हामी जहिले पनि पर्दा पछाडीका मानीस भयौ : रमेश विजी

राजाराम पौडेल, पोखरा न्यूज – ०५, पुष ।  लोकदोहोरी गीतका सर्जक हुन् रमेश बिजी । स्याङ्जाको पुतलीबजार नगरपालिकामा जन्मिएका विजीले लोकदोहोरी गीत तथा नेपाली गीतसंगीतको क्षेत्रमा सर्जक तथा गीतकारको रुपमा बेग्लै पहिचान बनाएका छन् ।

उनी हालै पोखरामा भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ केन्द्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका छन् । उनै सर्जक विजीसँग पोखरा न्यूजका संवाददाता राजाराम पौडेलले गरेको कुराकानी :–

सातौँ महाधिवेशनबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई हाँक्ने अवसर आयो, कसरी लिनुभएको छ यो जिम्मेवारीलाई ?

पूर्व अध्यक्षहरुले जुन काम गर्दै ल्याउनु भयो त्यसरीनै अगाडी बढाउँछु । उहाँहरुले जुन संस्कार राख्दै आउनुभएको छ त्यसलाई कायम राख्छु । हामी एउटा भवनसम्म आइपुगियो । सबै अध्यक्षले उत्कृष्ट काम गर्नुभयो । प्रतिष्ठानको संस्थापक सदस्य मध्ये म मात्र बाँकी थिए मैले अवसर पाए । यसलाई मैले अवसरका रुपमा लिएको छु । अवसरलाई सदुपयोग गर्नेछु । मेरा आफ्ना पनि सपना थिए प्रतिष्ठान गठन गर्नुमा । टिम पनि राम्रो बनेको छ । अब पूर्व अध्यक्षसँग सल्लाह लिएर कामहरु गर्न सक्छु भन्ने छ । यसलाई मैले अवसरकै रुपमा लिएको छुँ ।

सर्वसम्मत बन्ने प्रयास सफल भएन, मतदानबाट छानिुनु भयो, नतिजालाई कसरी लिनुभएको छ ? आकलन त्यस्तै थियो ?

आकलन त्यस्तो गरेको थिइन, संस्थापन पक्षको तर्फबाट तपाईले जिम्मेवारी लिनुपर्छ, तयारी गर्नुहोस् भन्ने कुरा मलाई पूर्व अध्यक्ष ज्यूहरुले, सहकर्मीसाथीहरुले भनीसकेपछि राम्रै होला चुनावै नहोला भन्नेमा थिए, प्रतिष्पर्धी विष्णु खत्रीजीलाई आगामी नेतृत्वको लागि तयार गरौ, उहाँ दूईवटा कार्यकाल बाहिर बस्नुभयो, म पछि उहाँलाई जस्तो सुकै त्याग गर्न पनि म तयार थिए । सह–अध्यक्षको कुरा पनि भयो । तर त्यो पास हुन सकेन । चुनावमा जानुपर्यो ।

उहाँलाई अब कसरी समेटेर लानुहुन्छ ?

मेरो उहाँबिचको आत्मियतामा ह्रास आउने छैन, सम्मानित ठाउँ दिएर राखेर काम गरौ भनेको छु, एउटा विभाग हेरिदिनु हुन्छ भन्ने आशा छ । हामी सबै मिलेर नै काम गर्ने हो ।

बद्री पंगेनीको पालामा भवन बन्यो, तपाईको पालमा के होला ?

भवन बन्यो, अब त्यो भवनलाई सिर्घान, आवश्यक सामाग्री जुटाउन छ, कलाकारको जीवनको अन्तिम घडीमा माल्यापर्ण गर्ने ठाउँ बनाउनुछ, तहाँ एउटा डबली बनाएर मृत्यु पश्चात पनि सबै कलाकारले भेटेर फूल चढाउने ठाउँ होस् भनेर डबलीको काम हुँदैछ । अब संगतिका कक्षा शुरु हुन्छन् ।

आर्थिक समस्याले गर्दाै चाहेर पनि अगाडी बढ्न नसकेका भाइबहिनिहरुलाई संगीतका कक्षाहरु सुरु गर्दैछौ । कलाकारहरु रमाउने कमाएको बचत नहुने कारण जीवनको उत्तरार्धमा निकै कष्टकर जीवन बिताउन बाध्य हुने भएकोले अब कमाएर हैन बचत गरेर धनी भइन्छ भन्ने हेतुले संगीत सहकारी सञ्चालनमा ल्याउदैछौ ।

