पर्वत-कास्की प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध

पोखरा न्यूज – १७, पुष ।  पर्वतको देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनको निर्माण कार्यमा स्थानीयवासीले अवरोध गरेका छन् । पर्वतको मोदी गाउँपालिका–१ शेराबेँसीका बासिन्दाले विद्यालय नजिकबाट प्रसारण लाइन निर्माण गर्न थालिएको भन्दै स्थानान्तरणको मागसहित अवरोध गरेका हुन् ।

स्थानीय नवज्योति थम माविलाई प्रसारण लाइनले प्रत्यक्ष प्रभाव पर्ने दाबीसहित उनीहरुले स्थानान्तरण गर्न माग गरेका छन् । पर्वत भएर बग्ने मोदीखोला, कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामार्फत बन्ने विद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई पोखरास्थित सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रसारण लाइन निर्माण भइरहेको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरदेखि कास्कीको पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने प्रसारण लाइन ४२ किलोमिटर लामो छ ।

प्रसारण लाइनमा १ सय ३८ वटा टावर रहने छन् । त्यसमध्ये शेराबेंसीका तीन वटा टावर स्थानान्तरण गरेर तल वा माथिबाट लानुपर्ने माग स्थानीयवासीको छ । “तीन वटा टावर स्थानान्तरण नगर्ने हो भने विद्यालयमा प्रत्यक्ष प्रभाव पर्छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुलक अधिकारीले भने , “जुनसुकै मूल्य चुकाएर पनि हामीले स्थानान्तरण गराई छाड्छौं।” अहिले डिजाइन भएको ठाउँभन्दा माथि र तलबाट लैजान सक्ने विकल्प रहेको अध्यक्ष अधिकारी बताउछन ।

भारतीय एक्जिम बैंकको सहयोग र नेपाल सरकारको समेत लगानीमा रु दुई अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारण लाइन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको थियो । आगामी जुनसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएपछि पर्वतको देउपुर कोरुङ्गा र कास्कीको माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकका दुई वटा सवस्टेशन अन्तिम चरणमा पुगेका छन् । प्रसारण लाइन निर्माणमा भने जग्गा विवाद र स्थानीयको अवरोधका कारण समयमा काम सम्पन्न कठिन भइरहेको नयाँमोदी पोखरा प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिए ।

पर्वतमा कम विवाद भए पनि कास्कीमा प्रसारण लाइन बनाउन कठिन भएकाले परियोजना नै असफल हुने अवस्था आउन सक्ने चिन्ता आयोजना प्रमुख अग्रवालको छ । पर्वतको मोदी गाउँपालिका–१ शेराबेँसीमा विद्यालयमा कुनै असर नै नपर्ने दाबी उनको छ । “अहिले डिजाइन भएको स्थानभन्दा माथिबाट लैजाँदा भिर र घर पर्ने र तलबाट लैजाँदा मोटरेबल पुल र झोलुङ्गे पुलका कारण क्लियरिङ एरिया पुग्दैन”, उनले भने, “विद्यालयलाई पनि असर नपर्ने र सबै हिसाबले डिजाइन भएकाले स्थानान्तरण गर्ने सम्भावना नै छैन ।”

प्रसारण लाइन बनेपछि देउपुरस्थित सवस्टेशनमा मोदीखोला र आसपासका नदीबाट उत्पादित विद्युत् जोडिने छन् भने कास्कीको लहाचोक सवस्टेशनमा सेतीनदी र मर्दीखोलाबाट उत्पादित विद्युत् जोडिने छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button