नेशनल बक्स अफिस म्युजिक भिडियो एवार्ड हुँदै

राजाराम पौडेल, पोखरा न्यूज – १३, पुष । शनिबार पोखराको फेवाताल किनारामा रहेको अन्नपुर्ण गार्डेन रेष्टुरेन्टमा पुग्दा कलाकारको भिँड देखियो । जहाँ वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, बसन्त सापकोटा, चेतन सापकोटा, यम बराल, नायक धिरन शाक्य, निर्देशक मदन घिमिरे, पत्रकार डब्बु क्षेत्री, कुशल थापा, केदार पराजुली सहित नेपालका स्थापित बनेका तथा नवोदित झण्डै ७० को हाराहारीमा गायक, गायिका, कलाकार, निर्देशक, रचनाकार, प्राविधिक तथा सञ्चारकर्मी थिए ।

सबै जना आ–आफ्नै सुरुमा थिए । कोही अन्तर्वार्ता दिदै थिए । कोही सेल्फि खिच्दै, केहि भने घाम ताप्दै, कोहि फेरी फेवाताल अनि आकाशमा उड्दै गरेका प्याराग्लाइडिङलाई नियाल्दै टहलाइरहेका । तहाँ घुम्न पुगेका सर्वसाधरण टेलिभिजन मार्फत देखिएका कलाकारलाई प्रत्यक्ष एकैठाउँमा देख्न पाउँदा अनौठो मानिरहेका थिए ।

लगत्तै सुरु भयो कदर पत्र वितरणको समय । निर्धारित समय भन्दा ढिला गरी सुरु भएको कार्यक्रममा उद्घोषकको जिम्मा थियो चलचित्र निर्देशक सोवित बस्नेतलाई । ब्यानरमा लेखिएको थियो बक्स अफिस गुप्रको प्रस्तुती नेशनल बक्स अफिस म्युजिक भिडियो एवार्ड २०१९ । ब्यानरमै लेखिएको थियो राष्ट्रको सर्वश्रेष्ठ म्युजिक एवार्ड । तहाँ देखिएको तयारी र व्यवस्थापन हेर्दा ब्यानरमै लेखिएको कुरालाई गिज्याईरहेको थियो । व्यवस्थित थिएन । कदरपत्र वितरणको लागि उद्घोषकले एकपछि अर्को नाम बोलाए ।

अनि थाहा भयो यो आगामी माघ अन्तिम साता हङकङ र रसियामा आयोजना हुने नेशनल बक्स अफिस एवार्ड २०१९ मा नोमिनेशनमा परेका कलाकार, निर्देशक, प्राविधिकलाई कदरपत्र वितरण कार्यक्रम रहेछ । जसको प्रमुख अतिथि रहेछन् वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा ।  नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व उपकूलपति संगीतकार शम्भुजित बास्कोटाले पोखराको फेवातालसँग सम्बन्धित ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाँया, जीवन मेरो सेती बगर विना तिम्रो माया’ आफैले संगीत भरेको यो गीत सुनाउदै कार्यक्रमको उद्घाटन गरे ।

कलाकार धिरेन शाक्यले कलाकारको सम्मान र कदर हुनु काममा उत्साह थपिनु भएको बताए । गायक यम बरालले सिर्जनशील व्यक्ति सधै बाँचिरहने बताए । संगीतकार चेतन सापकोटाले चलचित्र क्षेत्रमा टिक्नका लागि संघर्षको विकल्प नभएको हुँदा निरन्तरताले नै सफलताको स्वाद चाख्न पाइने भएकाले नवप्रतिभालाई अगाडि बढ्न प्रेरणा दिए । सापकोटाले आफुले कोरसमा डेब्यु गरेको चलचित्र राजकुमारमा सोवित बस्नेतले निर्देशनमा डेब्यु गरेको र नायकको रुपमा धिरन शाक्य रहेको भन्दै सर्घषलेनै आज आफु यो ठाउँमा आइपुगेको उनले खुलाए ।

सोही कार्यक्रममा नेपाली चलचित्र र गीत संगीतको फाँटमा एक दशक लामो योगदान दिएका कारण पोखराका सोभित बस्याल र गणेश ढकाललाई कदरपत्र सहित सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै उनीहरुले सम्मानले आफुहरुलाई उर्जा थपिएको उनीहरुले प्रतिक्रिया दिए । पोखरा आफैमा प्राकृतिक स्टुडियो भएकोले कदरपत्र तिरण गर्ने कार्यक्रम पोखरामा गरिएको आयोजक संस्थाका अध्यक्ष आर.के.सुवेदीले बताए । कार्यक्रम भिजिट नेपाल २०२० को सन्दर्भमा आन्तरिक पर्यटन विकास र विस्तार गर्ने उद्धेश्यले पोखराको फेवा किनारामा गरिएको उनको भनाइ थियो ।

नेशनल बक्स अफिस म्युजिक भिडियो एवार्ड २०१९ कुल ३२ विधामा वितरण गरिनेछ । ३२ विधामध्ये चलचित्र, लोकगीत, पपगीत, आधुनिक गीत, भजन, राष्ट्रियगीत, लोकदोहोरी गीत, भाषाभाषी, मोफसल, म्यूजिक भिडियो, निर्देशक, मोडल, छायाकार, सम्पादक, गायक, गायिका, गीतकार, संगीतकार, रेकर्डिष्ट लगायत छन् ।

हरेक विधामा ५ जनाका दरले नोमिनेशन सार्वजनिक गरी नोमिनेशनमा परेका कलाकारलाई सहभागी गराई कदरपत्र वितरण कार्यक्रम पोखरामा भएको आयोजकले बताए । नोमिनेशनमा परेका सम्पुर्ण व्यक्तिको उपस्थित भने कार्यक्रममा थिएन । एवार्ड कार्यक्रमको निर्णायकमा वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ संगीतकार राजु सिहँ र वरिष्ठ संगीतकार सुरेश अधिकारी रहेको कदरपत्रमा लेखिएको छ । पोखरामा आएको टोली दिप प्रज्वलन, पदयात्रा र मैत्रिपुर्ण फुटबल प्रतियोगीतामा समेत सहभागी बने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button