नेपाली लोकदोहोरीलाई कसरी मर्यादित तरिकाले देश विदेशमा अगाडी बढाउने, यो झागिंएको मात्र छ । अब फूल्न फल्न बाँकी छ, यसमा फूल लागोस, फलोस् अत्यन्त स्वच्छ, अर्गानिक रुपमा यो जाहोस् भन्ने छ । लोक संगितलाई प्रयोगशाला बनाएर प्रयोग गरेर यसलाई विकाउको रुपमा मात्र जसरी अगाडी बढ्न खोजिरहेको छ त्यसलाई हामीले स्वच्छ संस्कार दिएर अगाडी बढ्ने कार्यमा निरन्तर लाग्छु, किनभने हिजो भाडाको घरमा बस्दा धेरै समस्या झेलियो, अब आफ्नो भवन छ अब त्यहाँ बसेर कार्ययोजनाहरु बनाउन सकिन्छ , राम्रो टिम आएको छ ।

गीत सगीतको क्षेत्रमा गायक बढी चिनिन्छिन्, तपाइ शब्द संकलक मार्फत परिचय बनाएको व्यक्ति, गायक र संकलकलाई एउटै क्याटागोरीमा राखेर हेरिने गरेको छैन अझै, तपाई नेतृत्वमा पुग्दा सर्जकहरुले आशा गरेका छन्, यसलाई कसरी हेर्नुभएको छ ?

हामी जहिले पनि पर्दा पछाडीका मानीस भयौ, कतिले चिन्नुहुन्न, परिचय गायकले दिनुपर्ने हुन्छ, कतिपय बेला गायकलेनै नाम लिन हिचकिचाउने अवस्था छ, यस्तो पिडा सर्जकहरुले भोगेका छौ, फेरी म त लाइभ दोहोरीमा गीत गाएर अत्यन्त प्रतिष्पर्धात्मक समयमा आएको मानिस हुँ । मैले राष्ट्रिय स्तरको दोहोरी प्रतियोगीतामा ह्याट्रिक गरेको थिए । पछि निर्णायक बस्न थाले । अनि सिर्जना तिर लागे । एउटा सर्जकले यो स्थान पाइरहदा सबै सर्जकले हाम्रो पनि प्रतिनिधित्व भयो भन्ने महशुस गर्नु भएको छ । एउटा राम्रो सिर्जना गायकले किनेर गाइदिए पो सर्जक बाच्थ्यो । तर उसलाई गाउन लाएर पैसा पनि उसैलाई दिएर सर्जक रिक्तो भएको अवस्था छ । ती सर्जकहरुको पिडालाई प्रतिष्ठान मार्फत गर्न सक्ने जती सम्बोधन गर्नेछु । समेट्ने प्रयास गर्नेछु ।

आजको यो अवस्थामा आउन कतिको सहजता थियो तपाईलाई ?

म स्याङ्जा पुतलबिजारमा जन्मिएको हुँ । निम्न वर्गिए परिवारमा । दुःखमानै हुर्किए । हुनत मैले त दुःख गरिन, बुबा आमाले दुःख गर्नुभयो । म पढाईमा अगाढी थिए । त्यसैले छात्रवृत्तिमा बोडिङ स्कुलमा पढ्न पाए । हिमालयन बोडिङ स्कुल स्याङजामा । त्यो बेलामा बोडिङ स्कुल पढ्ने अवसर पाउनु ठुलो कुरा थियो । त्यो संस्कारको शिक्षा नपाएको भए आज म यहाँ हुने थिइन । गाउँतिरनै कुनै काम धन्दामा अल्झिन्थेहोला । जीवन अर्कै पाटो तिर लाग्थ्यो । मैले स्कुल टप गरेपछि अवसर पाए । अनि आज यो अवस्थामा आइपुगे ।

बाल्यकालमा गीत संगीतमा रुचि कतिको थियो ?

थियो, गीत गाउने गर्थे, स्कुलका प्रतियोगीता, अतिरिक्त कृयाकलापमा, नाच प्रस्तुत गर्न जान्थ्यौ, मैले गीत गाउथे । कविता लेख्ने गर्थे, सरहरुले गाउन लाउनु हुन्थो । कलेजमा पनि गाउन लाउनुहुन्थो । पहिला म गीत गाएरै आएको हुँ । दोहोरी गीत प्रतियोगीता गीत गाउने मेरो क्षमता थियो, त्यसलाईनै मैले पछि ससर्जनामा कन्र्भट गरे । किनभने दोहोरी गाउने क्षमता आफैमा सिर्जना हो । त्यो क्षमता देखेर मलाई नारायण रायमाझीले, पुरुषोत्तम न्यौपानेले तपाई भित्र गीतको गहिराई छ त्यसलाई लेखेर प्रस्ुतत गर्नुहोस् भनेपछि मैले उहाँहरुको लागि लेख्न थाले ।

 

कुन कुन प्रतियोगीतामा भाग लिनु भएको थियो ?

