तनहुँको बन्दीपुरमा ७० प्रतिशत चिनियाँ पर्यटक

कृष्ण न्यौपाने-१४, पुष । पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । चिसो मौसम शुरु भएसँगै बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन वृद्धि भएको हो ।

बन्दीपुर घुम्न आउने पर्यटकमध्ये अहिले ७० प्रतिशत पर्यटक चिनियाँ रहेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ । बन्दीपुर भ्रमणका लागि आउने करिब ५ सय  पर्यटकमध्ये ३ सय ५० भन्दा बढी पर्यटक चिनियाँ रहेको समितिका अध्यक्ष वैश गुरुङले जानकारी दिए । गुरुङका अनुसार चिनियाँका अतिरिक्त भारतीय र युरोपेली मुलुकका पर्यटक पनि बन्दीपुरमा आएका छन् ।

अङ्ग्रेजी नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढेको गुरुङले बताए । आन्तरिक तथा बाह्य पर्यटकको चापका कारण अङ्ग्रेजी नयाँ वर्षको अवसरमा बन्दीपुरमा कोठा पाउन मुस्किल हुने गरेको छ । “बन्दीपुरमा अहिले स्वदेशीभन्दा विदेशी पर्यटकको चाप बढी छ”, गुरुङले भने ।

बन्दीपुर घुम्न आएकामध्ये अधिकांश पर्यटकले बन्दीपुरमा बास बस्ने गरेका छन् । बन्दीपुरमा वनभोजका लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका छन् । बन्दीपुरमा ग्रिनपार्क, फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत साना ठूला गरी ५७ वटा होटल तथा २२ वटा घरवास सञ्चालनमा छन् । ती सबै होटलमा एकै पटक एक हजार ३ सयदेखि एक हजार ४ सय  पर्यटकले रात बिताउन सक्नेछन् । बन्दीपुरमा होटलमा करिब १ सय ५० भन्दा बढीले रोजगारी पाएका छन् ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिकस्थलको बारेमा जानकारी दिने गरिएको छ । यहाँ ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् ।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यको रूपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

सुन्दर हिमशृङ्खलाको अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकको पहिलो रोजाइमा बन्दीपुर पर्ने गरेको व्यवसायी राजु बानियाँले जानकारी दिए । बानियाँका अनुसार यहाँ आउने पर्यटक यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेका छन् । “दुई/तीन दिन मात्रै बस्ने गरेर आएका पर्यटक पनि यहाँ आइसकेपछि थप केही दिन नबसी फर्किँदैनन्”, उनले भने ।

यहाँ रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । काठका बुट्टा कुँदिएका झ्याल तथा ढोका, इँटा बाहिर देखिने प्यागोडाशैलीका घर यहाँको मुख्य आकर्षणका रूपमा रहेको थापाको भनाइ छ ।

अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउन निषेध गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button