म्याग्दीको गलेश्वरमा फाइवर इन्टरनेट र फोन सेवा

 पोखरा न्यूज – ०३, पुष। नेपाल टेलिकमले तीव्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइवर टु द होम सेवा अन्तर्गत  पहिलो पटक म्याग्दीको गलेश्वरबाट आफ्नो सेवा सुचारु गरेको छ । पुरानो प्रविधिमा आधारित सेवालाई फाइवर  रुपान्तरण गर्दै म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारमा परिक्षण गरिएको सेवा सफल भएको हो ।

ग्राहकले पहिले सञ्चालन गरेकै फोन नम्बरलाई नै फाइवरमा रुपान्तरण गरि तीब्र गतिको इन्टरनेट र भ्वाइस सेवा विस्तार गरिएको नेपाल टेलिकम म्याग्दी शाखाका प्रमुख विष्णुदेव शाहले जानकारी दिए । उनका अनुसार, गलेश्वरमा तत्काललाई १२८ जना ग्राहकले फाईबर प्रविधिमा आधारित इन्टरनेट र भ्वाइस सेवा लिन सक्ने क्षमताको पूर्वाधार बनाईएको छ ।

पहिलो चरणमा ६४ जनाले एकैपटक फाइवर प्रविधिमा आधारित सो सेवा लिएका छन् । यस अघि टेलिकमले प्रयोग गर्दै आएको तामाको तारको कपर प्रविधिलाई फाइवर विस्तार गरि पूर्ण रुपमा हटाईसकिएको छ । नेपाल सरकारको डिजिटल नेपालको अवधारणा अनुसार फाइबर प्रविधि मार्फत भ्वाइस, इन्टरनेट र टिभि एउटै तारबाट ग्राहकलाई उपलब्ध गराउने लक्ष्य सहित सेवा सुचारु गरिएको टेलिकम बागलुङ शाखाका प्रमुख बरिष्ठ इन्जिनियर केशव शर्माले बताए ।

उनका अनुसार, गलेश्वरमा ग्राहकले पहिले प्रयोग गर्दै आएको ल्याण्डलाइन नम्बरलाई नै फाईबरमा रुपान्तरण गरि भ्वाइस र इन्टरनेट सहितको यो सेवा नेपालकै पहिलो हो । अहिले टेलिकमले फाइवर विस्तार गरेका अन्य स्थानमा नयाँ ग्राहकले मात्रै एकैसाथ सेवा प्राप्त गर्दै आएका छन । अहिलेसम्म अधिकतम ५ एमबिपिएस गतिको इन्टरनेट उपभोग गर्दै आएका ग्राहकहरुले फाइवर मार्फत आवश्यकता अनुसार ८ देखि ५५ एमबिपिएस सम्मको तिब्र गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्ने भएकाले बढी लाभदायि हुने इन्जिनियर शर्माले बताए ।

टेलिकमले निकट भबिश्यमै एउटै तारबाट भ्वाइस, इन्टरनेट र टिभिको समेत सेवा दिने गरि तयारी गरिरहेको छ । म्याग्दी सदरमुकाम बेनीमा समेत फाइवर विस्तारको काम सकिएको र ग्राहकले अहिले चलाएकै ल्याण्डलाइन नम्बर मार्फत नै फाइवर प्रविधिको सेवा लिन पाउने व्यवस्था सहित सेवा विस्तारको तयारी गरिएको छ ।

नयाँ ल्याण्ड लाईन नम्बर लिएर सेवा लिन चाहने व्यक्तिहरुलाई तत्कालै सेवा दिन सकिने भएपनि पुराना नम्बरबाटै सेवा लिन चाहनहरुको हकमा भने पुरानो प्रविधिलाई फाइवरमा रुपान्तरणको लागि केही समय लाग्ने टेलिकमले जनाएको छ । टेलिकमले म्याग्दीसंगै, बागलुङ, पर्वत र मुस्ताङमा समेत यो सेवा दिने तयारी गरेको छ । बेनीमा २ हजार ५ सय २० जनालाई तत्काल यो सेवा दिन सक्ने क्षमतामा फाइवर विस्तार गरिएको छ । म्याग्दीमा १३ हजार ९४ जना ल्याण्डलाईन फोनका ग्राहक रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button