पोखरामा तत्कालिन राजा विरेन्द्रको जन्मोत्सवमा अन्तर नगरपालिका स्तरिय राष्ट्रिय स्तरको दोहोरी प्रतियोगीतामा ह्याट्रिक गरे । २०५४,२०५५ र २०५६ सालमा । पोखरा उपमहानगरपालिका, पुतलीबजार नगरपालिका र भरतपुर नगरपालिकाबाट प्रतिनिधित्व गर्दै ह्याट्रिक गरेको हुँ । त्यतिबेला बाग्लुङ, बुटबल आदी नेपालको धेरै दोहोरी प्रतियोगीतामा भाग लिए । बिजेता बने । त्यतिबेला मसँग परेका सुरुका टिमले हाप्ने गर्थे । राम्रै क्रेज बनाएको थिए ।

अहिले दोहोरी प्रतियोगीता हुन छोडे भन्दापनि हुन्छ, एकदमे विरलै मात्रामा भएका छन् ? शैली पनि पहिलाको जस्तौ छैन नी ?

लोक दोहोरी प्रतिष्ठानले अर्ना रनिङ शिल्ड भनेर वर्षेनि गर्छौ । प्रतियोगीताको जुन रौनक छ । मजा छ । त्यो रेकडेर्ड गितमा छैन । अहिले युट्युबमा अत्याधिक दोहोरी गीत आइरहको छन् । दुईजनाले गाउने हालिहाल्ने गर्ने चलनले सस्तोपना आएको छ । जस्तो गीत गाएपनि दोहोरीका रुपमा प्रस्ुतत गरिने भएको छ । तर जोडका तोड अगाडी बसेर दुई प्रतिष्पर्धीकाबिच घमासान हुनु, गीतमानै वेदना पोख्नु, गीतमानै एकले अर्कोलाई क्षण खानी गर्नु, जिस्क्याउनु, लैजान खोज्नु, जान नमान्नु, हिजोको दिनमा दोहोरी गाएरै जितेर ल्यायो रे भन्ने सुनिन्थ्यो । त्यो जीत के थियो भने कुनै निर्णायक हुदैनथ्यो ।

कति दिन सँगै बस्यो गायो गाउँदा गाउदै माया बस्यो, छुट्न सकेन, त्यतिबेला जित्ने भनेको मन रहेछ भन्ने मलाई अहिले लाग्छ, छुट्टिन नसकेपछि मोहनी लाएजस्तो हुने, जता जाने हो जाउ, दुःख सुःख जस्तो सुकै होस् भनेर त्यस्तो मायाले बाध्ने खालको शब्दजाल, मोहनीमन्त्र जस्तै हो के दोहोरी गीत । दोहोरीका ती अनुभव मैले गाएर आउँदा थिए ।

अहिले पनि नयाँ प्रतिभा छन् । जस्तै कमला घिमिरे आउनुभयो । उहाँको लागि मैले चिया छानेको भन्ने गीत लेखे अत्याधिक चर्चा पनि भयो । वास्तविकमा उहाँले यसरी गाउनुपर्छ भन्ने लागेर मैले लेखेको थिए । दोहोरीको शिष्टता, मर्यादा, दोहोरी गाउनेले जहिलेपनि आफुसँग गाउनेलाई अपहेलना गरेर गाउनुहुदैन, जहिलेपनि आफ्नो प्रतिष्पधीबिच हजुर ज्ञानी, म अज्ञानी, हजुर सुखी म दुखी, हजुर जान्ने म के जान्ने हो र, हजुरको अगाडी म के रामे हो र, यस्तो कुरा गरेर गाउँदाखेरी दोहोरीको आत्मियता बढ्छ । अहिले झ्याप्पै झटारो हान्ने, पहिला पोइला गएको श्रीमती बन्ने, जिस्क्याउने, आरोप लगाउने, आक्रामक भएर मान मर्यादानै हराउने गरेर प्रस्तुत गर्ने चलन छ । त्यो शैली नै होइन दोहोरीको ।

चर्चामा फेरी आक्रामक रुपमा प्रस्तुत भएका, दोहोरी वास्तविक शैली भन्दा फरक गीतनै आएको देखिन्छ, यसलाई कसरी हेर्नु भएको छ ?

