घुम्न जाने हैन त पोखराको कालिका ?

राजाराम पौडेल, पोखरा न्यूज-०८ पुष ।  रोयल ट्रेकको रुपमा परिचित कास्कीको सुन्दर गाउँ हो कालिका । पोखरा महानगरिपालिका वडा नम्बर २८ मा पर्ने यो ठाउँ प्राकृतिक रुपमा सुन्दर रहेको छ । बेलायतका राजकुमारले यात्रा गरेको रुट भएको कारण यो ट्रेकको नाम रोयल ट्रेक रहन गयो । वि.सं. २०३७ सालमा बेलायतका राजकुमार चाल्सले पदयात्रा गरेपछि एक्कासी यसको चर्चा बढ्यो ।

विजयपुरबाट शुरु हुने रोयल ट्रेक कालिका, स्याक्लुङकोट, हंसपुर, रुपाकोट हुदै पोखरा फर्कन ४ दिन लाग्दथ्यो । राजकुमार चाल्सले विजयपुरबाट पैदल यात्रा शुरु गरि पहिलो दिन चिन्तेको डाँडामा बास बसेका थिए । कालिका, सौरे, लिप्यानी हुदै स्याक्लुङ कोटमा पुगी उनले दोस्रो रात बिताए । रुपाकोटको चिसापानीमा तेस्रो रात र वेगनासतालको जंगलमा चौथो रात उनले बिताए । द्धन्द्धकाल तथा यातायातको सुविधा थपिएपछि यो ट्रेक सुनसान जस्तै बन्यो ।

यातायातको साधन नचल्दा रोयल ट्रेक अन्र्तगत यात्रा गर्न खोज्ने पर्यटकको एक दिनको बसाई कालिकामा हुने गर्दथ्यो । धौलागिरी, माछापुच्छ्रे, अन्नपुर्ण, गणेश, लमजुङ लगायतका हिमाल एकैपटकमा हेनै सकिने यो ठाउँको विशेषता हो । पोखराबाट पैदल यात्रा गरी कालिकामा रहेको चिन्तेकोडाँडा, दुरारमको डाँडा तथा ठुलाकोटमा पुगेर एक रात बसाई पश्चात पर्यटक अगाडी बढ्थे । प्रचार प्रसारको अभावमा यो रुटको तर्फको आर्कषण बढ्न सकेन । केहि समय केहि सुस्ताएको यो ठाउँमा पछिल्लो समयमा घुम्न पुग्नेहरुको कारण पुनः चहलपहल बढ्दै गएको छ ।

पोखरा बजारबाट नजिकै रहेको कारण समय थोरै हुने व्यक्तिको लागि घुम्न यो ठाउँ सहज बन्दछ । यो ठाउँमा पिकनिक गएर रमाउन खोज्नेको चार्म समेत बढ्दै गएको छ । विभिन्न संघ संस्थ, कलेज स्कुलबाट पिकनिकको लागि समेत यहाँ पुग्छन् । पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि सन राइज तथा सन सेटको दृश्य हेर्नको लागि यहाँ पुग्छन् । पोखराबाट १३ किमि पूर्वको दुरिमा पर्ने यो ठाउँमा पुग्न पृथ्विराजमार्ग अन्र्तगत लेखनाथको कालिकाचोकबाट ७ किमिको दुरीमा पर्छ ।

यहाँ पुग्न नियमित रुपमा स्थानिय मिनिबस उपलब्ध हुन्छ । निजि कार, मोटरसाइकलमा सजिलै यहाँ पुग्न सकिन्छ । यहाँबाट कास्कीका सातवटा ताल एकै ठाउँबाट देख्न सकिन्छ । फेवाताल, बेगनास ताल, मैदी ताल, दिपाङ ताल, खास्टे ताल, न्युरिने ताल, कमलपोखरी यहाँ बाट देखिन्छ । कास्कीको मादी गाउँपालिकाका सुन्दर दृश्य, मादी नदि, पोखरा तथा लेखनाथका दृश्य सहित कास्की जिल्लाका अधिकांश ठाउँलाई यहाँबाट नियाल्न सकिन्छ । यहाँ रहेका साना होटल तथा टेन्ट बनाएर बस्न समेत यहाँ सहिन्छ । ठुलाकोटमा रहेको भैरव मन्दिरको धार्मीक महत्व समेत रहेको छ ।

कविशिरोमणी लेखनाथ पौडेलले यहाँ बसेरेनै विभिन्न साहित्यक रचना गरेका थिए । कालिकामा यतिबेला होटल तथा रिर्सोट निर्माणाधिन अव्स्थामा रहेका छन् । केहि समय घुमघाममा निस्किइ मुड फ्रेस गरी पुन पोखरा फर्कन सकिने भएकोले पनि छोटो समयमा पोखराको व्यस्त बजार भन्दा केहि शान्त रमणिय ठाउँमा बस्न रुचाउन खोज्नेको गन्तव्य कालिका बन्ने गरेको छ । कालिकामा रहेका कोट भैरव मन्दिर र कालिका भगवती मन्दिरको आफ्नै धार्मिक महत्व रहेको छ ।

कालिकामा जानको लागि रानिपौवा, बाग्लुङ बसपार्क, चिप्लेढुङा, पृथ्विचोक, अम्मरसिँहचोक, विजयपुर, कालिकाचोक लगायतका ठाउँबाट सार्वजनिक सवारीसाधन उपलब्ध हुन्छ । प्राइभेट सवारीबाट पोखराबाट कसेरी, काफलघारी हुँदै पनि यो ठाउँमा पुग्न सकिन्छ । लेखनाथचोकबाट कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अर्घौ अर्चले हुँदै पनि कालिकामा पुग्न सकिन्छ ।

यहाँ पुगेर बस्नका लागि होटलको पनि व्यवस्था छ । गाउँमा पाइने अर्गानिक परिकारमा रमाउदै यात्रालाई अविस्मरणिय बनाउन यहाँ सकिन्छ । यो ठाउँमा चलचित्र तथा म्युजिक भिडियो छायाकंनका लागि समेत पुग्ने गर्दछन् । अब रोयल ट्रेकमा पर्ने कालिका तथा माझठानामा आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढाउन महानगरपालिकाले पहल गर्ने पोखरा २८ का वडाध्यक्ष निर्मल दियाली सुनारले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button