म्याग्दीमा गर्भवती महिलालाई अण्डा र झण्डा वितरण

कमल खत्री, पोखरा न्यूज -०९, पुष । म्याग्दीको मालिका गाउँपालिकामा गर्भवती महिलाको स्वास्थ्य र पोषणा अवस्थामा सुधार ल्याउन ‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’ अभियान शुरु गरिएको छ ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरि सबै वडामा उपाध्यक्षसंग गर्भवती महिला भेटघाट कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको हो ।

मंगलवार मालिका–२ रुमबाट अभियानको औपचारिक रुपमा सुरुवात गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले जानकारी दिइन् । वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडाभित्र रहेका गर्भवती महिलाहरुलाई घरघरमा राख्नको लागि हरियो झण्डा र पोषणको लागि अण्डा वितरण गरिएको थियो ।

कार्यक्रममा वडाभित्र रहेका ४९ जना गर्भवती महिलाहरुलाई गाउँपालिकाका उपाध्यक्ष बिटालु, वडा अध्यक्ष नरबहादुर पुन, कार्यपालिका सदस्य गौमती चापागाई, स्वास्थ्य संयोजक सन्तु कार्की लगायतले झण्डा र अण्डा वितरण गरेका थिए ।

एक जना गर्भवती महिलालाई एक क्रेट अण्डा प्रदान गरिएको थियो । गाउँपालिकाले यस बर्ष स्वास्थ्य र सरसफाईको क्षेत्रमा रु २० लाख बजेट विनियोजन गरेको छ । यसै कार्यक्रम अन्र्तगत रहेर गाउँपालिकाभित्र रहेका हरेक गर्भवती महिलाको घरघरमा सन्देश प्रवाहको लागि हरियो झण्डा र पोषणको लागि अण्डा पुर्याउने गाउँपालिकाले जनाएको छ ।

गर्भवती महिलाको घरघरमा राखिएको हरियो झण्डामा पेटमा बच्चा हुर्कदै गरेको लोगो समेत राखिएको छ । गर्भवती महिलालाई हौँसला र प्रोत्साहन संगै सम्बन्धित सरोकारवालालाई संवेदनशिल बन्न र पोषण अबस्थामा सुधार ल्याउने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष बिटालुले बताइन् ।

कार्यक्रमले गर्भवती महिलाहरुलाई स्वास्थ्य र पोषणप्रति सचेत गराउने र सन्देश फैलाउनुको साथै स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुसंग समेत बढी घुलमिल गराउन सहयोग पुग्ने स्वास्थ्य संयोजक कार्कीले जानकारी दिइन् ।

गाउँपालिकाले गर्भवती महिला लक्षित भेटघाट कार्यक्रम संगै सुत्केरी महिलालाई घरघरमा कोसेली पुर्याउने, बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई प्रोत्साहन पुरस्कार दिने, जटिल प्रसुतिको अबस्था आएमा दरबाङदेखि बाहिर लैजानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने योजनालाई समेत कार्यान्वयनमा जुटेको जनएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button