नेपाली बालबालिका इन्टरनेटको उच्च जोखिममा !

पोखरा न्यूज -११, पुष । इसिपिएट लग्जेम्बर्जले गरेको एक विस्तृत सर्भेले नेपालका बालबालिका इन्टरनेटको उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक गरेको छ । “नेपालका बालबालिकाहरूमा इन्टरनेट सुरक्षा र नयाँ प्रविधिका जोखिमहरू” नाम दिइएको उक्त सर्भेमा नेपालको ७ वटै प्रदेशबाट १२ हजार ९ सय ९९ नमूना लिइएको थियो ।

रिपोर्टले नेपालका बालबालिकाहरू अनलाइन यौन शोषणमा अत्यन्तै संवेदनशील र जोखिमपूर्ण अवस्थामा रहेको देखाएको छ । समग्र देशभर भएका बालबालिकाहरूमा इन्टरनेटको प्रयोग बढिरहेको सन्दर्भमा त्यसले निम्त्याउन सक्ने विभिन्न जोखिम र शोषणलाई रोक्नको लागि सरकार, इन्टरनेट प्रदायक संस्था, स्कुल, र बाबुआमाको प्रयास कमजोर रहेको पनि सर्भेले देखाएको छ ।

रिपोर्टमा नेपालका सातवतै प्रदेशमा बालबालिकाहरूले कसरी सूचना प्रविधिको प्रयोग गर्छन्, त्यससम्बन्धी विषयलाई कसरी बुझ्छन्, ज्ञान कस्तो छ, र सूचना प्रविधिको सुरक्षित प्रयोगमा उनीहरूसँगै बाबुआमा, शिक्षक आदिको प्रवृत्ति कस्तो छ भन्ने जस्ता विषयहरू समेटिएको छ । त्यस्तै बालबालिकालाई केन्द्रमा राखेर इन्टरनेट सुरक्षामा नयाँ बहसको थालनी गर्नु तथा रिपोर्टले सङ्केत गरेका नतिजाहरूलाई सम्बन्धित निकायसम्म पुर्‍याएर यस विषयसँग सम्बन्धी नयाँ नीति निर्माणमा सहयोग पुर्‍याउनु यस कार्यक्रमको उद्देश्य रहेको सर्भेका सञ्चालकहरुले बताएका छन् ।

त्यस्तै सर्भेले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा ७१.८० % बालबालिकाहरूमा इन्टरनेटको पहुँच रहेको र उनीहरू दिनको जुनसुकै समयमा पनि इन्टरनेटको पहुँचमा रहेको छन् । सर्भेमा सहभागी लगभग आधा केटा (५२.२%) र केटी (४७.८%) ले एक्लै भएको समयमा इन्टरनेट धेरै चलाउने बताएका छन् । त्यस्तै ६०.९ % प्रतिशत बालबालिकाको आफ्नै फेसबुक खाता छ र त्यसमा ५१.३% लाई इन्टरनेट प्रयोगका जोखिमहरूको बारेमा थाहा नभएको सर्भेले देखाएको छ । त्यस्तै रिपोर्ट अनुसार ४९.५ % केटा र ५०.५ % केटीले अनलाइन यौन दुर्व्यवहार भएका अवस्थामा खोज्न सकिने कानुनी उपचार र सुरक्षाको बारेमा थाहा नभएको बताएका छन् ।

त्यस्तै रिपोर्टमा इन्टरनेटमा पाउन सकिने अश्लील र फोहोरी सामाग्रीहरूको बारेमा धेरै बालबालिकाहरूलाई थाहा नभएको पाइएको छ। ५५.७ % ले इन्टरनेट चलाइरहेको बेला आउने चिजहरू सिधै खोल्ने बताएका छन् । रिपोर्टले बालबालिकाको अवस्थालाई मात्र नदेखाएर त्यसमा बाबुआमाको भूमिका पनि खोजेको छ । १८.८ % बाबुआमाले छोराछोरीकी जीवनमा के कस्तो भइरहेको छ भन्ने कुरा सोध्ने नगरेको सर्भेले देखाएको छ ।

डरलाग्दो अवस्था त के छ भने ७१.१ % बाबुआमाले आफूले भोगिरहेको खराब अनुभवको कुरा छोराछोरीले नसुनाउने गरेको बताएका छन् । लगभग ७०% बाबुआमालाई नै बालबालिकाको सुरक्षित इन्टरनेट प्रयोगको लागि अपनाउन सकिने सामाग्री छान्ने तरिका थाहा छैन । यसरी यस रिपोर्टले इन्टरनेट र प्रविधिको बढ्दो प्रयोगको समयमा नेपाली बालबालिकाहरू सबै प्रदेशमा एकदमै जोखिमपूर्ण अवस्थामा रहेको देखाएको छ ।

अध्ययनमा १२ हजार ९ सय ४४ स्याम्पल मध्ये १८ वर्षभन्दा कम उमेरका बालबालिका ५०११, ३ हजार१ सय ५५ शिक्षक, र ४ हजार ७ सय ७८ बाबुआमाहरू रहेका बताइएको छ । त्यस्तै सर्भेमा नेपाल प्रहरी, न्यायधिशहरू र नागरिक समाजका प्रतिनिधिलगायतका ३४ सम्बन्धित क्षेत्रका जानकार व्यक्तिहरूको पनि सहभागीता रहेको थियो ।

बालबालिकामा इन्टरनेट सुरक्षा र नयाँ प्रविधिका जोखिम न्यूनीकरणको लागि आधारशिला तयार गर्नु र बहसको थालनी गर्नु तथा सम्बन्धित निकाय र सरोकारवाला पक्षलाई यस क्षेत्रमा ध्यानाकर्षण गरी बालबालिकाहरूलाई जोखिममुक्त बनाउने पहल गर्ने यस अध्ययनको उद्देश्य रहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button