चर्चा र लोकप्रियता फरक छ, कला देखाउनु र चर्तिकला देखाउनु फरक छ, अहिले कलाको नाममा चर्तिकला बढी देखिन्छ, वास्तवमा हाँस्न हसाउन चर्चा चलाउन कस्ता कुराहरु भाइरल छन् बजारमा हेर्नुन । कति सत्य कुराहरु जे हो त्यो प्रष्ट नआउँदा मानिसले सत्य कुरा नपाएर बनावटी कुरामा बढी भुलेको पनि छ । हामीले त्यो प्यार्टनलाई पनि चेञ्ज गर्नुपर्छ । यो हो नी वास्तविकता भनेर बुझनेले अहिलेपनि हामी कतिपय खानेकुरा कति मिठामिठा खानेकुरा छोडेर ग्रिन टि अर्गानिक कुराहरु खोज्छौनी, कालान्तरमा यो भाइरल चिजहरुको जहिलेपनि एउटा सिमित समय त हुन्छ, त्यसपछि त्यो सत्य कुरा जे ओर्जिनल हो त्यो त सधैभरी निरन्तर एउटै धारमा बगीरहेको हुन्छ । चर्चातिर भन्दा पनि हामी लोकप्रियतातिर बढी लाग्नुपर्छ

तपाईले आफ्नो आवाजमा गीत रेकर्ड गराउनु भयो बी भएन, गीत लेख्ने मात्र हैन गाउछु पनि भन्ने लाग्दैन ?

मैले सुरुमा बढी लाइभ दोहोरी गरे । गीत पनि रेर्कड त गरे । तर जब व्यवसायीक भयो गीत संगीत अनि मैले गाउन छोडे । मैलै एटा गीत पुरुषेत्तम न्यौपानेको आवाजमा गाउन लाए भने मलाई त्यो गीत जीवन्त बाँचेको अनुभव हुन थाल्यो । मेरो सिर्जना लामो आयु बाच्नु प¥यो नी, मेरो क्षमता लेखनमा थियो भने गायकी क्षमता पूरुषोत्तम न्यौपानेसँग छ, राजु परियारसँग छ, नारायण रायमाझीसँग छ, मेरो क्षमता र उहाँको क्षमतालाई कसैको संगीतको क्षमतालाई तालमेल मिलाए भने त्यो परिपक्क भयो, जस्तै ओदानका तिन खुट्टाहरु एउटा कमजोर भयो भने ओदान कमजोर भयो नी, त्यसलाई तीनवटै, खुट्टा मजबुत हुनका लागि गीत शब्द र संगीत स्वर को सामज्यसता भएपछि त्यो वास्तवमा गीत हुन्छ ।

मैलै जहिलेपनि भन्छु गीतमा धित भएन भने गीत हुँदैन । गीत सुन्नेको धित मर्न जरुरी छ । त्यसकै लागि मैले आफुलाई गीत गाउन लगाइन । हुनत गाएपनि होला । चर्चा कम होला । पानी घट्ट २ लाख गयो । मैले गाएको भए । अलि कम जानेथियो होला । तर मैले त्यो बेला गरेको निर्णयले गीतलाई लोकप्रिय बनाउन सके जसले मलाई गीतकारको रुपमा स्थापित पनि ग¥यो । लाइछौ बेसन जस्तो गीत नारायण रायमाझीको लागि मैले लेखे, त्यो गीतले मलाई गीत लेखेर पनि काठमाण्डौमा भात खान पुग्छ भन्ने दाईले बनाइदिनु भएको हो ।

मलाई त्यतिबेला ८० हजार दिनुभएको थियो । त्यो समयमा । त्यसले मलाई प्रोत्साहन ग¥यो । गीतै लेखेर पनि बाच्न सक्छु भनेर संगीत संगत पनि हो । मैले सुरुमै दाइहरुको संगत गर्न पाए । त्यो कारणले म बाच्छु गीत मरे मरोस् भन्ने मलाई भएन,बरु म मरौला तर मेरो पुर्खाले छोडेको यो विरासतलाई रंगाएर बंगाएर निचोरेर चिथुरेर कोपरेर खान नपरोस् भन्ने हेतुले मैले पुगे पनि नपुगेपनि नेपालीगीत संगीतलाई आत्मसाथ गर्छु । मेरो क्षमता गायनमा भन्दा सिर्जनामा छ । म सिर्जनामानै रमाउछु ।

हालसम्म कती गीत रचना गर्नुभयो ?

