०७५/०७६ र ०७६/०७७ मा कुनै पनि थप कार्यक्रम आएको छैन । लक्ष्यअनुरुपका घर निर्माण गर्न चाहिनेभन्दा बढी रकम चालू आवमा निकास भएको हुँदा उक्त रकम पनि विपन्न परिवारका घर निर्माणबारे छलफल भइरहेको कार्यक्रमले जनाएको छ ।

बढी निकासा भएको रकमले तीन जिल्लामा १ सय ५० देखि २ सय घर निर्माणको लक्ष्य लिइएको गण्डकीका प्रदेशसभा सदस्य तथा समितिका संयोजक इन्द्रलाल सापकोटाको भनाइ छ । “अहिले घर निर्माण गरेका लाभग्राहीलाई भुक्तानीको काममा छौँ”, उनले भने, “पुरानो काम समपन्न गरेर नयाँ छनोट तथा निर्माणको काम गर्नेछौँ ।”

सरकारले राष्ट्रिय दलित आयोगको सूचीमा सूचीकृत भएका दलित, विपन्न मुस्लिम तथा सालवसाली समुदायका लोपोन्मुख तथा अति सीमान्तकृत जाति तथा समुदायका विपन्न वर्गलाई आवासको व्यवस्था गर्न आव २०६६/०६७ देखि जनता आवास कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button