म्याग्दीको गलेश्वरधामका पुरानो सम्पदा मासिँदै

कमल खत्री, पोखरा न्यूज -१०, पुष ।  म्याग्दीको गलेश्वर शिवालय परिसरमा पुरानो सम्पदाको रुपमा रहेको शालग्राम गण्डकी वेद विद्याश्रमको भवन मास्न लागिएको छ । विसं २०२८ मा स्थानीय स्रोतसाधनको प्रयोग गरी निर्माण गरिएको पुरानो सम्पदालाई संरक्षण गर्नुको साटो भवनलाई विना कारण भत्काउन लागिएको हो ।

संस्कृत पाठशाला सञ्चालन हुँदै आएको सो भवन अहिले गलेश्वर शिवालय परिसरमा रहेको एक मात्रै पुरानो सम्पदाको रुपमा रहेको छ । विसं २०७२ को विनाशकारी भूकम्पले समेत कुनै क्षति नपुर्याएको सो भवनलाई भत्काउने तयारी गरिएसँगै अहिले चौतर्फी आलोचना भएको छ ।

वेद विद्याश्रमलाई लक्षित गरी पुलत्स्य पुलह अन्नदान भवन परिसरमा भवन निमार्ण गर्न लागिएको छ । भवन निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बेनी नगरपालिकामार्फत कार्यान्वयन हुने स्वीकृत भएको रु ५० लाख बजेटमध्ये पहिलो चरणमा आएको रु २५ लाख बजेटको योजना सम्झौता भइसकेको छ ।

भवन निर्माणको तयारीसँगै गलेश्वर मन्दिर परिसरमा रहेको भवनलाई भत्काउन लागिएको जनाइएको छ । अहिले भवन रहेको स्थानभन्दा फरक ठाउँमा नयाँ भवन निर्माण गर्न लागिएकाले यस भवनलाई पुरानो सम्पदाको रुपमा जोगाउनको लागि पहल गरे पनि सुनुवाइ नभएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भीमनाथ पराजुलीले बताए ।

उनले नयाँ ठाउँमा भवन निर्माण नभइसकेको अवस्थामा पुरानो भवनलाई भत्काउँदा विद्यार्थीको पठनपाठन र आवास व्यवस्थापनमा समस्या आएको गुनासो गरे । गलेश्वर शिवालय क्षेत्र विकास कोषले नयाँ भवन निर्माणको लागि कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी योजना कार्यान्वयन गर्ने बेनी नगरपालिका कार्यालयसँग सम्झौतासमेत भइसकेको छ ।

नयाँ स्थानमा भवन बनाउदा पुरानो भवनलाई समेत भत्काउने र त्यहाँको सामग्री प्रयोग गर्ने कार्यलाई रोक्न तीन पटकसम्म भवन भत्काउन आएको टोलीलाई फिर्ता गराइएको कोषका कोषाध्यक्ष वमबहादुर पुनले बताए । उनले वर्षौ पुरानो सम्पदाको रुपमा रहेको भवनको संरक्षण गरी सङ्ग्राहलयको रुपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिए ।

अहिले मजबुत अवस्थामा रहेको दुईतले पुरानो भवनलाई भत्काएर सोही भवनको लागत खर्चेर अर्को भवन बनाउनुको अर्थ नभएको भन्दै स्थानीय सरोकारवालाहरुले समेत भवन मास्ने कार्यको आलोचना गरेका छन् । यता पुरानो भवनमा आवासीय रुपमा पठनपाठन गर्दै आएका विद्यार्थीलाई भवन भत्काउने तयारीसँगै पठनपाठन र आवासको समस्या देखिएको छ । अन्नदान क्षेत्रको माथिल्लो तलामा टिनको छानोमुनिको एउटै हलमा अप्ठ्यारो हुने गरी राखिएका विद्यार्थीलाई सहज बसोबासको समस्या देखिएको छ ।

टिनको शीतले विद्यार्थी बिरामी हुने समस्या बढेपनि छेवैमा रहेको तीर्थयात्री भवन खाली रहँदासमेत सो भवनमा विद्यार्थी राख्न क्षेत्र विकास कोषको नेतृत्व तयार नभएपछि अन्नदानकै दोस्रो तलाको हलमा उनीहरुलाई कोचाकोच हुने गरी बसोबास गर्नुपर्ने बाध्यता रहेको छ ।

यता क्षेत्र विकास कोषका सदस्य सचिव एवं उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका माधवप्र्रसाद रेग्मीले समितिको निर्णय बमोजिम नयाँ बन्ने भवनमा पुरानो भवनका सामग्रीहरुको उपयोग गर्नको लागि पुरानो भवनलाई भत्काउन लागिएको प्रतिक्रिया दिए । उनले पुरानो भवनलाई संरक्षण गर्ने कि भत्काउने भन्ने विषयमा बैठकमा छलफल चलेपनि अन्तिममा सर्वसम्मत रुपमा भवन भत्काउने निर्णय भएको बताए।

कोषका अध्यक्ष रुद्रबहादुर केसीले गलेश्वर शिवालय परिसरमा रहेको सो भवनमा पाठशाला सञ्चालन गर्दा विद्यार्थी र तीर्थयात्रीको भिड हुँदा पठनपाठनमा समस्या भएको कारण नयाँ स्थानमा भवन बनाउन लागिएको र जीर्ण भवनलाई हटाएर खुला स्थान बनाउनको लागि पुरानो भवन हटाउन लागिएको प्रतिक्रिया दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button