ठ्याक्कै एकिन त गर्दिन, चलचित्र, सुगम संगीत, लोक दोहोरी, पर्यटन सम्बन्धी, शिक्षामुलक गीत, स्वदेशगान सहित गर्दा लगभग १ हजार जती छन् ।

अब आउने क्रममा रहेका गीत के के छन् ?

अहिले भर्खरै एउटा गीत रेर्कड भएको छ, पुरुषोत्तम न्यौपानेले दाइले गाउनुभएको छ कमल फूल भन्ने म्युजिक भिडियो बन्दैछ । त्यसबाहेक नारायण रायमाझीसँगको सहकार्यमा चलचित्र परदेशी २ का काम गर्दैछु । स्क्रिफ्ट लेख्ने अवसर पाएको छु । सुटिङको लागि जादैछ । परदेशीमा पनि अवसर पाएको थिए । सुगम संगीतमा रामकृष्ण ढकालको आवाजमा टिकामाला गीत गरे, चिया छानेर गीतले राम्रो गरेको छ, नयाँ भाइबहिनीहरुमा रमेश दाइको गीत गाउने हो भन्ने भएको छ । उहाँले गीत लेख्न भन्नुहन्छ । मैले कतिपय अवस्थामा उहाँहरुलाई सम्झाउछ । पैसालाई मात्र हेर्दिन । यो गीतमा धित भएन भन्छु । आएका कामकै आधारमा बाचेको छु ।

गीत लेखनबाट आम्दानी कस्तो छ ? सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट छु, किनभने मलाई यो पेशा कसैले करले लगाएको होइन, मेरो रहरले आएको हुँ, मेरो आत्मले रोजेको कुरा, मनले रोजेको कुरा नराम्रै भएपनि मैले स्विकार्नुपर्छ । यस्ले दिएको पिडा पनि मलाई सुखद पिडा हुन्छ, अरुले जर्बजस्त गरेको भए पो मलाई दुखद हुने थियो, मैले जे रोजे त्यो सँग रमाउने मेरो बाध्यता पनि हो । मेरो ठुलो चाहना पनि छैन । म जुन अवस्थाबाट हुर्किए । साँझ बिहान छाक टार्न पनि समस्या भएको बेलाबाट हुर्किएर अहिले यतिधेरै साथीहरुको माया ममता गर्दा एक्लै हुँदा पनि यति धेरै साथी छन् । यो नै मेरो सम्पत्ति हो भन्ने सोचेको छु । कमाई त्यस्तो यथेष्ट छैन । चलेका पर्फमरहरुलाई स्टेजमा जाँदा, दिनमा एउटा, दूईवटा कार्यक्रम गर्दा पैसा हात लाग्छ । तर सर्जकहरुमा त्यस्तो छैन । कतिले सर्जकलाई गीत लेखेपछि विर्सने पनि चलन छ । अब माग्नु पनि कतिपटक माग्नु । सिर्जनाकै के मुल्य हुन्छ र । मागीरहन पनि सक्न्नि । कतिले दिनुहुन्न । यथेष्ट त छैन तर मनले चाहेको पेशा भएको हुँदा सन्तुष्ट छु ।

विवाह गर्नु भयो ?

छैन ।

 परिवारमा को को हुनुहुन्छ ?

बुबा, आमा, भाई, बुहारी, भतिज अनि म ।

विवाह गर्ने सोच बनाउनु भएको छैन ?

मैले पनि यहि प्रश्न आफुलाई पनि कहिलेकाही सोध्छु, वास्तवमा भन्ने हो भने घर परिवारको अवस्था म जेठो छोरा, म पछि भाईलाई पनि पढाउनुपर्छ भन्ने थियो, एसएलसी पछि मैले पढेको स्कुलमा नै पढाउन थाले, विहान कलेज बढेर त्यहि पढाउने, होस्टेल बस्ने गर्थे, मैले पढाएका विदार्थी धेरै छन् । भाइ पढाउनु, बुबा आमालाई सहयोग गरौ भन्ने भएर त्यसैको व्यवस्थापनमा लागे । बैसालु समयमा हिडडुल गरेर रमाएर बस्न सक्ने अवस्था भएन । शिक्षक भएकोले त्यसको मर्यादा पनि कायम गर्नुपर्ने थियो । त्यो बेलाको समय अहिले महशुस गरिरहेको छु । प्रतिष्ठानको अध्यक्ष बन्ने धोको थियो पुरा गरे, अब विवाह गर्ने काम बाँकी छ ।

कहिले जुर्ला लगन ?

लगत त हो, ठ्याक्कै भन्न त सक्दिन मिति तोकरे । गर्न चाहि गर्छु अब ।

कलाकारितामा अगाडी बढेका मानिस, अफयर त चलेको छ होला है ?

त्यस्तो छैन, त्यो लेखन पनि होला, जुन टाइममा त्यसरी हिडियन, मानसिक रुपमा बुबा ममीको पनि चाहना छ, अरु सबै भयो यो भएन भन्दा मलाईपनि ढिलो गरेकी भन्ने भएको छ । मानसिक रुपमा तयार भएको छु । अफयर भन्ने चाहि छैन । अब मलाई पनि नेतृत्व गर्ने मानिस चाहिएको छ ।

प्रेम प्रस्ताव राख्ने थिएनन् र ?

किन नहुनु, कसको हुदैन र, त्यो कति–कति थिए, यति धेरै माया पाएको म पनि एउटा सर्जक हो, असाध्य राम्रो फ्यान फलोइङ । कतिपय कुरा मेरो स्वभावले पनि होला । म धेरै नबोल्ने नेचरको भएकोले कतिपयले मनले चाहेर पनि मलाई भन्न सक्नु हुन्थिएन । मेरो ग्रह नै त्यस्तै टाइपको थियो । त्यसैले प्रस्ताव राख्न सकेनन् । सुरुदेखिनै यो क्षेत्रमा अभिभावकत्व गर्दै आइयो । धेरै त्यस्ता घटना छन् । चिठिका कुरा, पर्खाइका कुरा पनि छन् । सबै सित माया हुन्छ तर विवाह हुदैन । मैले पनि धेरैलाई माया गर्छु । विवाहको हिसाबले अब सोच्नुपर्ला ।

तपाईको मन कोमल छ की कडा ?

मन कोमल छ, अत्याधिक धेरै रुन्छु म, त्यो पनि एक्लै, मलाई दुःख पिडाले भन्दा पनि मायाले बढी रुवाउँछ, घरपरिवार, साथीभाईको मायाले, त्यस्तो बेलामा म कलपना मात्र गरेपनि रुन सक्छु । कतिपय सिर्जना गर्दा रोयर सिर्जना गरेको छु । परदेशी चलचित्रमा रहेको कालो बादल निलो आकाश गीत लेख्दा खेरी धेरै चोटी रोयर गीत छोडेर बसेको छु ।

पानी घट्टगीत लेख्दा आँखाभरी आशु पारेरै लेखे को हुँ । द्धन्द्धकालको बेलामा । त्यसले गर्दा मन अत्यन्त कोमल छ । म हस्पिटल रहेको विरामीलाई गएर भेट्न सक्दिन । असाध्यै बाध्यात्मक परिस्थितमा जाने हो । मन र अनुहारमा पनि खुशी हुँदैन । असमायिक कसैको निधन भइसकेपछि उहाँको किरियामा बसेको मानिससँग बसेर के भन्ने कसरी प्रस्तुत हुने भनेर मेरो एकदम मन डराउछ । नजाम भन्ने पनि हैन जानै नसक्ने त्यस्तो खालको । चर्को आवाज भयो भने म एकदमै डराउछु ।

बसाई काठमाण्डौमा स्थायी हो की अस्थाई ?

बसाई अस्थाई हो, आफ्नै घरवेटीको घरमा बस्छु (हाँस्दै), मेरोघर जे भनेपनि प्रतिष्ठानमै आवद्ध छु ।

प्रतिष्ठानको शाखा सबै जिल्लामा पुगेको छैन, ५८ जिल्लामा मात्रै छ, अब सबै जिल्लामा नपुग्ने ?

यो विस्तारै हुँदै जान्छ, हामीले खोज्दै छौ, कतिपय ठाउँमा दोहोरी नै नचल्ने पनि छ, दोहोरी गीत दोहोरो नै नहुने अर्कै किसिमले प्रस्तुत हुने, कति ठाउँमा त कलाकारनै पाउदै पाइन्न, अन्त बाट त्यहाँ काम गर्नलाई गाह्रो छ । साथीहरु भएनै संरचना हुने हो । जस्तो हामी विदेशमा गइसक्यौ नी, कतार, दुवई, कोरिया, जापान सहित ८ देशमा, दोहोरीका खाटी कलाकार खाडी मुलुकमा हुनुहन्छ ।

मन हुँदाहुदै पनि प्रतिष्ठानमा यहाँ आएर बस्न सक्नु भएको छैन । उहाँ गएर हामीले संरचना बनायौ । म विदेश विभाग प्रमुख हुँदानै विदेशमा पुगेर गठन गरेर आए । अहिले साथहिरु प्रतिनिधि बनेर आउनुभयो दुईजना निर्वाचित हुनुभएको छ । अब ७७ जिल्लामा जान त जाने छ भन्नका लागि मात्र किन जाने, कलाकार भएको ठाउाँ जाने । खोजी गर्छौ । साँगठनीक विस्तार हुन्छ । विस्तारै पुगियला ।
अहिले गीतलाई भाइरल बनाउने चलन छ, विकृती बढेको छ, लोक संस्कृतिलाई असर पार्न नदिन त्यस्ता भाइरल बन्न खोज्दै विकृती

ल्याउन खोज्नेलाई रोक्न कुनै योजना ल्याउदै हुनुुन्छ ?

पछिल्लोपटक अझै अर्को विकराल रुप के आइरहेको छ भने पुराना श्रष्टका गीतहरु जो आफु दिवंगत भइसक्नु भयो, कतिको आफन्त पनि हुनुहुन्न,कतिको आफन्तको पहुँच पुग्दैन, तर त्यस्ता श्रष्टाको गीतलाई टपक्क टिपेर आफ्नो शैलीमा गाइदिने, रेर्कड गर्दै आफ्नो सम्पत्ति बनाइदिने, श्रष्टाको चिनारीने मेटाउन खोज्ने प्रवृत्ति आएको यसलाई रोक्ने कसरी भन्ने चुनौती छ । अर्को गीतमा छाडापन त जहाँ आएको त्यहाँ पर्फमेन्स हुन्छ ।

मैले जैले पनि आपत्ति जनाएको के भने एउटा महोत्सवमा लोक गीतको कार्यक्रम गर्दा उद्योग वाणिज्य संघको अध्यक्ष त्यही, जिल्ला प्रमुखहरु त्यहि, माननीय त्यही हुँदा उनकै अगाडी त्यस्ता प्रवृत्तिका गीत र नृत्य प्रस्तुत हुँदा हेरेर बस्नु राम्रो छ त ? त्यहाँ हुँदा ताली बजाइदिने, उस्तै परे हात समातेर तान्यो भने नाचीदीने त्यही गीतमा त्यतिको जिम्मेवार व्यक्तिहरु, अनि फेरी आएर लौ विकृती भयो भनेर अन्तरवार्तामा भन्ने त शोभनीय भएननी ।

सबैभन्दा बढी दोहोरी गीत प्रतिष्ठानले अहिले नैतिक दबाब दिएर त्यस्ता विकृती हटाउन खोजेको छ । कति गीत स्टुडियोबाट फर्काउका छौ । गएको तीजमा कती गीत ल्याउन दिएनौ । रत्यौली गीतलाई तीज गीत भनेर ल्याउन क्रम घटेको छ, हामीले विस्तारै नाली सफा गर्दैछौ । अब राज्यले संगीतको सेन्सर बोर्डको जरुरी छ, जस्लाई दिएपनि हुन्छ तर गीत एकद्धार प्रणालीबाट बाहिर आउनुपर्छ, प्रमाणपत्र दिने र बाहिर ल्याउने गरे सिर्जना चोरी पनि हुदैन विकृती हुने खालका गीत पनि आउन पाउदैन । त्यसको लागि राज्यसँग आग्रह गर्छौ ।

गीत संगीतमा रोयल्टिका कुरा छन्, यसलाई कसरी व्यवस्थापन गर्न सकियला ?

म संगीत रोयल्टि संघको उपाध्यक्ष भइसकेको व्यक्ति हुँ, सबैभन्दा दुःखको कुरा यहाँ रोयल्टीको बारेमा जनचेतनाने छैन, सार्वजनिक गाडीले गीत बजाए बापत रोयल्टी तिर्नुपर्छ भन्दा हाँस्नुहुन्छ, कतिपय जिल्लाका प्रमुखसँग हाम्रो बौद्धिक सम्पत्ति चोरी भयो, अनाधिर्कत प्रयोगमा आए भनेर पुग्दा हैन तपाइलाई त फाइदा भयो सबैले सुन्नुभयो भन्नुहुन्छ ।

तर कसैको गीतलाई व्यवसायीक प्रयोजनका लागि गीत सुनाउछौ भने रोयल्टी तिर्नुपर्छ, सार्वजनिक गाडी, रेष्टुरेन्टमा गीत बजाएको रोयल्टी तिनुपर्छ । प्राइभेट गाडीमा भए परेन । यसमा जनचेतना मापदण्ड र प्रवृधिको विकास भएको छैन । रेर्कड कस्ले दिने, कस्ले राख्ने, गाडी नविकरण गर्दा रोयल्टी लिने चलन सुरु भएको छ अब त्यसलाई कसरी बाड्नेभन्ने पनि समस्या छ । सञ्चारबाट पनि रोयल्टी आउन थालेको छ । सबै तीर राम्रो व्यवस्थापन हुने हो भने एउटा राम्रो श्रष्टा रोयल्टीबाटै चल्न सक्छ ।

प्रतिष्ठानमा राजनीति बढी देखिन्छ ? त्यसले पनि यो क्षेत्रमा असर पारेको छैन र ?

राजनीतिक सर्मथन सबैको कुनै कुनै हुन सक्छ, कसैलाई व्यक्त्ति राम्रो लाग्न सक्छ, कोही प्रतिबद्ध पनि हुन्छ राजनीतिक पार्टी प्रति, तर हामीले जुन दिन प्रतिष्ठान सुरु गरेका थियौ । यो–यो पार्टी भन्ने ने थिएन, हामीमादल बजाउने, सारंगी बजाउने, गीत गाउने, नाच्ने मिलेर साँस्कृतिक संस्था बनाउने भनेर भएको हो । जब व्यत्तिहरले राजनीतिक रुपमा बढी फाइदा देखे कलाकारीतालाई प्रयोग गरेर राजनीतिक खुड्कीलो चढ्ने त्यो जुन बाटो पत्ता लागे, आज पनि कलाकारिताकै बाटोबाट सदनमा पनि पुगिसके ।

कलाकारिताबाट पाएको लोकप्रियतालाई राजनीतितर्फ फाइदाको रुपमा प्रयोग गर्ने प्रवृत्तिका कारण यस्तो भएको हो । तर प्रतिष्ठान राजनीतिक गन्तव्य होइन, यहाँबाट मन्त्री हुने कुने सेवा सुविधा लिने अवसर त मिल्दैन, तर दोहोरी गीत प्रतिष्ठानको लोकप्रियतालाई भजाएर नेताको नजिक भएर फाइदा लिन खोज्नेहरु यस्तो बनाएका हुन् । केन्द्रमा बरु कम छ, जिल्लातिर बढी देखिएको छ ।

हामीले चाहेको राजनीतिको जुत्ता खोलेर प्रिितष्ठान भित्र प्रवेश गर्नुहोस् र प्रतिष्ठानबाट निस्कदा ढोकाबाट तपाईको जुत्ता लगाएर जानुहोस् तर प्रतिष्ठान भित्र राजनीतिको जुत्ता लगाएर नआउनु भन्छौ । संगीतको कुनै दल हुदैन । मैले पनि प्रतिष्ठानमा राजनीति देखेर मुटु मिचेको छु, अहिलेपनि धेरैले मलाई तपाईको प्यानलमा राख्नु, चिटमा राख्नु भनेका थिए तर मैले चिट नै बनाइन, म तटस्थ बस्छु,, मेरो पनि आस्था छ तर म यो भित्र राजनीति गर्दिन भन्नेमा प्रतिबद्ध छु । प्रतिष्ठानमा जिल्लादेखि चिरा फाटेको देख्दा मेरो मन रुन्छ ।

अन्तमा के भन्नुहुन्छ ?

सबै मलाई अवसर दिने प्रति आभारी छु, सबैको आड भरोसालाई टुट्न दिने छैन, संगित कर्ममा बाचुञ्जेल लाग्छु, संगतिलाई विगारेर बाँच्दिन, कहिलेकाही नजानेर गलत बाटोमा लागे भने औला ठड्याउनुहोला म सच्चिनेछु । सधै संगीत कर्ममा लाग्ने र सर्मपित हुनेछु । मैले दिनसक्ने भनेको सिर्जना हुन्, म दिनेछु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button